ओई मोटी !

आइतबार, १५ फागुन २०७३, १२ : ३९ शुक्रवार , Kathmandu
ओई मोटी !

पुरुषको मोटोपन स्वास्थ्यको सवाल बन्छ भने महिलाको मोटोपन उसको सौन्दर्य तथा सम्पूर्ण व्यक्तित्वसँग जोडिन्छ । महिलाका निम्ति ‘जिरो फिगर’लाई आदर्श बनाइएको छ । मोटी हुनु भनेको सुन्दर हुनु होइन भन्ने मान्यता स्थापित गराइएको छ । र, यो पुरुषको सौन्दर्य दृष्टिकोण हो । मोटी महिलाहरू बसमा चढ्दा अपमान खेपिरहेका छन् । उनीहरूको मजाक उडाइन्छ । के–के छन् उनीहरूले भोगेका समस्या ? अनिल यादव र सृजना खड्काले तयार पारेको सामग्री ।
केस नं. १
आइतवार साँझ काठमाडौंस्थित बल्खुबाट एउटी युवती माइक्रो बसमा के चढ्नै लागेकी थिइन्, ढोकामा उभिएका सहचालकले उनलाई रोके ।  कारण– उनी मोटी थिइन् । ‘तपाईं अट्ने सिटमा तीनजना प्यासेन्जर अट्छन् । ४५ रुपियाँ (तेब्बर भाडा) दिनुहुन्छ भने चढाउँछु, नत्र हुँदैन,’ रुखो बोलीमा सहचालकले उनलाई भने  । ती युवती ४५ रुपैयाँ तिर्न तयार थिइन् । तर, माइक्रोमा सवार अन्य यात्रुले हप्काएपछि सहचालक लाग्ने भाडा मात्र लिन बाध्य भए । समाजशास्त्री डा. मीना उप्रेतीले देखेको घटना हो यो । उनी यही माइक्रोमा सवार थिइन् ।  
केस नं. २
काठमाडौँ, नयाँ बानेश्वर बस्ने सुनीता महत (नाम परिवर्तन) लाई कसैले प्रेम र विवाहमा रूप हेरिँदैन भन्यो भने त्यो बकवास लाग्छ । कारण– उनको जीवनमा त्यस्तो भएन । उमेरले उनी ३४ वर्षकी भइसकिन् । धेरै केटा उनलाई हेर्न नआएका पनि होइनन् । ‘तर, सबै फर्किएर आएनन्,’ परिचय लुकाइदिने शर्तमा उनी खुलिन्, ‘धेरैले मोटी भई भनेर कमेन्ट गरेछन् । एकपल्ट त मजस्तै मोटो शरीर भएको केटो हेर्न आएको थियो । उसले धरी ‘मोटी भई’ भनेछ ।’
केस नं. ३
भक्तपुर, कमलविनायककी सपना महर्जन (नाम परिवर्तन) को बिहे भएको पाँच वर्ष भयो । ३० वर्षीया उनी बिहेअघि दुब्ली थिइन् । बिहेपछि ४९ केजीबाट मोटाएर ८५ केजी पुगेकी छिन् । र, यतिबेला उनकै श्रीमान्का लागि उनी मजाकको पात्र बनिरहेकी छिन् । ‘म मोटाएपछि त मेरै श्रीमान् मसँग कतै बाहिर हिँड्न नै मान्नुहुन्न,’ उनले आफ्नो दुःख पोखिन्, ‘मेरी एउटी छोरी छिन् । छोरीलाई लिएर कहिलेकाहीँ बाहिर घुम्न जाऊँ न भन्दा ‘पहिला दुब्लाऊ, अनि मात्रै लान्छु’ भन्नुहुन्छ । कहिलेकाहीँ त ‘तिमीलाई हाल्यो भने मेरो बाइकको टायर नै पन्चर हुन्छ’ भन्दै हाँसो गर्नुहुन्छ । मोटी भएपछि त ‘मेरी श्रीमती’ भनेर साथीहरूलाई चिनाउन पनि गाह्रो हुन्छ रे उहाँलाई ।
०००
यी समस्या यी तीनजना महिलाका मात्र होइनन् । आफ्नो शरीरको तौलका कारण थुप्रै महिलाले भोगिरहेको यथार्थ हो यो । मोटोपनका कारण महिला–पुरुष दुवै समस्यामा छन् । तर, पुरुषप्रधान समाज भएर होला– महिलाहरूको पीडा चर्काे छ । मोटी भएकै कारण गाडीको सहचालक उसलाई हप्काइरहेको छ, उसकै साथी उसलाई उडाइरहेको छ, जिस्काइरहेको छ । समाजशास्त्री डा. मीना उप्रेती महिलाहरूको मोटोपनलाई स्वास्थ्यसँग भन्दा पनि सुन्दरतासँग जोडेर हेरिनु गलत भएको बताउँछिन् । भन्छिन्, ‘पुरुष मोटो छ भने त्यहाँ स्वास्थ्यको कुरा आउँछ । तर, महिला मोटी छे भने त्यहाँ उसको सुन्दरताको कुरा आउँछ । मोटी महिलालाई सुन्दर नठान्नु हामीले स्थापना गरेको खराब सौन्दर्य दृष्टिकोण हो ।’

