‘सत्मानलाई सम्झिरहन्छु’

आइतबार, १५ फागुन २०७३, ०१ : ४१ मनोज घर्तीमगर , Kathmandu
‘सत्मानलाई सम्झिरहन्छु’

माओत्से गुरुङ मूलतः फिल्म निर्देशक हुन् । तर, उनी आफूलाई कलाकार भन्न रुचाउँछन् । उनले पर्दामा फरक–फरक भूमिका निर्वाह गरेका छन् । आफूलाई प्रिय लाग्ने केही क्यारेक्टरबारे उनले मनोज घर्तीमगरसँग कुराकानी गरेका छन्ः

सत्मान
कुनै बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय टेलिफिल्म ‘दलन’मा मैले सत्मानको भूमिका निर्वाह गरेको थिएँ । त्यो गजबको क्यारेक्टर थियो । ‘बाबुराम टोपी’ लगाउने, छुस्स दारी र जुंगा पाल्ने,  दाहिने काँधमा धागोको झोला कहिल्यै नछुटाउने, डल्लेडल्ले, गाउँघर जहाँ पुगे पनि मान्छेसँग भेट हुँदा खुला दिलले दुवै हात टाउकोमाथि उठाएर नमस्कार गर्ने, दिल खोलेर हाँस्ने । जे कुरा गर्दा पनि दाहिने हातले फिलामा फ्याट्ट पड्काएर बोल्दै हाँस्ने । त्यो क्यारेक्टर सम्झँदा अहिले पनि बडो आनन्द लाग्छ । सत्मानको क्यारेक्टर म कहिल्यै बिर्सन सक्दिनँ । अहिले पनि त्यस्तो खालको क्यारेक्टर गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । जसले समाजमा रहेका ‘मै हुँ’ भन्नेका विचारलाई तोड्दै दलित र जनजातिको आवाज उठाउने गथ्र्याे । यो क्यारेक्टर गर्दा मैले थुप्रै चुनौती सामना गरेँ ।
भक्ते
‘पुरानो डुंगा’ फिल्ममा मैले ‘भक्ते’को क्यारेक्टर गरेको छु । जसको सानो परिवार छ । उसको संसार भनेको ताल, डुंगा, माछा र परिवार हो । उसलाई लफंगा भाइले जतिबेला पनि दुःख दिने, आर्थिक रूपले कमजोर भए पनि  श्रीमती र छोरीलाई खुशी दिने क्यारेक्टर हो, भक्ते । यो क्यारेक्टर गर्दा गजबको अनुभूति भयो । मैले जुन जीवन भोगेको थिएँ त्योभन्दा फरक प्रकारको अभिनय गर्ने मौका पाएँ । त्यो रोल गर्दा मलाई डर पनि लागेको थियो । कतै यो चरित्रमा दर्शकले नरुचाइदिने पो हुन् कि ? भन्ने डर थियो । म मोटो भएकाले दर्शकले यस्तो पनि माझी हुन्छ र ? भन्ने सोच्छन् कि भनेर पनि डराएको थिएँ । तर, दर्शकले मन पराइदिए । पछि ठीकै गरेछु जस्तो पनि लाग्यो ।
ओदे
‘कृपा’ फिल्ममा मैले ओदे क्यारेक्टरमा अभिनय गरेको छु । जो क्यारेक्टर बोल्न पनि सक्दैन, सुन्न पनि सक्दैन । छरछिमेकी इष्टमित्रबाट ठगिएको क्यारेक्टर हो ओदे । यो भूमिका गर्दा पनि उत्तिकै चुनौती थियो । बोल्न नसक्ने, सुन्न नसक्नेहरूले जनमानसमा एकदमै फरक खालको हाउभाउ गर्छन् तर ओदेले त्यस्ता हाउभाउ नभई फेसबाट आफ्नो अभिनय गर्नुपर्ने थियो । यो बडो चुनौतीपूर्ण अभिनय थियो ।
लालकाजी
फिल्म ‘कबड्डी कबड्डी’ फिल्ममा मैले लालकाजीको क्यारेक्टर गरेको छु । जो राजनीति गर्ने असल नेता हो । उसले जहिले पनि स्वच्छ हिसाबले राजनीति गर्न खोजेको छ । गाउँलेहरूको प्रिय नेता पनि हो । आफ्नो क्षेत्रको विकास गर्नुपर्छ भन्नेमा प्रतिबद्ध छ । गाउँमा त्यस्ता कुनै समस्या छन् भने सल्टाउन लागिपर्छ । यो बडा रमाइलो क्यारेक्टर थियो । मैले सम्झिरहने क्यारेक्टरमा लालकाजी पनि पर्छ ।
छापामार
‘ह्वाइट सन’ फिल्ममा मैले छापामारको रोल गरेको छु । त्यो पनि रमाइलो लाग्ने अभिनय थियो । बन्दुक बोकेर छापामारको अभिनय कहिल्यै गरेको थिइनँ । एक्सनको काम कहिल्यै गरेको थिइनँ । दुश्मनमाथि जाइलाग्ने खालको क्यारेक्टर गर्न पाउँदा म खुशी छु । माओवादी मूलधारको राजनीतिमा आएपछि माओवादीभित्रै राजनीतिक रूपले असन्तुष्ट पक्षको प्रतिनिधि पात्र हो, छापामार । यो क्यारेक्टर पनि सम्झिरहन्छु ।
घैँटे
फिल्म ‘नकइँ फुँ’ मा घैँटेको क्यारेक्टर गरेको छु । उसको बच्चा छैन । ऊ समस्यामा छ । परिवार त्यति खुशी छैन । तर, ऊ अरूलाई सहयोग गर्न जतिखेर पनि तयार रहन्छ । यो क्यारेक्टर गर्दा पनि धेरै समस्या भएको थियो । तर, पछि राम्रो भएछ ।

Leave A Comment