देउवाका अपूरा वाचा

बिहिबार, १९ फागुन २०७३, ११ : ४७ शुक्रवार , Kathmandu
देउवाका अपूरा वाचा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी दिँदै १२ पृष्ठ लामो ‘मेरो प्रतिबद्धता’  शीर्षकमा प्रतिबद्धता–पत्र जारी गरेका थिए । उनी नेपाली कांग्रेसको सभापति भएपछि के–के गर्ने छन् ? उनका योजना के–के छन् ? पार्टीलाई कसरी सुदृढ र एकताबद्ध गरेर अगाडि बढाउनेछन् ? लगायत विषय समेटिएको प्रतिबद्धताअनुसार देउवाले पार्टी सभापति चुनिएपछि काम गरे कि गरेनन् ? भनेर पार्टीका नेता तथा कार्यकर्ताले प्रश्न गर्न थालेका छन् । सभापति देउवाले पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार संगठन सञ्चालन गर्न असफल भएको भन्दै पार्टीभित्र उनको आलोचना हुन थालेको छ । सभापति चुनिएपछि उनले गर्नुपर्ने न्यूनतम काम पनि गर्न सकेका छैनन् । १३ औँ महाधिवेशन सम्पन्न भएको एक वर्ष बित्न लाग्दासमेत सभापति देउवाले पदाधिकारीसहित कुनै पनि निकायलाई पूर्णता दिएका छैनन् । उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफू निकटका आकांक्षी धेरै भएको र त्यसलाई व्यवस्थापन गर्न नसक्दा देउवाले पदाधिकारी मनोनयनमा विलम्ब गरेको सबैले बुझेका छन् । केही समयअघि कार्यसम्पादन समिति र विभाग गठनका लागि देउवाले आन्तरिक तयारी थाले पनि गुटगत सहमति जुट्न नसक्दा पूर्णता पाउन सकेको छैन । पार्टी विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । देउवा अघिल्लो फागुन २४ मा सभापति निर्वाचित भएका थिए । नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल सांस्कृतिक संघको महाधिवेशन भए पनि गुटबन्दीका कारण भ्रातृ संगठनका समितिले पूर्णता पाउन सकेका छैनन् ।
देउवाले एक वर्षअघि जारी गरेको प्रतिबद्धता–पत्रको दोस्रो बुँदामा ‘नेपाली कांग्रेस पार्टीभित्रको रहेको विभाजित मानसिकतालाई अन्त्य गर्न न्याय र सुरक्षाको प्रत्याभूति दिलाउँदै पार्टीका हरेक नेता र कार्यकर्ताको मूल्यांकन योगदान, सक्रियता र लोकप्रियताका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने मेरो सोच छ । नेताकोमा होइन, जनतामा जाऊँ अभियान सञ्चालन गरिनेछ’ भन्ने उल्लेख छ । तर, उनले प्रतिबद्धताअनुसार काम गरेका छैनन् । ‘नेताकोमा होइन, जनतामा जाऊँ’ भन्ने वाक्य प्रतिबद्धता–पत्रमा ‘बोल्ड’ गरेर उल्लेख गरिएको छ । तर, त्यसलाई सभापति देउवाले उल्टाएका छन् । उनले नेपाली कांग्रेसलाई बूढानीलकण्ठस्थित आफ्नो निवासको पटांगिनीमा सीमित गरिरहेका छन् । उनी आफ्नो निवासमा निकटस्थहरूबाट घेरिएर रमाइरहेका छन् । सभापति देउवालाई रिझाएपछि आफ्नो स्वार्थ पूरा गर्न सकिने बुझेका नेता तथा कार्यकर्ता जनताकोमा होइन, देउवा निवास नै धाइरहेका छन् । न त सभापति देउवा नै जनताकोमा पुग्न सकेका छन्, न पार्टीका जिम्मेवार नेता तथा कार्यकता नै जनताको घरदैलो पुगिरहेका छन् । संसद्को एक नम्बर दल भएकोमा गर्व गर्दै र सभापति हुन सकेकोमा प्रफुल्ल हुँदै देउवाले एक वर्ष फोकटमा बिताएका छन् । पार्टी कन्द्रीय समिति र संसदीय दलको बैठक नबसेको महिनौँ भइसकेको छ । तर, पार्टीलाई विधान र पद्धतिअनुसार सञ्चालन गर्छु भन्ने उनलाई त्यसमा कुनै मतलब नभएको प्रतीत भइरहेको छ ।
कांग्रेसभित्र झाँगिएको वंश परम्परालाई चुनौती दिँदै नेतृत्वमा पुगेका देउवाले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्नेछन् भनेर आश गरिरहेका पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता उनीबाट निराश भएका छन् । पार्टीलाई व्यक्तिगत लहड र गुटका आधारमा सञ्चालन गर्नका लागि उनी सभापति भएका होइनन् । उनले पटक–पटक कसैलाई काखा र कसैलाई पाखा गर्दिनँ भनेर गरेको वाचा पनि पूरा गरेका छैनन् । अब उप्रान्त कसैलाई पनि पार्टी छोडेर हिँड्ने बनाउँदिनँ भन्दै भाषण गर्ने सभापति देउवाले यसै गरी पार्टी चलाउने हठ गरिरहे भने कांग्रेस निकै कमजोर हुँदै जाने निश्चित छ । पार्टी इतिहास र जनताको विश्वासअनुसार भूमिका निर्वाह गर्न नेतृत्व असफल भएको भन्दै देउवाको पार्टीभित्र तीव्र आलोचना भइरहेको छ । उनले लिएका कतिपय निर्णयका कारण पार्टीको चौतर्फी निन्दा र आलोचना भइरहेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरिरहेका छन् । पार्टी नेतृत्व असफल हुँदा सभापति मात्र होइन, कांग्रेस नै असफल हुने भन्दै नेता तथा कार्यकर्ता चिन्तित हुन थालेका छन् । सभापति देउवाले पार्टीभित्र सन्तुलन कायम गरेर अघि बढ्न नचाहेको ठहर वरिष्ठ नेता राचन्द्र पौडेल पक्षको छ । पार्टीभित्र आन्तरिक छलफल र सन्तुलनभन्दा सभापति एकलौटी ढंगबाट अघि बढिरहेको भन्दै पौडेल पक्षले त्यसको प्रतिवाद गर्ने तयारी थालेको छ । पार्टीमा कुनै पनि प्रकारको छलफल र विधि–विधानको कुरा निमिट्यान्न बन्न पुगेको ठहर पौडेल पक्षको छ । संविधान कार्यान्वयनदेखि देशका समस्या समाधानमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने अवस्था हुँदाहुँदै पनि सभापति देउवाले आफ्नो क्षमता देखाउन नसकेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ ।
सभापति देउवाले एक वर्ष ख्यालख्यालमा बिताए । अझै पनि उनले आफूले व्यक्त गरेका प्रतिबद्धता र पार्टी विधानलाई ‘फलो’ गरेर अघि बढ्ने हिम्मत गरे भने उनले कांग्रेसलाई जीवन्त पार्टीका रूपमा अघि बढाउन सक्नेछन् । ‘होइन, सभापति भइहालेँ, अब पेलेरै जान्छुु’ भनेर अघि बढे भने उनको कार्यकालमा कांग्रेस सबैभन्दा निम्छरो दलका रूपमा चित्रित हुनेछ । निम्छरो दलका कमजोर सभापतिका रूपमा उनी दर्ज हुनेछन् ।

Leave A Comment