‘प्रश्न गर्ने संस्कृति निर्माण हुँदैछ’

आइतबार, १५ फागुन २०७३, ०१ : ३८ शुक्रवार , Kathmandu
‘प्रश्न गर्ने संस्कृति निर्माण हुँदैछ’

रडर्स झापाको आयोजनामा फागुन १२, १३ र १४ मा झापा काँकरभिट्टामा कला साहित्य उत्सव हुँदैछ । खुला बहस, निरन्तर अध्ययन र गतिशीलताको मूल ध्येयसहित आयोजना हुन लागेको उत्सवको तेस्रो संस्करणको तयारीमा जुटेका कार्यक्रम संयोजक दामोदर ढुंगेलसँग शुक्रवारका लागि राजु अधिकारीले गरेको कुराकानीः

रिडर्स झापा कस्तो संस्था हो ?
रिडर्स झापा पठन संस्कृति विकास गर्ने तथा सामाजिक जीवनका विविध विषयमाथि वैचारिक बहस गर्ने स्वतन्त्र फोरम हो । यो विशुद्ध मुनाफारहित संस्था हो । २०६४ सालदेखि विभिन्न पेशा/व्यवसाय गर्ने मेचीनगरका केही युवाहरूले शनिवारका दिन अनौपचारिक छलफल गर्ने कार्यबाट नै रिडर्स झापा संस्था निर्माण भएको हो । यो संस्था २०६९ साल फागुनमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।

पहिलो कला साहित्य उत्सवपछि साहित्यको केन्द्र मोफसलमा सार्छाैं भन्नुहुन्थ्यो । भयो त त्यस्तो ?
२०६९ सालमा त पहिलो पटक राजधानीबाहिर तीनदिने कला साहित्य उत्सव आयोजना गरेर काठमाडौँलाई चुनौती पनि दिइयो । प्रत्येक दुई वर्षमा आयोजना हुने कला साहित्य उत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा रिडर्स झापाले समाजमा कार्यक्रमको नयाँ शैली स्थापना ग¥यो । व्यापारिक प्रवद्र्धनलाई मात्र उत्सव मानिने हाम्रो समाजमा कला साहित्यको पनि उत्सव हुन सक्छ भन्ने प्रमाणित भयो । विद्वान्हरूका विचार सुन्ने र प्रश्न गर्ने बानीको विकास भएको छ । प्रश्न गर्ने संस्कृति निर्माण गर्नु आजको सबैभन्दा विशाल आवश्यकता पनि हो । त्यो संस्कृति निर्माण पनि हुँदैछ । त्यसका लागि यस्ता उत्सव सहायक हुन्छन् ।

कला साहित्य उत्सव मोफसलमा गर्न सकिन्छ भन्ने प्रमाणित रिडर्स झापाले नै गरेको हो । केन्द्र र मोफसलको सदियौँदेखि द्वन्द्व रहेको र मोफसल एउटा मनोविज्ञानका रूपमा स्थापित भएको अवस्थामा रिडर्स झापाले कला साहित्य उत्सव आयोजना गरेर साहित्यको केन्द्र अब राजधानी मात्र हुन सक्दैन भन्ने प्रमाणित गरेकै हो । काठमाडौँमा आयोजना हुने लिटरेचर फेस्टिभल गत वर्षदेखि पोखरा सर्नुले पनि यसलाई पुष्टि गर्छ ।

तेस्रो संस्करणको तयारी कहाँसम्म पुग्यो ?
तेस्रो संस्करणको हामी अन्तिम तयारीमा छौँ । प्यानल डिस्कसनका विषय र वक्ताहरूको टुंगो लागिसक्यो । चैतन्य मिश्र, सिके लाल, डा. युवराज खतिवडा, देवेन्द्रराज पाण्डे, सीपी मैनाली, प्रदीप गिरी, झलक सुवेदी, आहुति, नारायण वाग्ले, डा. सञ्जीव उप्रेती, अर्चना थापा, उमा सुवेदी, सरिता तिवारी, सङ्गीत श्रोता, तुलानारायण शाह, सरस्वती प्रतीक्षा, दीपक सापकोटा आदिको टुंगो भइसकेको छ । यसपालि बुक बस ल्याएका छौँ । बुक बस मोबाइल लाइब्रेरी हो । बुक बसले माघ २४ गतेबाट विभिन्न विद्यालयमा सेवा दिइरहेको छ । साथै, ‘वर्ड वारियर’का साथीहरू आएर विद्यालयहरूमा कविता लेखन र वाचन सिकाइरहनुभएको छ । त्यस्तै, कलाका साथीहरूले कलासम्बन्धी कार्यशाला सञ्चालन गरिरहनुभएको छ ।

लोकतन्त्रको गहना भनेकै खुला बहस हो । बहुलवाद स्वीकार गर्ने प्रवृत्ति निर्माण गर्न कला र साहित्यका उत्सवहरूले सघाउ पु¥याउँछन् । बहसका नयाँ विषयहरू निर्माण हुन्छन् भने तीमाथिको अध्ययन पनि सुरु हुन्छ ।