बिहेमा बाधा
ललितपुर, ग्वार्कोकी २७ वर्षिया प्रियंका थापालाई आफ्नो ८४ केजीको तौल निकै भारी भएको छ । उनलाई लाग्छ– शरीर मोटो भएकै कारण उनलाई कसैले मन पराउँदैन । भन्छिन्, ‘कलेज पढ्दा सबैका ब्वाइफ्रेन्ड हुन्थे । म चाहिँ उनीहरूको खबर र चिठी आदानप्रदान गर्ने सहयोगीजस्ती हुन्थेँ । अहिले घरमा बिहेको कुरा चलेको दुई वर्ष भइसक्यो । चारजना केटा हेर्न आइसके । सबैले उस्तै जवाफ दिन्छन्, ‘केटी मोटी भई ।’ दुब्लो हुनलाई एक टाइम खाना खाँदिनँ । त्यही पनि शरीर जस्ताको तस्तै । अब मैले के गरौँ ? ’ प्रियंकाजस्तै थुप्रै मोटी महिलाले खेप्नुपरेको समस्या हो यो । समाजशास्त्री डा. उप्रेती बिहे नुहनु मोटी महिलाको ठूलो समस्या भइरहेको बताउँछिन् । ‘मोटी महिलालाई सबैभन्दा ठूलो असर बिहेमा परिरहेको छ । त्यसैले कतिपय मोटी महिला समाजमा बिहे नगरीकन बसेको अवस्था छ,’ उनले भनिन् ।

