सुन्दरी प्रतियोगिताः सिक्ने थलो

शनिबार, २१ फागुन २०७३, १२ : ५६ गोपाल दाहाल , Kathmandu
सुन्दरी प्रतियोगिताः सिक्ने थलो

भोजपुर पात्लेपानीकी अनु राई गायिका बन्न चाहन्छिन् । केही समय संगीत सिकेकी अनु स्टेज कार्यक्रममा गाउँछिन् । तर, एक महिनायता उनी मेकअप, क्याटवाक, फोटो सुटमा व्यस्त छिन् । ‘मिस टुरिजम नेपाल’की सहभागी अनु सुनाउँछिन्, ‘अहिलेको समयमा गायिकाको व्यक्तित्व आकर्षक हुनु जरुरी छ । भिडियोमा पनि सकेसम्म आफैँ मोडलिङ गर्दा राम्रो हुन्छ ।’

‘मिस इलाम कजेल आइकन’मा ब्युटिफुल आइज र फोटोजेनिक उपाधि जितेकी इलामकी ऋचा भण्डारी पनि ‘मिस टुरिजम नेपाल’मा तालिम लिइरहेकी छिन् । उनलाई अझै आफ्नो व्यक्तित्व विकास गर्ने मन छ । बीए अध्ययनरत धरानकी सुषमा गुरुङ भविष्यमा शिक्षक बन्न चाहन्छिन् । उनको रुचि नृत्य गर्ने र कविता लेख्ने छ । भन्छिन्, ‘जुन क्षेत्रमा पनि आत्मविश्वास चाहिन्छ । त्यसैले ब्युटी पेजेन्टमा भिडिरहेकी छु ।’

शहरहरूमा सुन्दरी प्रतियोगिताको लहर चलेका बेला अहिले गाउँ–गाउँका युवतीसमेत यसतर्फ आकर्षित भइरहेका छन् । पहिला सौन्दर्य प्रतियोगितामा भिड्नेहरू धेरैजसो मोडलिङ र ग्ल्यामर क्षेत्रमा लाग्न चाहने हुन्थे भने अहिले अन्य क्षेत्रमा लाग्न आत्मविश्वास बढाउन पनि सौन्दर्य प्रतिस्पर्धामा भिड्नेहरू धेरै भेटिन्छन् । भोजपुरकी आइसा मगर नर्स बन्न चाहन्छिन् । उनी पनि यसलाई एउटा अवसरका रूपमा सदुपयोग गरेको बताउँछिन् । मोरङ, बेलबारीकी स्नेहा वन पर्यटनका कुरा सिक्न ‘मिस टुरिजम’ भिडिरहेकी छिन् । उनको भविष्यको सपना भने गायिका बन्ने छ ।

झापा दमककी सोयाश्री बज्राचार्य ‘मिस दमक’की सेकेन्डरनरअप हुन् । विभिन्न स्कुलमा नृत्य सिकाउने र मेकअप आर्टमा लागेकी उनलाई पनि आफ्नो रुचिको क्षेत्रलाई सौन्दर्य प्रतियोगिताले सहयोग गर्छ भन्ने लाग्छ । ‘मिस एसएसलसी’ र ‘मिस पूर्वाञ्चल’मा सहभागी धरानकी सुदीक्षा श्रेष्ठ पनि अहिले ‘मिस टुरिजम’मा सहभागी छिन् । भन्छिन्, ‘पहिला त ब्युटी पेजेन्ट खासै मन पर्दैनथ्यो । तर, बाहिर सुने भन्दा बिल्कुल फरक हुँदो रहेछ । सिक्न चाहनेले राम्रा कुरा सिक्न सक्छन् ।’

‘मिस मंगोल’को उत्कृष्ट पाँचमा पुगेकी धरानकी वन्दना राईले राई संस्कृतिमा आधारित फिल्म ‘बिनायो’मा अभिनय गरेकी छिन् । विजयपुर एफएमकी आरजे वन्दनालाई सुन्दरी प्रतियोगिताबाट अझै धेरै कुरा सिक्ने रहर छ । एक महिनादेखि तालिम लिइरहेकी उनी भन्छिन्, ‘सबै केटीहरूले आधुनिक जीवनशैली सिक्ने ठाउँ हुन् यस्ता पेजेन्टहरू ।’

