लोकलक्षित ‘लक्ष्य’

शनिबार, २१ फागुन २०७३, ०१ : १० मनोज घर्तीमगर , Kathmandu
लोकलक्षित ‘लक्ष्य’

पोखरा बाटुलेचौरमा झुरुप्प परेको एउटा बस्ती छ, जहाँ गन्धर्वहरू बस्छन् । पछिल्लो समय आफूलाई गायकमा रूपमा चिनाउन चाहने युवाको ठूलो जमात पनि छ, यहाँ । झलकमान गन्धर्वको यही बस्तीबाट २०७० सालमा उदाएको तन्नेरीहरूको ब्यान्ड हो, ‘लक्ष्य’ । जसको लोकप्रियता बढ्दो छ । नेपाली मौलिक बाजाको संरक्षणबारे आवाज उठिरहेका बेला मौलिक बाजाका धुनलाई संरक्षण गने मुख्य उद्देश्य राखेर केही गन्धर्व युवा जुटेपछि यो ब्यान्ड जन्मिएको हो ।
ब्यान्डका सबै सदस्य बाबुबाजेले बजाउने सारंगीलगायत धुन सुनेर हुर्किए । उनीहरूको पनि यसमै रस बस्यो । युवा भएपछि बाबुबाजेका पालामा जस्तो मौलिक लोकबाजाको धुन सुन्न पाएनन्, उनीहरूले । त्यसपछि रञ्जन, विवेक, अविनाश, पुस्कल, समिर, सुदिप, अशोक, विमल गायक एकजुट भए । विद्यार्थी जीवनमा उनीहरूले लोकबाजा बजाउन जानिसकेका थिए यी युवाले । लोकबाजाका धुनको बढ्दो ‘क्रेज’ देखेपछि उनीहरू झन् हौसिए अनि जन्मियो लक्ष्य ब्यान्ड । जसले पुराना लोकबाजाबाट विभिन्न धुन निकालेर दर्शक स्रोतालाई मन्त्रमुग्ध पार्न थाल्यो । ‘हाम्रो रगतमै म्युजिक हुन्छ । त्यसैले लोकबाजाको धुन संरक्षणतिर लागियो,’ ब्यान्डका सदस्य रञ्जन गायक भन्छन् ।
एसएलसी पास गरेलगत्तै उनीहरूले ब्यान्ड स्थापना गरेका हुन् । म्युजिकमार्फत लोकबाजाको संरक्षण र आफ्नो समुदायका युवालाई पनि सिकाउने अनि ठाउँ–ठाउँमा मौलिक लोकबाजाका धुनलाई बजाउने यसको संरक्षण टेवा पु¥याउने यो ब्यान्डको लक्ष्य छ । २०७२ सालमा पोखरामा भएको सार्क सम्मेलनको सांस्कृतिक साँझमा लक्ष्यले विशेष प्रस्तुति दिएको थियो । पोखरामा हुने विभिन्न कन्सर्ट, नेपाल लिटरेचर फेस्टिभलमा पनि यस ब्यान्डले प्रस्तुति दिएको छ ।
ब्यान्डका सदस्यले विभिन्न नेपाली लोकबाजा बजाएर धुन निकाल्छन् । ब्यान्डमा रञ्जन गायकले बाँसुरी बजाउँछन् विवेक गायक मादल धिमे, दमाहाको जिम्मा लिएका छन् भने अविनाश गायक खिं र मादल घन्काउँछन् । पुस्कल गायक र समीर गायकले सारंगी बजाएर अनेकन धुन निकाल्छन् भने सुदीप गायकले बाँसुरी बजाउँछन् । यस्तै, अशोक गायकले पर्कसनको जिम्मा लिएका छन् भने विमल गायकले सारंगी र अरबाजो बजाउँछन् । ‘हामी जुन समाजमा जन्मियो त्यहाँ बाबुबाजेले धानेको सांगीतिक परम्परा हाम्रो पालमा आएर लगभग हराएजस्तै भयो । सारंगी हरायो, सारंगीका धुन हराए त्यसपछि धेरैले सारंगी खोज्न थाले,’ रञ्जन भन्छन्, ‘त्यसपछि हामीले केही गर्नुपर्छ भनेर लोकबाजालाई केन्द्रित गरेर ब्यान्ड सुरु ग¥यौँ ।’
लक्ष्यले पोखरामा आयोजना हुने विभिन्न कार्यक्रममा पुराना गीतका धुनलाई परिमार्जन गरेर बजाउँछ । ब्यान्डले अहिले एउटा एल्बम र दुई वटा भिडियो निकाल्ने तयारी गरिरहेको छ । ‘लोकबाजा, लोकधुन र आधुनिक धुन मिश्रण गरेर बजाउनु हाम्रोे मुख्य काम हो,’ ब्यान्ड सदस्य विवेक गायकले भन्छन् । ब्यान्डले कृष्ण भजन, झलकमान गन्धर्वका गीतका धुन, गन्धर्वका वेद, नेपालका विभिन्न क्षेत्रका लोकगीतका धुनलाई फ्युजन गरेर बजाउँछ । काठमाडौँ, तनहुँलगायत  विभिन्न ठाउँमा प्रस्तुति दिन ब्यान्ड पुगिसकेको छ ।

 

Leave A Comment