‘लास्ट सिटमा जानुस्’
सार्वजनिक यातायातमा यात्रा गर्ने मोटी महिलामाथि कस्तो व्यवहार गरिन्छ ? यसको जवाफ खोज्न राजधानीका माइक्रो र बस चढे पुग्छ । ललितपुर, कुपण्डोलकी ममता शिवाकोटी भृकुटीमण्डपअगाडि गाडी कुरिरहेकी थिइन् । ‘कोही गाडी रोक्दै–रोक्दैनन्, कोही चढाउँदै–चढाउँदैनन्,’ उनले आफू मोटी भएकै कारण बेहोर्नुपरेको पीडा सुनाइन्, ‘गाडीमा चढ्दा पनि कन्डक्टरले ठूलठूलो स्वरमा ‘तपाईं लास्ट सिटमा जानुस्’ भन्दै पछाडि पठाउँछन् । सुरुसुरुमा त निकै रिस उठ्थ्यो । झगडा पनि गर्थें । अहिले त यिनीहरू यस्तै हुन् भनेर मन बुझाउँछु ।’ यता काठमाडौँ, सीतापाइलाकी  रिना महतारा सार्वजनिक यातायातमा भोग्नुपरेको पीडा सहन नसकेर स्कुटीमा हिँड्न थालेको बताउँछिन् । आफ्नो तौल ८८ केजी रहेको बताउँदै उनले भनिन्, ‘कन्डक्टरको गनगन र अन्याय सहन नसकेरै बुबालाई जबर्जस्ती स्कुटी किन्न लगाएँ,’ उनले भनिन् ।
भनेजस्तो कपडा पाइँदैन
काठमाडौँ, जोरपाटी बस्ने जिना शेर्पालाई पनि आफ्ना साथीहरूजस्तै फेसनेबल भएर हिँड्न मन लाग्छ । तर, मोटो शरीरका कारण उनको रहर पूरा हुँदैन । उनलाई फिट हुने खालका भनेजस्ता कपडा बजारमा पाउनै मुस्किल पर्छ । ‘जस्तो पाइन्छ, त्यस्तैमा चित्त बुझाउनुपर्छ,’ उनले भनिन्, ‘महँगो दाम तिरेर बुटिकमा बनाउन लाउनुपर्छ । फेसनप्रेमी भएर मात्र हुँदैन, शरीरले पनि साथ दिनुपर्दोरैछ ।’
८० केजी तौलकी ३० वर्षीया सावित्री सुनीता ढुंगानाले त आफू सुहाउँदो कपडा नपाएको झोकमा बुटिक नै खोलेकी छिन् । ट्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्टकी सञ्चालकसमेत रहेकी उनले भनिन्, ‘हामी मोटी महिलाका लागि खासै लुगाहरू पाइँदैन । बजारमा पाइने जस्तोपायो त्यस्तै लुगा हामीलाई सुहाउँदा पनि सुहाउँदैन । रेडिमेड त झन् हाम्रा लागि हुँदै हुँदैन । बुटिक पिस नै हाम्रो लागि उपयुक्त हुने भएकाले मैले बुटिक खोलेँ । आफूले भनेको जस्तो लगाउन पनि पाइने, व्यापार पनि हुने ।’  

‘हाम्रो चाहिँ नाम हुन्न र ?’
मोटो शरीर भएका अधिकांश महिलालाई ‘हात्ती’ र ‘हिप्पो’को उपनाम दिइन्छ । कमिक्स जगत्मा ‘मिस मोटी’ पात्र जन्माएर चर्चा बटुलेकी काठमाडौँ, बागबजारकी कृपा जोशी शरीरलाई हेरेर गरिने यस्ता जुनसुकै टिप्पणी गलत रहेको बताउँछिन् । ‘हिप्पो उसको मोटोपनलाई लिएर चिन्तित हुँदैन तर मान्छे ‘एज फ्याट एज अ हिप्पो’ भन्दै उसको नाम लिएर मोटो मान्छेहरूको खिल्ली उडाउँछ,’ उनी भन्छिन्, ‘यो त सरासर गलत हो । बाल्यावस्थादेखि नै मान्छेको दिमागमा यसरी शरीरमाथि गरिने टिप्पणी गलत हो भनेर बुझाउनुपर्छ ।’
भक्तपुर, गट्ठाघरकी प्रिया लिम्बूलाई स्कुल पढ्दादेखि नै साथीभाइ र सरहरू सबैले ‘मोटी’ भनेर बोलाउँथे । अहिले उनी स्नातक पढिरहेकी छिन् । र, उनको यो उपनाम अहिले पनि कायमै छ । ‘यसरी मोटी–मोटी भन्दा साह्रै चित्त दुख्छ,’ उनी भन्छिन्, ‘केही खायो भने पनि ‘धेरै नखा, मोटी मान्छे झन मोटाउँछेस’ भन्छन् । नोट सार्न दिनुप¥यो भने पनि ‘ओई मोटी ला’ भन्छन् । जे गर्दा पनि ‘ओई मोटी !’ । हाम्रो चाहिँ नाम हुन्न र ?’

