असुरक्षित यौनसम्पर्कमा गर्भ निरोध चक्की

शनिबार, २१ फागुन २०७३, ०१ : ४६ शुक्रवार , Kathmandu
असुरक्षित यौनसम्पर्कमा गर्भ निरोध चक्की

म १९ वर्षकी भएँ । पाँच दिनअघि यौनसम्पर्क गर्दा ब्वाइफ्रेन्डले कन्डोम प्रयोग गर्न मानेनन् । उनले बाहिरै वीर्य स्खलन गरेका थिए । मेरो गर्भवती हुने सम्भावना कत्तिको छ ? मैले परिवार नियोजनको आकस्मिक गर्भ निरोधक चक्की खाएँ भने त्यसले काम गर्ला ?
एम

कुनै पनि असुरक्षित यौनसम्पर्कमा गर्भ रहने सम्भावना धेरै हुन्छ । तपाईंको ब्वाइफ्रेन्डले बाहिरै स्खलन गर्नुभएको रहेछ । यो परिवार नियोजनको प्राकृतिक विधि त हो तर भरपर्दाे भने होइन । त्यसैले तपाईंको गर्भ रहने सम्भावना अत्यधिक छ । अब परिवार नियोजनको आकस्मिक गर्भ निरोधक चक्कीले काम गर्दैन । किनभने, तपाईंले सहवास गरेको पाँच दिन भइसकेछ । सम्पर्क भएको ७२ घण्टाभित्र खाएमा मात्र गर्भ निरोधक चक्कीले काम गर्न सक्छ । अब तपाईंले तुरुन्त चिकित्सकसँग सल्लाह गर्नुपर्छ । असुरक्षित यौनसम्पर्क गर्नु हुँदैन । ब्वाइफ्रेन्डलाई कन्डोम प्रयोग गर्न लगाउनुहोस् । कन्डोमले यौन आनन्दमा कमी ल्याउँदैन । यसले यौनजन्य रोगबाट बचाउनुका साथै अनावश्यक गर्भ रहनबाट पनि बचाउँछ ।

हाम्रो बिहे भएको एक महिना भयो । अहिले हामी बल्ल खुलेर कुरा गर्न सक्ने भएका छौँ । हामीले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्छौं । उहाँलाई कन्डोम मन पर्दैन । उहाँ मलाई ‘चक्की नलेऊ, यसले रोग निम्त्याउँछ’ भन्नुहुन्छ । परिवार नियोजनका प्राकृतिक विधि अपनाउने सल्लाह गरेका छौँ । तर, यी विधि असफल भए के गर्ने ? असुरक्षित यौनसम्पर्क हुँदा आकस्मिक गर्भ निरोध चक्की कति दिनभित्र खानुपर्छ ?
टी

परिवार नियोजनका प्राकृतिक विधि अपनाउनुअघि महिलाले आफ्नो शरीरलाई राम्ररी बुझ्नुपर्छ । यसमा श्रीमान्–श्रीमती दुवैको पूर्ण सहभागिता चाहिन्छ । यहाँहरूले प्राकृतिक विधिलाई राम्ररी उपयोग गर्न सक्नुभयो भने स्वास्थ्यका दृष्टिले यो हानिरहित छ । तर, कहिलेकाहीँ भनेजस्तो हुँदैन । त्यस्तो बेलामा परिवार नियोजनका आकस्मिक गर्भ निरोधक चक्की खानुपर्छ । असुरक्षित यौनसम्पर्क भएको तीन दिन अर्थात् ७२ घण्टाभित्र यो चक्की खाइसक्नुपर्छ । तीन दिनपछि चक्की खानुभयो भने यसले काम गर्दैन । यो चक्की खाँदा वाकवाक लाग्ने, बान्ता हुने, टाउको दुख्ने, सानो पेट र स्तन दुख्ने, योनिबाट रगत बग्नेजस्ता सामान्य समस्या देखिन सक्छन् । तर, यस्ता लक्षण दुईतीन दिनमा आफैँ हराएर जान्छन् । तर, योनिबाट धेरै रगत बगेमा र महिनावारीको अवधिमा धेरै तलमाथि परेमा डाक्टरसँग सल्लाह लिनुपर्छ ।  
 

Leave A Comment