दोहोरो मारमा गोर्खा

शनिबार, २१ फागुन २०७३, ११ : ५८ शुक्रवार , Kathmandu
दोहोरो मारमा गोर्खा

–प्रदीप लोहागुण

नेपाली जातीयताको एउटा ठूलो संख्या भारतका स्थायी नागरिक पनि छन्, जो यस देशका अभियन्ता, निर्माता, रक्षक र प्रवद्र्धक हुन् । तर, शासक र सत्ताले लेखेको र सिकाएर हुर्किएको यो देशको पुस्ता दरपुस्ता भारतीयहरू भारतीय राष्ट्रियता बोकेर बाँचेका नेपालीहरूलाई पनि नेपालकै नागरिक  देख्छन् ।   
 भारतीय गोर्खा समाजका विद्वान् अनि रंगमञ्चकर्मी सीके श्रेष्ठलाई कलकत्ताको एउटा संस्थाले नेपालसँग जोड्ने काम गरेको घटनाले केही समयअघि दार्जिलिङ पहाडको राजनीतिक अनि सामाजिक वातावरणलाई निकै तताएको थियो । अखिल भारतीय संगीत व सांस्कृतिक परिषद्ले पठाएको निम्तो पत्रमा श्रेष्ठलाई ‘वरिष्ठ रंगमञ्च कार्यकर्ता, नेपाल’ भनी सम्बोधन गरिएको थियो । श्रेष्ठले यो घटनाको प्रतिवाद मात्र गरेनन्,  कार्यक्रमसमेत बहिष्कार गरेका थिए । नेपालीबाहेक हिन्दी अनि बांग्ला सञ्चारमाध्यममा पनि उनको प्रतिवादले ठाउँ पायो ।
यसअघि पनि उनीसँग यस किसिमको दुर्घटना भएको थियो । नाट्यभूषणको सम्मान ग्रहण गर्न केही वर्षअघि ओडिसा पुगेका श्रेष्ठलाई समारोहमा सहभागी एक मन्त्रीले ‘नेपाल कहिले फर्किने ?’ भनेर आफ्नो अज्ञानतापूर्ण प्रश्न तेर्साएका थिए । व्यंग्यचेतका धनी श्रेष्ठले मन्त्रीलाई आफ्नो ठट्यौली शैलीमा व्यंग्य कसेका थिए, ‘मैं सोच रहा हूूँ इस बार नेपाल नहीं जापान जाऊं ।’ मन्त्री अलमलिए र सोधे– ‘क्यों क्यों ?’ श्रेष्ठले भनेछन्, ‘अगर मुझे विदेश ही जाना है तो नेपाल क्यों जाऊं ? जापान क्यों नहीं ?’ श्रेष्ठको जवाफले मन्त्री ट्वाँ परे । उनै श्रेष्ठसँग यो दुर्घटना दोहोरियो ।
सामान्य रूपले हेर्दा श्रेष्ठलाई एउटा संस्थाले नेपालसँग जोडेको घटना सामान्य नै लाग्छ तर एउटा शासक जातिसत्ताले अल्पसंख्यक शासित जातिबारे बनाएको जड धारणा र मानसिकताको प्रतिफल हो यो घटना । सीके श्रेष्ठले भनेजस्तै हाम्रा लागि पाकिस्तान, भुटान, बर्मा र श्रीलंका जति हो, नेपाल पनि त्यति नै हो । नेपालससँग हाम्रो भाषा–साहित्य, जातीयता र सांस्कृतिक कुराहरू मिल्छन् । त्यसकारण अरू देशसँगको तुलनामा नेपालसँग हाम्रो भाषिक, सांस्कृतिक र भावनात्मक सम्बन्ध अलि बढी छ । तर, एउटा कुरा के स्पष्ट छ भने नेपालको सम्बन्धमा ‘नेपाली’ जातीयता (एउटा जातगोष्ठी विशेष) र राष्ट्रियता दुवै हो । हाम्रो सम्बन्धमा यो जातीयता मात्र हो, राष्ट्रियता हाम्रो भारतीय हो । यति कुरा बुझेर पनि भारतका शासक र सत्ताले निर्माण गरेको मनोविज्ञानका कारण हामी यति धेरै पीडित छौँ कि हामी आफूलाई ‘भारतीय’ प्रमाणित गर्न र नेपालसँगको सम्बन्धलाई ‘शंकामुक्त’ पार्न हतारिरहेका हुन्छौँ । हामी बाँकी भारतीयहरूको उच्चताभास र आफ्नै लघुताभासको दोहोरो मारमा परेका छौँ । छुरी खरबुजामा झरे पनि खरबुजा छुरीमा झरे पनि चोट खरबुजालाई लागेजस्तो अवस्था छ हाम्रो ।
सन् १९५० को भारत–नेपाल मैत्री सन्धिका कारण व्यापार, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत कुराहरूका निम्ति नेपाली नागरिक भारतमा सराबर आउजाउ गर्छन् । तर, नेपाली जातीयताको एउटा ठूलो संख्या भारतका स्थायी नागरिक पनि छन्, जो यस देशका अभियन्ता, निर्माता, रक्षक र प्रवद्र्धक हुन् । तर, शासक र सत्ताले लेखेको र सिकाएर हुर्किएको यो देशको पुस्ता दरपुस्ता भारतीयहरू भारतीय राष्ट्रियता बोकेर बाँचेका नेपालीहरूलाई पनि नेपालकै नागरिक  देख्छन् । यो गल्ती भएको छ, इतिहासको गलत व्याख्याले । हामीलाई भारतको निर्माता, रक्षक र समानाधिकारका हकवाला नागरिकभन्दा पनि जलियाँवाला बागको घटनामा अंग्रेज शासनको इसारामा निहत्था स्वतन्त्रताप्रेमी भारतीयहरूमाथि बन्दुक उठाउने ‘भारतीय राष्ट्रवाद’विरोधी गोष्ठीका रूपमा इतिहासमा व्याख्या गरिएको छ । शासक जातिसत्ताका इतिहासकारले हाम्राबारे जे इतिहास लेखे, त्यही पढेर बाँकी भारतीय पुस्ता हुर्किंदै आएको छ । त्यहीअनुरूप उनीहरूले एउटा उच्चाताभासको मनोविज्ञान निर्माण गरेका छन्, जसले आफूलाई ‘शुद्ध भारतीय’ र हामीलाई ‘नेपाली नागरिक’ देख्छन् ।