काम पाउनै गाह्रो
ललितपुर, जावलाखेलकी सुनिता श्रेष्ठलाई मोटोपन यतिसम्म भारी भइसक्यो कि उनले जागिर नै पाइरहेकी छैनन् । ‘काम खोज्न धेरै ठाउँ गइयो,’ उनले गुनासो पोखिन्, ‘धेरै मोटी भएको भन्दै काममा राख्न अनकनाए । मोटी भएपछि घरमा त समस्या थियो–थियो । अब त पढाइको सर्टिफिकेटसम्म बिक्न छाड्यो ।’

जताततै मजाक
मनोरञ्जन जगत्मा मोटी महिलाहरूलाई हाँसोका पात्रका रूपमा प्रस्तुत गरिन्छ । विश्वमा तौल बढी भएका थुप्रै मोटा कलाकार सफल भएका उदाहरण छन् । तर, हास्यव्यंग्यमाफर्त मोटी  महिलाहरूको जताततै मजाक उडाइएको हुन्छ । हाल भारतमा ‘कमेडी नाइट्स बचाओ’ नामक कमेडी सो चलाइरहेकी चर्चित कमेडियन भारती सिंहलाई यस्तै एक उदाहरणका रूपमा लिन सकिन्छ । उनको मोटो शरीरको सधैँ मजाक गरिएको हुन्छ ।
हाल प्रसारण बन्द भइसकेको हास्य सिरियल ‘जिरे खुर्सानी’मा एकजना पात्र थिइन्, हात्ती । धेरैलाई त त्यो चरित्र निर्वाह गर्ने कलाकारको नाम अंशु महर्जन हो भन्नेसम्म थाहा थिएन । सिरियलमा पनि उनको मोटो शरीरलाई खूब मजाक उडाइन्थ्यो । रोचक कुरा त के भने पात्रको नाम ‘हात्ती’ जुराएको पनि उनी स्वयंले रहेछिन् ।
पे्ररणादायी ‘मिस मोटी’
कमिक पात्र ‘मिस मोटी’ जन्माएपछि एकाएक चर्चामा आएको नाम हो, कृपा जोशी (३८) । जीउडाल ठूलो भएकी एक पात्रको सहायताले उनले ‘मोटोपन समस्या होइन’ भन्ने प्रमाणित गर्न खोजिरहेकी छिन् । अहिले उनी थुप्रै मोटी महिलाका लागि प्रेरणाको स्रोत बनेकी छिन् । उनी यतिबेला ‘मन्डे मोटिभेसन’ शीर्षकमा फेसबुक, ट्वीटर र इन्स्टाग्राममा हप्तैपिच्छे मोटी महिलाका लागि भनेर प्रेरणादायी चित्र पोस्ट गर्छिन् । उनको कमिक बुकको पात्र ‘मिस मोटी’ अहिले धेरैका लागि प्रेरणादायी बनेको छ । ‘मिस मोटीलाई मैले यस्तो पात्रको रूपमा उभ्याएकी छु, जो मोटी भए पनि उनको मोटोपनले विचारको सौन्दर्यमा कमी आउन दिँदैन, शारीरिक सक्रियतामा पनि कुनै बाधा पुगेको हुँदैन,’ कृपाले भनिन्, ‘खासमा म महिलावादी हुन्छु भनेर यो सब गरेको होइन । मैले म आफू पनि सानैदेखि मोटी महसुस गर्ने भएकाले आफूलाई नै मोटिभेट गर्न यो सब गरिरहेको थिएँ । अहिले यही कुरा सबैका लागि प्रेरणादायी भइरहेकोमा खुशी लागिरहेको छ ।’
‘मोटी हुनुमा गर्व छ’
सावित्री सुनीता ढुंगाना

