कोपरा म्यानेजर

सोमबार, १६ फागुन २०७३, १२ : ३२ विनोदविक्रम केसी
कोपरा म्यानेजर

'नेताज्यूको कोपरा हरायो।'

उसले यसरी भन्यो, मानौँ, कुनै राष्ट्रिय संकटको घडी आइलागेको होस्।

शहरका शाकाहारीहरूको राम्रै जमघट हुने सुन्धारास्थित गुलाब रेस्टुरेन्टमा उसले मलाई बोलाएको थियो। एउटा विष्फोटक समाचार दिने वाचा गरेको थियो।

'यसमा समाचार कहाँ छ?' मलाई एकसरो रिस उठ्यो। 

'योभन्दा ठूलो समाचार के हुन्छ? देशको एक जना विराट नेताको कोपरा हराएको छ। यो चानचुने समाचार हो?' ऊ दोब्बर रिसायो।

'हनुमानजी,' मैले उसलाई एक खेप प्रवचन दिन चाहेँ, 'दुनियाँका छोरीचेली हराइरहेका छन्, दुनियाँका रोजीरोटी हराइरहेका छन्, पहिचान हराइरहेका छन्, हकअधिकार हराइरहेका छन्। ती समाचार बन्न सकेका छैनन्। तपाईं चाहिँ नाथे कोपरा हराएकोमा यति चिन्तित हुुनुहुन्छ। सुहाएन हौ, पटक्कै सुहाएन!'

'मेरो नाथको कोपरालाई नाथे भन्ने तपाईं को?' हनुमानजी बम्कियो। रामचन्द्रको साख्खे हनुमानले पनि सायद यति स्वामीभक्ति, यति बफादारी र यति हत्तेहलाइ प्रकट गरेको थिएन।

ऊ आर्द्र स्वरमा भन्दै थियो, 'त्यो कोपरासँग मेरो भावनात्मक लगाव छ...'

कोपरासँग भावनात्मक लगाव?

कुन जुग, कुन शताब्दी, कुन संसारमा बाँचिरहेको छ यो मान्छे?

'नेताज्यूको कोपरा उठाउनु र फाल्नु मेरो जीवनको अभिन्न हिस्सा भइसकेको छ,' ऊ हास्यास्पद भावुकतामा डुबेको थियो, 'मुलुक जोगाउने जिम्मेवारी उठाइरहनुभएको देशको एउटा सपुतको कोपरा उठाउनु मेरो धर्म, कर्म, राजनीति सबथोक हो।'

उसको कोपरा प्रलाप सुनेर मलाई हाँसोले साह्रोसँग च्यापिरहेको थियो। तर, दिमागको किड्नीमा चाप पारेर भए पनि थामिरहेको थिएँ।

'नामअनुसार त तपाईंले पर्वत उठाउनुपर्ने होइन र?' मैले ठट्टा गरेँ।

'हनुमानहरू परिस्थितिअनुसार कहिले पर्वत उठाउँछन्, कहिले कोपरा उठाउँछन्।'

उसको मुद्रा अत्यन्त गम्भीर थियो, जस्तो उहिले–उहिले महेन्द्रमालाका तस्बिरमा राजारानीका हुन्थे।

'पहिला म पिकदानी बोक्थेँ,' ऊ आफ्नो इतिहास बाच्न थाल्यो, 'दिल्लीको एक जना नवाबले नेताज्यूलाई उपहार दिएको पिकदानी थियो त्यो। मित्रताको अप्रतिम निशानी! तर, एक दिन के भयो कुन्नि, नेताज्यूले त्यो पिकदानी फाल्दिनुभयो। महापुरुषहरू अलि–अलि लहडी पनि हुन्छन्।'

अनि, एक दिन नेताज्यूले कोपरा प्रयोग गर्ने उद्घोष गर्नुभयो। 'कोपरा हाम्रो ऐतिहासिक निधि हो,' हनुमानजीका अनुसार नेताज्यूले भन्नुभएको थियो, 'राष्ट्रिय अस्मितामाथि चौतर्फी हमला भइरहेको सन्दर्भमा कोपरा परम्परालाई पुनर्जीवन दिनु आजको राष्ट्रिय आवश्यकता हो। हाम्रो आफ्नै इतिहास छ, थिति–स्थिति, शासन शैली र रिवाज छन्। पछाडि फर्केर पनि समयलाई अगाडि बढाउन सकिन्छ। हरेक अगाडि भनेको पछाडि हो, हरेक पछाडि भनेको अगाडि हो।'

