लिभिङ टुगेदरका लफडा

आइतबार, २२ फागुन २०७३, १२ : १८ शुक्रवार , Kathmandu
लिभिङ टुगेदरका लफडा

‘लिभिङ टुगेदर’ अर्थात् बिहे नगरी महिला र पुरुष सँगै बस्ने सम्बन्धको एउटा प्रकार । शहरीकरण र आधुनिकताले नेपाली शहरिया समाज सम्बन्धको यो शैलीसँग बिस्तारै परिचित हुँदै गएको त छ, तर यसलाई स्वीकार र आत्मसात् भने गर्न सकेको छैन । लिभिङ टुगेदरका लफडा पनि छन् । खास गरी, केही वर्ष सँगै बसेपछि पुरुषले महिलालाई धोका दिने, बिहे गर्न नमान्ने प्रवृत्ति देखिएको छ । यस्तो खाले सम्बन्धमा महिला बढी पीडित हुने गरेका छन् । अनिल यादव र वसन्त खड्काले लिभिङ टुगेदरका जटिलता र समस्या केलाउने कोसिस गरेका छन् ।
केस १ः गोरखाका सविन कुमार र अनिता खत्री १० वर्षअघिदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूको सम्बन्ध यतिसम्म फक्रियो कि उनीहरूले बिहे नगरी सँगै बस्ने निर्णय गरे । काठमाडौँमा आठ वर्ष उनीहरू ‘लिभिङ टुगेदर’मा रहे ।  त्यसपछि अनिताकै सर–सल्लाहमा सविन कोरिया गए, फर्केपछि बिहे गर्ने प्रण गरेर । सम्बन्ध अघि बढिरह्यो । सविनले अनितालाई नियमित रूपमा पैसा र उपहार पठाइरहे । तर, कोरियाबाट फर्केपछि सविनको मन बदलियो ।  अनितासँग बिहे गर्न तयार भएनन् । उल्टै अनितालाई आफू विदेशमा रहँदा अर्कै पुरुषसँग सम्बन्ध राखेको आरोप लगाए । अनितालाई चित्त बुझेन । गत असोजमा उनले काठमाडौँ, कालिमाटी प्रहरीमा न्याय माग्दै उजुरी हालिन् । सहमति हुन सकेन । केही नलागेपछि जिल्ला अदालत काठमाडौँमा बलात्कारको मुद्दा दर्ता गरिदिइन् । अनिताको दाबी बलियो नभएको भन्दै सविन धरौटीमा रिहा भए । सामान्यतया यस्ता मुद्दामा आरोपितलाई जेल पठाउने प्रावधान भए पनि यो घटनामा युवतीको पनि गल्ती देखिएपछि अदालतले धरौटीमा छोड्यो ।

केस २ः काभ्रेका राजेश तामाङ र सिन्धुपाल्चोककी बिन्दु छ वर्षअघि पढाइको सिलसिलामा राजधानी छिरे । उनीहरू दुवैको भेट कलेजमा भयो । भेट भएको एक वर्षमै उनीहरूको प्रेम सम्बन्ध निकै झांगियो । एक–अर्काविना बाँच्नै नसक्ने भए । दुवै एउटै कोठामा ‘बेडरुम’ सेयर गरेर बस्न थाले । पाँच वर्षसम्म यो सम्बन्ध यसरी नै टिकिरह्यो । त्यसपछि विदेश गएर पैसा कमाउने र फर्केपछि बिहे गर्ने योजनासहित राजेश दुबई गए । माथिल्लो घटनामा झैँ यहाँ पनि राजेशले विदेशबाट फर्किपछि बिन्दुसँग बिहे गर्न ठाडै अस्वीकार गरे । गत भदौमा बिन्दु न्याय खोज्दै कालिमाटी प्रहरीको शरणमा पुगिन् । समस्य सुल्झिएन । त्यसपछि बिन्दु राजेशका विरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गर्न बाध्य भइन् । कारण– लिभिङ टुगेदरको विषयमा छुट्टै र बलियो कानुन नहुनु ।

