‘जीवन आफैँमा उज्यालो छ’

आइतबार, २२ फागुन २०७३, १२ : ४३ शुक्रवार , Kathmandu
‘जीवन आफैँमा उज्यालो छ’

सुशील अधिकारी
दृष्टिविहीन युवा अभियन्ता
जन्मेको ११ दिनमा मलाई जन्डिस भयो । डाक्टरले कलिलो घाममा मलाई सुताउने सल्लाह दिए रे । मलाई घाममा एक्लै छाडेर आमाबुबा मेलापात जानुहुन्थ्यो । म एकोहोरो घामतिर हेर्ने गर्दो रहेछु । एकटक हेर्दा सूर्यको विकिरणले आँखाको रेटिनामा असर गर्ने रहेछ । सुरुमा त खासै केही भएन । तर, उमेर बढ्दै गएपछि मलाई हेर्नमा समस्या हुन थाल्यो । १५÷१६ वर्षको उमेरमा पुग्दा म देख्न नसक्ने भएँ ।
सानो छँदाका ती दिन अहिले पनि झलझली सम्झन्छु । मेरो घर काठमाडौँको बौद्ध, सिमलटार हो । त्यतिबेला गाउँमा जस्तै हरियाली थियो त्यहाँ । डाँडापाखा, वनजंगलमा बाख्रा चराउन जान्थेँ । मेरी हजुरआमाले भुइँमा चकले कोरेर मलाई लेख्नपढ्न सिकाउनुभयो । कुनै कुरा नहुनुभन्दा पनि भएर गुमाउँदा झन् पीडा हुँदो रहेछ ।
हिजोसम्म सबै कुरा देख्ने म एक्कासि नदेख्ने भएँ । त्यसपछि जीवन कष्टकर बन्दै गयो । आफूलाई दृष्टिविहीनको रूपमा स्वीकार गर्नै मलाई गाह्रो भयो । बाटोमा हिँड्दा पोखरी नभए पनि पोखरीजस्तो देखिने । हिलो नभएको ठाउँमा पनि हिलोजस्तो देखिने । निकै झुक्किन्थेँ । बेलुकीपख झन् गाह्रो हुन्थ्यो । अल्पदृष्टि हुँदै म दृष्टिविहीन भएँ । मेरा दाइ पनि जन्मजात दृष्टिविहीन हुन् । मैले पनि देख्न छोडेपछि आमाबुबा निराश हुनुभयो । कहिले डाक्टरकोमा त कहिले धामीझाँक्रीकोमा धाउन थाल्नुभयो ।
अल्पदृष्टि हुँदा प्रारम्भिक स्कुलमा पढिरहेको थिएँ । ठूलठूला अक्षर देख्थेँ र स–साना अक्षर पढ्न गाह्रो हुन्थ्यो । निको हुने लक्षण नदेखेपछि आमाबुबाले मलाई धुलिखेल सञ्जीवनी उमाविमा पढ्न पठाउनुभयो । त्यहाँ मेरो दाइ पनि पढ्नुहुन्थ्यो । सुरुका दुई महिना मैले छामेर पढ्न सिकेँ । जसलाई ब्रेल लिपि भनिन्छ । कक्षा ६ सम्म त्यहाँ पढेँ । कक्षा ७ देखि काठमाडौँ आएर पढ्न मन गरेँ । आरुबारीको अरुणोदय मावि पढ्न खोज्दा भर्ना लिन मानेनन् । मैले प्रिन्सिपललाई ‘कन्भिन्स्ड’ गरेँ र भर्ना भएँ । स्कुलमा अरूले जिस्क्याउलान् कि भन्ने डर थियो मनमा तर सबैबाट राम्रो सहयोग पाएँ । स्कुलमा दृष्टिविहीन विद्यार्थी म मात्रै थिएँ । मैले ब्रेल लिपिमा लेखेका कुरा उनीहरूलाई अनौठा लाग्थे । कक्षाको फस्ट ब्वाई थिएँ म । २०६३ सालमा डिस्टिङ्सन ल्याएर एसएलसी पास गरेँ ।