यस्ता कार्यक्रमहरूले पठन संस्कृति बढाउन कत्तिको मद्दत पुग्छ ?
यस्ता कार्यक्रमको मुख्य विशेषता भनेको नै लेखक र पाठकको भेट र प्रत्यक्ष हुने छलफल र अन्तक्रिया हो । लेखकलाई भेट्दा पाठकले आफ्ना जिज्ञासा राख्न पाउँछन् । पाठक उत्साहित हुन्छन् । कला साहित्य उत्सवका अवसरमा गरिने पुस्तक प्रदर्शनीबाट प्राप्त परिणामले पनि पठन संस्कृति बढेको हो भन्न सकिन्छ । समग्रमा प्रश्न गर्ने बानी र आलोचनात्मक चेत निर्माण गर्न यस्ता कार्यक्रमहरूले  ठूलो भूमिका निर्वाह गरेका छन् ।

यस्तो उत्सवले राष्ट्रिय परिवेशमा कस्तो प्रभाव पार्छ ?
सामाजिक जीवनका विविध समसामयिक विषयवस्तु र मुद्दामा हामीले बहस चलाएका छौँ । लोकतन्त्रको गहना भनेकै खुला बहस हो । बहुलवाद स्वीकार गर्ने प्रवृत्ति निर्माण गर्न यस्तो उत्सवले सघाउ पुग्छ । बहसका नयाँ विषयहरू निर्माण हुन्छन् भने तीमाथिको अध्ययन पनि सुरु हुन्छ । विविध विषयसँग सम्बद्ध वक्ताहरूको जमघट तथा विविध विषयमाथिको बहसका कारण यस्ता उत्सवले समाजमा अध्ययन केन्द्र निर्माण गर्छन् ।
रिडर्स झापाले आयोजना गर्ने कला साहित्य उत्सवका आकर्षण के के हुन् ?
साहित्यिक कार्यक्रम भन्नेबित्तिकै आसन ग्रहणको पट्यारलाग्दो शैली, दर्शकदीर्घा भन्दा मञ्चमा अतिथिको भीड, कविता वाचन, कार्यपत्र वाचन, टिप्पणी आदि हुन्थे । कला साहित्य उत्सवमा केही मिनेटको सामान्य उद्घाटन, त्यसपछि विभिन्न शीर्षकमा प्यानल डिस्कसन, स्रोताहरूले वक्तासँग गर्ने प्रश्नोत्तर, चित्रकला, कविता वाचन, नाटक, फोटो प्रदर्शनी, हाउभाउसहितको कविता वाचन, सम्भाषण हुनेछन् । यसपालि त साँझमा पहिलो दिन परिवर्तन थिएटरको नाटक ‘सुकुम्वासी राजा’, दोस्रो दिन वृत्तचित्र र तेस्रो दिन गायक गणेश रसिकको एकल गायन राखिएको छ ।

कला साहित्य उत्सव आयोजनका चुनौती के–के छन् ?
प्रशस्त चुनौती छन् । आर्थिक समस्या नै यस्ता कार्यक्रमको चुनौती हो । साथै, बहसको विषयअनुसारका वक्ता छनोट गर्नु र वक्ताको समय मिलाउन कठिन हुन्छ । कतिपय वक्ताहरू आउन रुचि हुँदाहुदै पनि समय अभावका कारण छुट्नुभएको हुन्छ । फेरि काठमाडौँबाहिर वक्तालाई ल्याउनका लागि समय व्यवस्थापन गर्न कठिन छ । तर, चुनौतीलाई हामी अवसरको रूपमा पनि लिन्छौँ । चुनौतीविनाको कुनै पनि काम हुँदैन । हामी चुनौतीलाई प्रेसरको रूपमा पनि लिँदैनौँ । पछिल्ला वर्षहरूमा केन्द्रको ‘हेजिमोनी’विरुद्ध देशैभरि प्रयत्नहरू भइरहेका छन् । त्यसैले पनि यस्ता कला साहित्य उत्सवहरूलाई सहयोग गर्ने प्रवृत्ति बढेको छ । हाम्रो क्षेत्रमा यो उत्सव सफलपार्न सबै जनाले दिल खोलेर सहयोग गर्नु भएको छ ।  

समावेशिताका कुरा पनि छ अहिले । यो उत्सवलाई समावेशी बनाउनेतर्फ यहाँहरूको विचार के छ ?

सामावेशिता हाम्रो मुख्य मुद्दा हो । बहिष्करणमा परेकालाई मूलधारमा ल्याउनका लागि गर्न सकिने प्रयत्नका विषयमा घनीभूत छलफल गर्छौं हामी तर कतिपय व्यक्तिलाई यस्ता विषय सहजै नपच्ने हुनाले स्वीकार गर्न पनि गाह्रो भइन्छि । दोस्रो कला साहित्य उत्सवमा महिलाको संख्या कम भयो भन्ने प्रश्न उठेको हो । त्यसलाई हामीले स्विकारेका पनि छौँ । दोस्रो संस्करणमा हामीले धेरै महिला लेखकलाई निमन्त्रणा पनि गरेका थियौँ । तर, विभिन्न कारणले उहाँहरू उल्लेख्य संख्यामा सहभागी हुन सक्नुभएन । हामीमाथिका प्रश्नलाई हामी सहज स्वीकार गर्छांै । त्यसैले तेस्रो संस्करणमा हामी महिलाको संख्या बढाउन लागेका छौँ । जुन कुरा दर्शकले कार्यक्रममा देख्न पाउनुहुनेछ । त्यस्तै आदिवासी, जनजाति, दलित, सीमान्तकृत सबैको सहभागिता रहनेछ ।

तस्बिरः प्रभात झा

 

Leave A Comment