०००

पछिल्लो समय राजधानीमा बिहे नगरी एउटै बेडरुम सेयर गरेर बस्ने जोडीहरू बढिरहेका छन् । जसलाई अंग्रेजीमा ‘लिभिङ टुगेदर’ भनिन्छ । नेपाली समाजमा बिहेअघिको सम्बन्धलाई अझै पनि खुलेर स्विकारिएको अवस्था छैन । यद्यपि, प्रेम र सम्बन्धका मामिलामा पछिल्लो पुस्ता उदार भइरहेको छ । आफूअनुकूल सम्बन्धलाई अघि बढाइरहेको छ । विशेष गरी, राजधानीबाहिरबाट आएका युवा–युवती ‘लिभिङ टुगेदर रिलेसनसिप’मा रहने गरेका छन् । पश्चिमा मुलुकबाट सुरु भएको यो अभ्यासलाई परिवर्तन र स्वतन्त्रतासँग जोडेर हेरिन्छ । तर, व्यवस्थित कानुन नहुँदा नेपालमा यस्ता सम्बन्धमा समस्या देखापर्न थालेका छन् । साउनयता मात्र काठमाडौँमा ‘लिभिङ टुगेदर रिलेसनसिप’ असमझदारीमा परिणत भएका ३१ वटा उजुरी प्रहरीमा दर्ता भए । ‘सबैजसो घटनामा पुरुषले बिहे गर्न नमानेको भन्दै नाता प्रमाणीकरण गराइदिन अथवा बिहे गराइदिन माग गरिएको छ, ’ महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र, कालीमाटीकी प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाले भनिन्, ‘पछिल्लो समय लिभिङ टुगेदर ठूलो चुनौतीका रूपमा देखा परिरहेको छ । खास गरी, महिलाहरू पीडित पाइएका छन् । पुरुषहरूले सुरुमा बिहेको प्रलोभन देखाएर लिभिङ टुगेदरमा रहने र पछि बिहे गर्न नमान्दा युवतीहरू न्याय खोज्दै प्रहरीदेखि अदालतसम्म पुग्न बाध्य भइरहेका छन् ।’ लिभिङ टुगेदरलाई सम्बोधन गर्न छुट्टै कानुन नभएकाले यस्ता मुद्दा अनुचित प्रभाव वा प्रलोभनमा पारेर शारीरिक सम्बन्ध बनाएको महलअन्तर्गत अदालतमा जाने गरेको उनले बताइन् । ‘हामीकहाँ आउने कतिपय उजुरी सहमतिमै टुंगिन्छन् भने अधिकांश उजुरीमा सहमति जुट्न सक्दैन,’ प्रहरी निरीक्षक वाइबा भन्छिन्, ‘त्यसपछि महिलाहरूले जबर्जस्ती करणीको आरोपमा अदालतमा मुद्दा दर्ता गर्छन् ।’

धोकेबाज पार्टनर
गोरखाकी २८ वर्षीया सावित्री मगर र सिन्धुपाल्चोकका २६ वर्षीया रविन खत्री छ वर्षदेखि ‘लिभिङ टुगेदर’मा थिए । सावित्री रविनलाई असाध्यै प्रेम गर्थिन् । दुई वर्षअघि सावित्री गर्भवती भइन् । दुवैजनाले आपसी सहमतिमा गर्भपतन गराए । अहिले सावित्री पुनः गर्भवती भएकी छिन् । र, रविनले धोका दिँदा उनको जीवनमा वज्रपात भएको छ । बिहेका लागि परिवारलाई मनाउँछु भन्दै गाउँ गएका रविनले अर्कै युवतीसँग बिहे गरेछन् । तैपनि, आठ महिनाकी गर्भवती सावित्रीलाई काठमाडौँ फर्किएपछि उनले सिन्दुरपोते त गरेछन्, तर श्रीमतीलाई झैँ व्यवहार भने गरेनन् । त्यसैले सावित्री अहिले न्याय खोज्दै नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्र, ललितपुर पुगेकी छिन् । उनले फागुन १५ मा उजुरी दर्ता गरेकी थिइन् ।