नेताज्यूको दार्शनिक व्याख्यान हनुमानजीको दिमागमा घुसेन। यति चाहिँ निस्सन्देह घुस्यो– अब कोपरा उठाउने एउटा मान्छे नेताज्यूको निकटतम हुनेछ। नेतासँगको निकटताले यो देशमा दिलाउन नसक्ने चिज केही छैन। राजमार्गदेखि लोकमार्गसम्मको ठेक्कापट्टा, चुनावमा टिकट, राष्ट्रिय स्तरको धाक–प्रतिष्ठा ...।

हनुमानजीले पिकदानी बोकेको अनुभव र योग्यता नत्थी गरेर कोपरा म्यानेजर पदमा आफ्नो दाबेदारी प्रस्तुत गरिहाल्यो। र, नियुक्ति पनि पाइहाल्यो।

'तपाईंलाई यो काम आत्मच्यूत र हीन लाग्दैन? एक्काइसौँ शताब्दीमा पनि यस्तो काम गर्छन्?' मैले अलिक तीतो सवाल गरेँ।

'समयले सबैलाई एउटा–एउटा भूमिका दिन्छ,' तर्कशील हनुमानजीले भूमिका बाँध्दै भन्यो, 'भूमिका सानो/ठूलो भन्ने हुँदैन। आफ्नो भागमा जुन भूमिका पर्छ, त्यसलाई निर्वाह गर्दै जाने हो। र, इतिहास बनाउँदै जाने हो।'

 

'कोपरा उठाउनेको के इतिहास बन्छ, यार?'

'बन्छ, जरुर बन्छ, हेरिराख्नुहोला। अरू केही नभए पनि, भोलि तपाईंका नाति–नातिनाले प्राथमिक शिक्षाअन्तर्गत मेरो जीवनी पढ्नेछन्।'

कति लामो र परको सोच्न सक्छ हनुमानजी!

यति परको सोच्छ र कोपरा उठाउँछ!

यतिञ्जेलसम्म हामीले तीन कप चिया खाइसकेका थियौँ। चिया मात्र खाएर ठाउँ ओगटिरहनुलाई रेस्टुरेन्टले बेअदबी ठान्ला भन्ने डरले मैले उसलाई केही खाऊँ भनेँ।

'यहाँको चाट बडो अच्छा छ। खाऊँ है?'

उसले मलाई यस्ता आँखाले हेर्‍यो, मानौँ म कुनै अपराधकर्म गर्नुअघि ऊसँग अनुमति मागिरहेको थिएँ।

'राष्ट्रियता भन्ने चिज अलिकति पनि छैन तपाईंसँग?' ऊ कड्क्यो।

'यसमा राष्ट्रियताको कुरा कहाँबाट आयो?'

'तपाईंहरू जस्ताकै कारण देशको आज यो हाल भएको छ।'

'यस्ता सानातिना कुराले राष्ट्रियता डिफाइन गर्छ?'

'अनि केले गर्छ त?' ऊ रिसायो। ऊसँग निरर्थक बहसमा अल्भि्कनुभन्दा मैले छुट्टिनु नै ठीक ठानेँ।

'त्यसो भए जाऊँ त,' म ऊबाट मुक्त हुन व्यग्र थिएँ, 'मलाई न्युज लेख्नु छ।'

'त्यो कोपराको न्युज के हुन्छ? बुलन्द लेख्दिनुस् है।'

'अघि नै भनेँ नि त्यो समाचार बन्न सक्दैन।'

ऊ  क्षुब्ध भयो। भन्यो, 'पुरानो मित्र भएकाले यस्तो ब्रेकिङ न्युज दिएको हुँ। गल्ती मेरै हो। तपाईंहरू ग्याङै बनाएर हाम्रा नेताज्यूविरुद्ध विरोधको झण्डा उठाइरहनुभएको छ।'

'कोपरा उठाउनुभन्दा त झण्डा उठाउनु बेटर होइन र?' मैले दनक दिएँ, 'फेरि, अचेल भएभरका राष्ट्रिय झण्डा मुलुकप्रेमीहरूले उठाइरहेका छन्। अनि, हाम्रो भागमा पर्ने त त्यही विरोधको झण्डा न हो।'

उसले छुट्टिनुअघि लामो निश्वास छोडेर भन्यो, 'अचेल राष्ट्रघातको सिजनै चलेको छ राष्ट्रमा।'

Leave A Comment