व्यवसायी

म जन्मिँदा नै साढे चार किलोको थिएँ रे । घरमा तेल लगाउन आउने दिदी पनि मेरो ज्यान देखेर दंग पर्नुहुन्थ्यो रे । ‘यो नानीको ज्यान सधँै यस्तै रहिरहोस्’ भनेर आशीर्वाद दिएको कुरा बेलाबेलामा आमाले सुनाउनुहुन्थ्यो । त्यही दिदीको आशीर्वाद लागेको होला ! अहिले म ३० वर्षकी भएँ, मेरो वजन ८० किलो छ ।
स्कुलमा हुँदा पनि म ‘मोटी’ र ‘मोटु’को नामले प्रख्यात थिएँ । ‘मोटी’ भन्दा हेपेर भनेको जस्तो लाग्थ्यो । ‘मोटु’ भन्दा माया गरेर भनेको जस्तो लाग्थ्यो । सानो कक्षामा हुँदा त मोटीहरूलाई ‘क्युट’ मानिन्थ्यो । सर र मिसहरूले पनि अरूलाई भन्दा बढी माया गर्नुहुन्थ्यो । ठूलो भएपछि त्यस्तो नहुने रहेछ ।
म आफूलाई मोटी ठान्दिनँ । कसैले ‘कस्तो मोटी केटी’ भनेपछि मात्रै आफू मोटी रहेछु भन्ने भान हुन्छ । मोटो हुनुमा मलाई गर्व छ । तर, कहिलेकाहीँ आफूलाई मन परेका लुगाहरू मोटी भएकै कारणले लगाउन नपाउँदा भने दिक्क लाग्छ ।
म प्रायः स्कुटरमा हिँड्छु । कहिलेकाहीँ सार्वजनिक गाडीमा पनि हिँडिन्छ । त्यो बेलामा दुईजनाको सिट एकैजनाले ओगट्छ भनेर कसैकसैले सुनाउँछन् । त्यो बेला म चुप लागेर बस्दिनँ । उनीहरूसँग बाझ्छु ।
म बुटिक व्यवसायमा छु । आफूले भनेको जस्तो लगाउन पनि पाइयो । व्यापार पनि भयो ।
ज्यान घटाउन मैले कोसिस नगरेको होइन । योग गरँे, जिम गएँ । सोना बेल्ट भन्ने हुँदो रहेछ, त्यो पनि लगाएँ । एक महिनामा नौ हजार पर्ने ट्याब्लेट पनि खाएँ । तर, मेरो मोटोपन घटेन ।
मोटो मान्छे अल्छी र रोगको भारी हुन्छ भन्ने विश्वास गर्दिनँ । उमेर बढ्दै गएपछि केही रोग लाग्ला कि भन्ने डरले केही सावधानी भने अपनाएकी छु ।
कृपा जोशी
इलस्ट्रेटर÷कमिक आर्टिस्ट तथा ‘मिस मोटी’ की रचयिता
 
‘मोटोपन दिमागको पनि कुरा हो’

मोटी नहुँदा पनि म आफूलाई सानैदेखि मोटी ठान्थेँ । स्कुल पढ्दाताका मलाई साथीहरू ‘मोटी, मोटी’ भन्दै बोलाउँथे । कता–कता मन दुख्थ्यो । म ६५ केजीको हुँदा पनि आफूलाई मोटी नै ठान्थेँ । अहिले ८५ केजीको छु र ६५ मात्र भइदिए हुन्थ्यो भन्ने लाग्छ । त्यसैले मेरो विचारमा मोटोपन भनेको खालि शरीरको मात्र कुरा होइन, यो दिमागको पनि कुरा हो ।
मेरा भोगाइहरूले मलाई मोटीहरूको पक्षमा वकालत गर्ने उत्प्रेरणा दिएको हो । मैले भारत, गुजरातको महाराजा सायाजीराव युनिभर्सिटी अफ बरोदाबाट चित्रकलामा स्नातक गर्दाताका नै अलिअलि यसमा काम गरिरहेकै थिएँ । लन्डन पुगेपछि मैले कमिक्सको स्कोपमाथि अध्ययन गरिरहेको थिएँ । हामीकहाँ कमिक्स बच्चाका लागि मात्र हो भन्ने धारणा थियो । त्यहाँ पुगेपछि मैले थाहा पाएँ, ‘कमिक्स भनेको त माध्यममात्र रहेछ, यसमार्फत जस्तोसुकै कथा भन्न र सन्देश प्रवाह गर्न सकिने रहेछ ।’ र, मैले ‘मिस मोटी’ भन्ने क्यारेक्टर जन्माएँ । यसमार्फत मोटी महिलालाई बलियो, सक्रिय र शक्तिशाली महिलाका रूपमा उभ्याउन थालेकी हुँ ।
वास्तविकतालाई नै परिवर्तन गर्ने कल्पना गर्छे ‘मिस मोटी’ । ऊ । खासमा ऊ यस्ती महिलाका रूपमा चिनिएकी छे, जो मोटी महिलाले गर्न सक्दैनन् भन्ने काम गरेर देखाइरहेकी हुन्छे । ‘मिस मोटी’को कमिक्सले थुप्रै मोटी महिलालाई प्रेरणा दिएको पाएकी छु ।
मान्छेहरू अरूको शरीरलाई जनावरसँग दाँजेर विभिन्न टिप्पणी गर्छन् । ‘फ्याट एज अ हिप्पो’, ‘ओल्ड एज अ काउ’ भन्दै टिप्पणी गर्छन् । तर, जनावर आफैँलाई त ‘म कस्तो देखिन्छु’ भन्ने कुराको चिन्ता हुँदैन । खासमा यो गलत हो । मान्छेहरू आफूलाई उनीहरूसँग दाँजेर बेकारमा दुःखी हुने मात्र हो ।