यता, हेटौँडाकी कुसुम मगर अहिले मर्नु न बाँच्नुको अवस्थामा छिन् । बिहेअघि सँगै बस्दा एकअर्काबारे जान्न र बुझ्न सजिलो हुन्छ भन्ठान्थिन् उनी । ब्वाइफ्रेन्डका कारण उनको लगाव पढाइमा भन्दा प्रेममा ज्यादा भइदियो । ‘मैले उसलाई मेरो जिन्दगी ठानेकी थिएँ,’ उनले सुनाइन्, ‘तीन वर्ष सँगै बस्यौँ । चाँडै बिहे गर्छु भन्थ्यो । खूब माया गरेजस्तो गथ्र्यो । तर, त्यो त नाटक रहेछ । आखिरीमा अर्कै केटीलाई लिएर इन्डिया भाग्यो । म त हेरेको हे¥यै । मलाई त थाङ्नामा सुतायो त्यो धोकेबाजले ।’ उनी अहिले राजधानीमा एक्लो जीवन बिताइरहेकी छिन् ।

लेनदेनमै सुल्झिन्छन् केस
सम्बन्धमा खटपट आएपछि र पार्टनरले धोका दिएपछि थुप्रै महिलाहरू प्रहरीमा उजुरी लिएर पुग्छन् । तर, अधिकांश केस लेनदेनमै सुल्झिने गरेको प्रहरी बताउँछ । पाँचथरकी सम्झना लिभिङ टुगेदरमा रहँदै आएका पार्टनरले बिहे गर्न नमानेपछि गत पुस १७ गते हारगुहार माग्दै प्रहरीमा पुगेकी थिइन् । विदेशमा रहेकी उनकी आमा सम्झनाको बिहेका लागि भनेर स्वदेश फर्किएकी रहेछिन् । बिहेको तयारी लगभग पूरा भइसकेको रहेछ । तर, अचानक पार्टनर रमेशले बिहेका लागि अस्वीकार गरिदिएपछि उनले प्रहरीसमक्ष उजुरी गरिन् । काठमाडौँ, कीर्तिपुरमा बस्दै आएका उनीहरूबीच प्रहरी कार्यालयमै मिलापत्र भयो । ‘कति पैसामा कुरा मिल्यो, त्यो त भन्न मिल्दैन, तर लेनदेनमै केस टुंगिएको चाहिँ हो,’ उनीहरूको केस हेरेका एक प्रहरी अधिकृतले भने ।


काठमाडौँ, सोह्रखुट्टेकी सुनिताले माघ १६ गते शान्ति सुरक्षाको माग गर्दै महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दर्ता गराइन् ।  सुनिता र बुढानीलकण्ठका प्रविन लिभिङ टुगेदरमा रहँदै आएका थिए । दुवैका बीचमा बिहेको समहति पनि भयो । तर, परिवारले मानेन । सुनिता प्रविनसँग छुट्टिएर बस्न चाहिन् । तर, प्रविनले उनका अभिभावक र उनलाई बिहे गर्न निरन्तर दबाब र धम्की दिन थाले । त्यसपछि सुनिता सुरक्षाको माग गर्दै महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटी पुगेकी थिइन् ।
कतिपय घटनामा पुरुषले आत्मनिर्भर महिलासँग लिभिङ टुगेदरमा रहेर आर्थिक लाभ लिने र पछि धोका दिने गरेको समेत पाइएको छ । प्रहरी निरीक्षक वाइबा लिभिङ टुगेदरका कारण उत्पन्न समस्या समाधानका लागि जतिसक्दो छिटो ऐन–नियम बनाउनुपर्नेमा जोड दिन्छिन् । ‘अहिले जोडीहरूमात्र समस्या लिएर आउने गरेका छन्,’ उनले भनिन्, ‘सन्तान जन्मेपछि यस्ता उजुरी आए त्यसलाई कसरी सम्बोधन गर्ने ?’