स्कुल बिदा हुँदा घरमा बस्न मन लाग्दैनथ्यो । काठमाडौँका गल्लीगल्ली एक्लै डुल्थेँ । कक्षा ६÷७ देखि संघसंस्थातिर धाउन थालेँ । २०५८ सालमा नेपाल नेत्रहीन संस्था महाराजगञ्जबाट ‘एज फोल्डिङ’ लट्ठी पाएँ । त्यसपछि त म झन् हिँड्न थालेँ ।
एसएलसीपछि खाली समयमा लाजिम्पाटस्थित आरटीसीमा अंग्रेजी भाषाको क्लास लिन थालेँ । ब्रिटिस काउन्सिलले दिने व्यक्तित्व विकाससम्बन्धी तालिम पनि लिएँ । डिल्लीबजार उमाविबाट स्नातक तहको शिक्षा हासिल गरेँ । त्यहाँ पनि सहजै भर्ना पाइएन । अपांगता भएर होइन, प्रतिभाका कारण त्यहाँ छात्रवृत्तिमा पढ्ने अवसर पाएँ ।
बौद्ध, सिमलटारबाट डिल्लीबजार पुग्दा निकै समस्या हुन्थ्यो । आउँदाजाँदा गाडीकै समस्या हुने । बिहानै साढे ४ बजे उठेर तयार हुन्थेँ । साढे ६ बजेको क्लास भ्याउँथेँ । २०७३ सालमा अंग्रजी साहित्यमा स्नातकोत्तर गरेँ ।
म प्लस टू पढ्दादेखि नै विभिन्न संघसंस्थामा आबद्ध थिएँ । स्वयंसेवका रूपमा काम गर्थें । कम्प्युटर पनि सिक्थेँ । कम्प्यूटर सिकेपछि धेरै कुरामा आत्मनिर्भर भइयो । ‘नेपाल एसोसियन अफ ब्लाइन्ड’ संस्थाबाट कम्प्युटर सिकेँ र त्यहीँ स्वयंसेवक भएर काम गरेँ । अनामनगरस्थित ‘नेसनल रिह्याबिलिटेसन सोसाइटी फर डिस्याबल्ड’ मा कम्प्युटर टिचरका रूपमा काम पनि गरेँ ।
नयाँनयाँ प्रविधिमा रुचि राख्छु । म ‘ब्राइट स्टार सोसाइटी’को संस्थापक हुँ । यसमार्फत सामाजिक काममा क्रियाशील छु । तीनचार वर्षयता युवा र फरक क्षमता भएका व्यक्तिका लागि अभियन्ताका रूपमा काम गरिरहेको छु । अमेरिकी राजदूतावासको ‘युथ काउन्सिल’मा सल्लाहकारका रूपमा पनि काम गरेको छु । कामको सिलसिलामा भारत, बंगलादेश, अमेरिका, जर्मनी, स्पेन, पोल्यान्ड, कोरिया र मंगोलियालगायत देश घुमेको छु ।
अहिले म २८ वर्षको भएँ । धुलिखेलस्थित ग्रेस एफएममा ध्वनि सम्पादक छु । मेरो आफ्नै वेबसाइट पनि छ । ‘फ्रिल्यान्स राइटिङ’ पनि गर्छु । सूचना प्रविधिले कसरी दृष्टिविहीनलाई सक्षम बनाउन सकिन्छ भन्ने कुरामा लागिपरेको छु । फरक क्षमता भएकालाई आवश्यक पर्ने साधन तथा विधिको विषयमा अनुसन्धान गरिरहेको छु ।
शरीरको कुनै पनि अंग कमजोर हुँदैमा जीवन समाप्त हुँदैन । जीवनमा संघर्ष गर्नुपर्छ र सकारात्मक सोच राख्नुपर्छ । आँखा नदेख्दैमा संसार अँध्यारो हुँदैन । जीवन आफैँमा उज्यालो छ ।  
प्रस्तुतिः रचना श्रेष्ठ

Leave A Comment