अहिले मैले सामाजिक सञ्जालमार्फत साप्ताहिक सिरिज ‘मोटिभेसन मन्डे’ सुरु गरेकी छुँ ।  म आफूलाई मोटिभेट गर्न यो सब गरिरहेकी छु । र, यसले अहिले आम महिलालाई प्रभावित पारेकोमा खुशी छु । मेरा सिर्जनाहरूले विभिन्न परिस्थितिसँग सामना गर्न मलाई सजिलो बनाइरहेका छन् । 

त्यस्तै, फिल्म र सिरियलमा पनि मोटी महिलालाई सधैँ नकारात्मक रूपमा प्रस्तुत गरिन्छ । अरूलाई हँसाउन उनीहरूलाई मजाकको पात्र बनाइएको हुन्छ । ‘सरी फिगर’ र निराश मान्छेका रूपमा प्रस्तुत गरिन्छ । यो ठीक होइन । खासमा मोटी महिलाहरू आफ्नो बलियो प्रतिनिधित्व चाहन्छन् । उनीहरूलाई फिल्म र टीभीले कमजोरभन्दा पनि बलियो बनाएर प्रस्तुत गरून् भन्ने चाहन्छन् ।

खासमा यो ‘बडी इमेज’ भनेको महिला या पुरुषको मात्र विषय होइन । यो मोटोपनको विषय मात्र पनि होइन । अरूले राम्रो भन्यो भने खुशी हुनु, नराम्रो भन्यो भने निराश हुनु राम्रो होइन । पातला मान्छेहरू पनि आफ्नो शरीरसँग खुशी छैनन् । कसैलाई आफ्ना हात, कसैलाई खुट्टा, कसैलाई नाक, कसैलाई कपाल मन पर्दैन । ‘बडी इमेज’ले हरेक मान्छेलाई असर गरिरहेको छ, चाहे उ जस्तोसुकै होस् ।