पार्टनर हराएपछि
भक्तपुरका ४५ वर्षीय राजकुमार र बाग्लुङकी २७ वर्षीया रजनी पौडेल सात वर्षदेखि लिभिङ टुगेदरमा थिए । राजकुमारको परिवार थियो । तर, उनी रजनीलाई आफू एक्लो रहेको बताउँदै उनीसँग बस्दै आइरहेका थिए । उनले रजनीको सम्पूर्ण विश्वास जितेका थिए ।
केही साताअघि राजकुमार अचानक बेपत्ता भए । रजनीलाई आपत् प¥यो । उनले ‘श्रीमान् हराएको’ भन्दै महिला तथा बालबालिका सेवा केन्द्र ललितपुरमा उजुरी हालिन् । प्रहरीले राजकुमारको खोजी ग¥यो । त्यसपछि थाहा भयो– रजनी राजकुमारकी श्रीमती थिइनन्, बरु लामो समयदेखि लिभिङ टुगेदरमा थिए उनीहरू । राजकुमारले बिहे गर्न नमानेपछि अहिले उनीहरूको मुद्दा भक्तपुर जिल्ला अदालतमा चलिरहेको प्रहरीले जनाएको छ ।

एउटा नसुल्झिँदै अर्को उजुरी
बुटवलकी ४० वर्षीया राधिकाको केस हो यो । दशैँको समयमा उनले पाल्पाका एक पुरुषविरुद्ध ललितपुर प्रहरीमा उजुरी गरिन् । चार वर्ष लिभिङ टुगेदरमा रहेर बिहे गर्न नमानेको उनको आरोप थियो । उनीहरू चार वर्षदेखि लगनखेलमा पसल गरेर बस्दै आइरहेका रहेछन् । सहमतिमै पसल बिक्री गरेछन् । पसल बेचेको पैसा लिएर पुरुष फरार भएपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले घटनासँग सम्बिन्धत पुरुषलाई खोजिरहेको थियो । त्यसको केही समयपछि तिनै महिलाले ‘लिभिङ टुगेदर’मा रहेर बिहे गर्न अस्वीकार गरेको भन्दै अर्को पुरुषविरुद्ध उजुरी दर्ता गरेपछि प्रहरी नै आश्चर्यमा प¥यो । ‘एउटै महिलाले दुईजना पुरुषविरुद्ध एकै खालको उजुरी दर्ता गरेपछि हामी नै आश्चर्यमा प¥यौँ,’ ललितपुर प्रहरीकी महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चञ्चला श्रेष्ठले भनिन्, ‘त्यसपछि हामी अघिल्लो केसलाई छाडेर पछिल्लो केसतिर केन्द्रित भयौँ ।  अदालत जान आग्रह ग¥यौँ । पछि उनीहरूले ‘हामी मिलिसक्यौँ’ भनेर फोन गरे ।’

कानुन आवश्यक
‘लिभिङ टुगेदर’लाई नेपालमा अझै पनि वैधानिक मानिँदैन । कतिपयका तर्कमा यसले नेपाली समाज भाँड्ने काम गरिरहेको छ । तर, ‘लिभिङ टुगेदर’लाई सकारात्मक रूपमा लिनुपर्ने समाजशास्त्री सुरज भट्टराईको तर्क छ । ‘सामाजिक सोचमा परिवर्तन गरेर यसलाई सहजीकरण गर्न सकिन्छ,’ उनले भने ।