‘मिस विश्वकर्मा पूर्वाञ्चल’की फस्ट रनरअप मेघा रसाइलीको पनि वन्दनाकै जस्तो भनाइ छ । ‘मिस टुरिजम’मा सहभागी उनी भविष्यमा ¥याम्प मोडलिङ गर्न चाहन्छिन् । इटहरीकी एलिसा बास्तोला, नम्रता श्रेष्ठजस्तै अभिनेत्री बन्न चाहन्छिन् । कोशी हरैँचाकी रविना खवास प्रियंका कार्कीजस्तै कलाकार बन्न चाहन्छिन् । उनीहरू सौन्दर्य प्रतियोगितालाई फिल्मसम्म पुग्ने बाटो बनाउन चाहन्छन् । विराटनगरकी आश्मा दाहाल पनि ब्युटी पेजेन्टबाटै मोडलिङमा लाग्न चाहन्छिन् । धनकुटा महाभारतकी सरिता राई मान्छेसँग सभ्य तरिकाले बोल्न, खान सिक्न सुन्दरी प्रतियोगितामा आएको बताउँछिन् भने एयरहोस्टेज बन्न चाहने इटहरीकी दीपा वनले पनि त्यही बाटो रोजेकी छिन् । धरानकै आश्मा शाक्य पनि पहिला ‘मिस एसएलसी’की सहभागी हुन् । अहिले ‘मिस टुरिजम’मा सहभागी उनी भन्छिन्, ‘यस्ता प्रतियोगिताबाट कसरी बोल्ने, कसरी हिँड्नेदेखि आधुनिक जीवनशैलीका धेरै कुरा सिकिन्छ । नयाँ कुरा सिक्न पनि धेरै जना सहभागी भएका छन् ।’

नेपालको पर्यटनका विषयमा नयाँ पुस्तालाई जानकार बनाउने र पर्यटनको विकासमा लगाउने भन्दै पूर्वमा दुई वर्षदेखि ‘मिस टुरिजम नेपाल’ नामको सुन्दरी प्रतियोगिता आयोजना भइरहेको छ । अघिल्लो संस्करण झापामा भएको प्रतियोगिता यसपटक धरानमा हुँदैछ । फागुन १९मा फाइनल हुने प्रतियोगिताका लागि विभिन्न जिल्लाका १५ युवती तालिम लिइरहेका छन् । उनीहरू अधिकांश मोडलिङभन्दा अन्य क्षेत्रमा लाग्न चाहन्छन् । किरात राई यायोक्खा सुनसरीका सचिव हिन्दुहाङ राई अहिलेका युवतीहरू आधुनिक तरिकाले जिउन चाहने बताउँछन् । ‘मिस टुरिजम’का इभेन्ट निर्देशक राई भन्छन्, ‘गाउँदेखि शहरसम्मका युवतीहरू यस्ता प्रतियोगितामा भिडेर कुनै पनि क्षेत्रमा सक्षम बन्न चाहन्छन् । यसलाई अब ग्ल्यामर फिल्ड मात्र भनेर बुझ्नु गलत हुन्छ ।’ ‘मिस टुरिजम नेपाल’को आयोजक सहारा इन्टरटेनमेन्टका इभेन्ट म्यानेजर सौगात रिजाल ब्युटी पेजेन्टको ट्रेन्ड परिवर्तन हुँदै गएको बताउँछन् । भन्छन्, ‘पहिला मोडलिङ, ग्ल्यामरमा लाग्नेहरूको रोजाइ हुन्थ्यो, अहिले सबै युवतीका लागि सिक्नै पर्ने कक्षा जस्तो हुँदैछ, ब्युटी पेजेन्ट ।’

Leave A Comment