पोखरामा भएको लिट्रेचर फेस्टिभलमा मेरो सेसन थियो– ‘मिस मोटी’ । मोटी महिलाहरूले ‘मिस मोटी’बाट प्रभावित भएको प्रतिक्रिया दिए । एकजना महिलाले त ‘कृपा जोशीको कुरा सुनेपछि मेरो बुबाले मलाई मोटी भन्न छाड्नुभयो’ भनेर ट्वीट नै गर्नुभएको थियो ।
मोटी भएकोमा चिन्ता गर्नेहरूलाई म के भन्छु भने सुरुमा तपाईं खासमा मोटी हुनुहुन्छ कि हुनुहुन्न ? त्यो पत्ता लगाउनुस् । यदि तपार्इंको शरीरले तपाईंले गर्न खोजिरहेको काममा रोक लगाइरहेको छैन भने तपार्इंले चिन्ता गरिरहनुपर्ने आवश्यकता छैन । आफ्नो शरीरलाई बोझ मानेर होइन, माया गरेर व्यायाम गर्नुहोस् । ‘शरीरले मेरा लागि यति धेरै ग¥यो, अब म यसलाई स्वस्थ बनाउनका लागि व्यायाम गर्छु’ भनेर गर्नुस् । मलाई थाहा छ, यो भन्न सजिलो छ । तर, संघर्ष गर्दा गाह्रो अवश्य हुन्छ ।
मोटोपन कसरी पत्ता लगाउने ?
–डा. ओम मूर्ति अनिल, मुटुरोग विशेषज्ञ
तपाईं धेरै खानुहुन्छ र पर्याप्त शारीरिक गतिविधि गर्नुहुन्न भने खानाबाट प्राप्त क्यालोरी खर्च नभएर बोसोको रूपमा शरीरमा जम्मा हुन थाल्छ । यस्तो भएमा तपाईं मोटो हुन थाल्नुहुन्छ । मोटोपन धेरै रोगको कारण बन्न  सक्छ ।
 
बडी मास इन्डेक्स (बीएमआई)
 बीएमआई एक यस्तो अंक हो, जुन मानिसको वजन र उचाइबाट निकालिन्छ । यो मोटोपन पत्ता लगाउने एउटा भरपर्दो मापदण्ड हो । बीएमआई २५ भन्दा बढी भएको व्यक्तिलाई मुटु र रक्तनलीसम्बन्धी रोगहरू लाग्ने खतरा हुन्छ । जस्तै, ६५ किलोग्राम तौल भएको र १ दशमलव ६५ मिटर उचाइ भएको व्यक्तिको बीएमआई निकाल्दा ६५÷१.६५ गुणा १.६५ बराबर २३.९० हुन्छ ।
तौल ठीक भए÷नभएको पत्ता लगाउन आफ्नो उचाइ (सेमी) बाट १०० घटाउनुहोस् । १६५ सेमी उचाइ भएको मानिसको तौल ६५ किलोग्रामभन्दा कम हुनुपर्छ ।

मोटोपन भएमा ध्यान दिनुपर्ने कुरा
–प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुहोस् ।
–प्रतिदिन हिँडाइमा १० देखि २५ प्रतिशतसम्म बढाएर बढी क्यालोरी खर्च गर्नुहोस् ।
–मोटोपना भएमा प्रतिमहिना एक किलोको दरले तौल घटाउने योजना बनाउनुहोस् ।
–एक वर्षमा १० किलोभन्दा बढी तौल घटाउनु हुँदैन ।
–चिल्लो र गुलियो खाना कम खानुहोस् ।
–फलफूल र सागसब्जी बढी खानुहोस् ।

मोटोपन र यौनजीवन
ठूलो भूँडी भएका मानिसको यौन जीवन त्यति सुखद नहुन सक्छ । पेटमा औसतभन्दा बेसी बोसो जम्मा भयो भने यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन उत्सर्जन हुने क्रमलाई कम गरिदिन्छ । पुरुषमा यौन उत्तेजना जगाउने यो हार्मोनको उत्सर्जन कम भएपछि यौनप्रतिको अभिरुचि कम हुँदै जान्छ । महिलामा पनि मोटोपनका कारण यौन अभिरुचि कम हुँदै जाने बताइन्छ ।