भारतको कथित मूलधारले राष्ट्रियताको एउटा भद्दा ‘फम्र्याट’ बनाएको छ । त्यस फम्र्याटभित्र पर्ने भाषा, जातीयता, संस्कृति, अनुहार आदि विशुद्ध भारतीय हुन्छन् अनि त्यो फम्र्याटमा नपर्ने जातगोष्ठी र समुदायलाई ‘अदर्स’को वर्गमा राखेर व्यवहार गरिन्छ ।
देशको शासनसत्ताले निर्माण गरेको यो जड मनोविज्ञान तोड्ने हो भने इतिहासको पुनर्लेखन जरुरी छ । भारतीय गोर्खा समाजका बौद्धिक, चिन्तक, कवि, लेखक र संस्कृतिकर्मीहरूले यो देशको शासक जातिसत्ताले बुझ्ने हरेक भाषामा हाम्रो इतिहासको पुनर्लेखन गर्नुपर्छ ।
अर्को पाटो हो हाम्रो लघुताभासको । हामीलाई नेपालसँग जोड्नेबित्तिकै वनको बाघले भन्दा पहिले मनको बाघले खाएर हामी चोक्टालाम्टा भइहाल्छौँ । देशको शासनप्रणालीमा हाम्रो अनुपस्थितिले गर्दा हामीमा यो मनोविज्ञान निर्माण भएको हो । संघीय शासनको संरचना भएको भारतको कुनै पनि तहको संरचनामा हाम्रो प्रभावशाली सहभागिता र उपस्थिति छैन । त्यसकारण हामी आफूलाई ‘नेपाली नागरिक होइनौँ’ भन्ने प्रमाणित गर्न ‘नेपाली’ जातीयता अघि ‘भारतीय’ टाउको (भारतीय नेपाली)  गाँसेर सुरक्षित हुन खोज्छौँ । छिमेकमा पाकिस्तान छ तर त्यहाँ बस्ने कुनै मुसलमानले भारतीय मुलसमान लेख्नुपरेको छैन । छिमेकमा बंगलादेश छ तर त्यहाँका कुनै बंगालीले भारतीय बंगाली लेख्नुपरेको छैन । श्रीलंकामा अल्पसंख्यक मानिएका तमिलहरूले श्रीलंकाली तमिल लेख्नुपरेको छैन । किनभने, देशको शासन र सत्तामा उनीहरूको सोझो सहभागिता र उपस्थिति छ । पश्चिम बंगाल राज्यका तत्कालीन मुख्यमन्त्री ज्योति बसु धेरै चोटि बंगलादेशमा रहेको आफ्नो पैतृक थलोको भ्रमण गरेर आएका थिए । बंगलादेशी अनुप्रवेशको सम्बन्धमा केही समयअघि पश्चिम बंगालकी वर्तमान मुख्यमन्त्री ममता बेनर्जीको एउटा बयान मिडियामा आएको थियो । उनले भनेकी थिइन्, ‘बंगलादेशलाई माया गर्छु तर अनुप्रवेश सहन गर्ने छुइनँ ।’
हामी नेपाललाई माया गर्छु भन्ने हिम्मत राख्दैनौँ । देशले हाम्रो राष्ट्रियता र राष्ट्रप्रेममाथि शंका गर्छ कि भन्ने मनको बाघले खाइहाल्छ हामीलाई । पहिचानको निम्ति संघर्ष गरिरहेको जातिको प्रतिनिधि राजनीतिक दलले गैरगोर्खालाई आफ्नो जनप्रतिनिधि बनाएर संसद् र विधानसभा पठाउने गरेको घटना अर्को गल्ती हो हाम्रो । सांसद् र विधायक भनेको शासनप्रणालीको एउटा अंग हो । ती अंगमा स्वजातीय मानिसहरू पुग्दा यसले परोक्ष–प्रत्यक्ष रूपले पहिचानको संघर्षलाई सहयोग नै पु¥याउँछ । छुट्टै राज्य गोर्खाल्यान्डको प्राप्तिले हामीलाई देशको संघीय शासन प्रणालीसँग जोड्छ । शासन र सत्तामा हाम्रो भागीदारी र उपस्थिति सुनिश्चित गर्छ । जबसम्म हामी यो देशको केन्द्रीय राजनीतिलाई प्रभावित पार्ने राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्दैनौँ, हाम्रो राष्ट्रिय चिनारी र राजनीतिक सुरक्षाका सवालहरू कहिल्यै पूरा हुने छैनन् । अहिलेलाई गोर्खा जातिको राष्ट्रिय चिनारी र राजनीतिक सुरक्षाको मुद्दाको जिम्मेवारी लिएर बसेका दल र संगठनहरूले यस्ता गम्भीर विषयलाई बहसको सतहमा ल्याएर एउटा निकासको बाटो खोज्नुपर्ने आवश्यकता छ ।
(लोहागुण कालेबुङ, भारतका साहित्यकार हुन् ।)

 

Leave A Comment