यता समाजशास्त्री सुरेश ढकाल ‘लिभिङ टुगेदर’लाई शहरीकरण वा आधुनिकताको प्रभाव मान्छन् । भन्छन्, ‘पश्चिमाहरूलाई पछ्याउने शहरको शैली भइदियो । सकी–नसकी वा जानी–नजानी भए पनि शहरिया समाजले यो सम्बन्धलाई अपनाएको छ । यसमा कानुनी पक्ष दोस्रो नम्बरमा आउँछ । यसलाई व्यवस्थित गर्न कानुनले पनि बाँध्नुपर्छ । यसका राम्रा–नराम्रा दुवै पक्ष छन् । झट्ट हेर्दा राम्राभन्दा नराम्रा पक्ष धेरै देखिन्छन् । ’  

लिभिङ टुगेदरलाई सम्बोधन गर्ने छुट्टै कानुन नहुँदा समस्या लिएर आउनेहरूलाई न्याय दिन निकै कठिन भइरहेको बताउँछिन्, ललितपुर प्रहरीकी प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ । ‘अघिल्लो वर्षभन्दा यो वर्ष योसम्बन्धी समस्या लिएर आउने बढी थिए,’ उनले भनिन्, ‘तर, के गर्ने ? यसलाई सम्बोधन गर्ने कुनै कानुन छैन । त्यसैले पीडितलाई अदालत पठाउनुको विकल्प छैन ।’   

(फिचरमा उल्लिखित केससँग सम्बन्धित नामहरू गोपनीयताका कारण परिवर्तन गरिएका छन् ।)  
‘लिभिङ टुगेदर गलत होइन’
सुरज भट्टराई

समाजशास्त्री
लिभिङ टुगेदर नेपालको आफ्नै संस्कृति होइन । बढ्दो शहरीकरण, पुँजीवादको विकास तथा नयाँ पुस्ताको रोजाइका कारण नेपालमा पनि यो संस्कृति बिस्तारै विकास हुन थालेको छ ।
नेपाली समाजले यसलाई सहजै स्वीकार गर्न नसके पनि यो आफैँमा गलत संस्कार भने होइन । शहरीकरणसँगै भागदौडपूर्ण जीवनमा एकअर्काको साथ, भावनाको साटासाट तथा तनाव कम गर्नका लागि समेत यसले सहयोग पु¥याइरहेको छ । तर, यसलाई हेर्ने दृष्टिकोण तथा समाजको बुझाइका कारण कतिपय अवस्थामा यो चुनौतीका रूपमा पनि देखिने गरेको छ ।
नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरू लिभिङ टुगेदरलाई सामान्य रूपमा लिने गर्छन् । खर्च व्यवस्थापन गर्न र भावना साट्नका लागि पनि त्यहाँ यसलाई सामान्य रूपमा लिने गरिन्छ । त्यसैको सिको गर्दै नेपालमा पनि यस्तो प्रचलन सुरु भएको छ । विशेष गरी, प्लस टू सकेका वा क्याम्पस पढ्दै गरेका युवायुवतीले पछिल्लो समय लिभिङ टुगेदरलाई नेपालमा पनि अवलम्बन गरेको देखिन्छ ।
नेपालको वर्तमान राज्य व्यवस्था तथा समाजको बनोटका कारण लिभिङ टुगेदरमा मात्र नभएर अन्य अवस्थामा पनि महिलाहरू पीडित हुने गरेका छन् । त्यसैको निरन्तरता यसमा पनि देखिएको हुन सक्छ । तर, पछिल्लो समय महिलाका पक्षमा वकालत गर्ने विभिन्न संघसस्था भएकाले त्यस्तो प्रवृत्ति पनि कम हुँदै जाने आशा गर्न सकिन्छ ।
पहिलेको तुलनामा समाज केही खुला पनि हुँदै गइरहेको छ । पहिले लिभिङ टुगेदरलाई निकै गलत ढंगले हेरिन्थ्यो । तर, अहिले शहरी क्षेत्रमा यसलाई सामान्य रूपमा लिन थालिएको छ । यो सकारात्मक पनि हो । सामाजिक सोचमा परिवर्तन गरेर यसलाई सहजीकरण गर्न सकिन्छ ।  

Leave A Comment