मोटीहरूको सौन्दर्य प्रतियोगितासौन्दर्य प्रतियोगिता भन्नासाथ ‘स्लिम एन्ड ट्रिम’ युवतीहरू ¥याम्पमा हिँडेको चित्र हाम्रो दिमागमा कोरिन्छ । तर, गत वर्षको मेमा ब्राजिलमा आयोजता गरिएको एउटा ‘ब्युटी पेजेन्ट’ले सुन्दर युवतीहरूको मापदण्डमाथि धावा बोल्यो । स्लिम युवती मात्रै सुन्दर हुन्छन् भन्ने मान्यतालाई खारेज गर्न सो प्रतियोगितामा कम्तीमा ८० केजी तौल भएका महिलाले मात्र सहभागी हुन पाउने कडा मापदण्ड तोकियो ।
गत वर्ष मेमा आयोजना भएको सो प्रतियोगिताको नाम थियो, ‘मोस्ट फ्याट ब्युटिफुल गर्ल’ अर्थात् सर्वाधिक सुन्दर मोटी महिला । मोटो हुनुलाई कमजोरी सम्झिने र मोटो भएकै कारण आत्मविश्वास गुमाई सकेसम्म निजी जीवनमै सीमित हुने महिलाहरूलाई सो प्रतियोगिताले संसारसामु प्रस्तुत हुन बल प्रदान ग¥यो । प्रतियोगितामा न्यूनतम ८० केजी वजन भएका ३५ महिलाले भाग लिएका थिए । सो सुन्दरी प्रतियोगिताको समाचार बनाउन विभिन्न देशका सञ्चारकर्मी ब्राजिलको शहर रियो दे जानिरो पुगेका थिए ।

प्रतियोगीहरूको व्यक्तित्व, सहजपन, उनीहरूको शरीरको आकार र शारीरिक सुन्दरतालाई चार प्रमुख आधार बनाउने र यसैका आधारमा विजेताको चुनाउ गर्ने व्यवस्था गरिएको थियो । प्रतियोगीलाई दुई भागमा विभाजन गरिएको थियो, १८ देखि ३५ वर्षका युवतीहरूको एउटा भाग र ३६ वर्षदेखि ५५ वर्षसम्मका महिलाहरूको अर्को भाग । उनीहरूलाई स्विमिङ कस्ट्युम लगाएर ¥याम्पमा उतारिएको थियो । साथै, उनीहरूलाई नृत्य गर्न पनि लगाइएको थियो । यस क्रममा उनीहरूका हाउभाउ, आत्मविश्वास आदिलाई पनि निर्णायक मण्डलले ध्यानमा राखेको थियो ।
१८ देखि ३५ वर्ष उमेर समूहका महिलाहरूको प्रतियोगितामा २३ वर्षीया थाइस ओलिभेराले प्रथम भएर ताज पहिरिएकी थिइन् भने ३६ देखि ५५ वर्ष उमेर समूहका महिलाबीचको प्रतियोगितामा रोबर्टा अगस्टा विजेता बनेकी थिइन् ।

कार्यक्रम आयोजनाको व्यवस्थापनलगायत सबै काम ब्राजिलकी ‘प्लस–साइज’ मोडल क्लाउडिया फेरिराले गरेकी थिइन् । उनलाई फेसन उद्योगमा संलग्न अन्य मोटा महिलाले साथ दिएका थिए ।
‘शरीर मोटो भएकै कारण फेसन उद्योगमा आफूलाई सक्रिय गराउन मैले ठूलै संघर्ष गर्नुप¥यो । मोटोपन अभिशाप होइन, यो शरीरको आकार मात्रै हो । मोटो भएकैले विभिन्न  महिलाले आत्मविश्वास गुमाएको, निराश भएको देखेँ । यो कुराको अन्त्य हुनैपर्छ, सुन्दरताको मानक व्यक्तिको शरीरको आकार बन्नु हुँदैन भन्ने मान्यता स्थापित गर्न यो प्रतियोगिता आयोजना गरिएको हो,’ सञ्चारकर्मीसँग क्लाउडियाले त्यतिखेर भनेकी थिइन् । मोटी महिलाहरूको आत्मविश्वास बढाउन, मोटी महिलालाई हेर्ने समाजको दृष्टिकोणमा बदलाव ल्याउन र सुन्दरता जस्तोसुकै आकार भएका महिलामा पनि निहित हुन सक्छ भन्ने सत्य स्थापित गर्न गरिएको कार्यक्रममा ब्राजिलभरिका मोटी युवतीहरूले साथ दिएको उनले बताइन् ।

आफूहरूका निम्ति आयोजना गरिएको सौन्दर्य प्रतियोगितामा सहभागी मोडलहरू मख्ख थिए । ‘यो प्रतियोगिता हल्का उठेको हिपको नभई भीमकाय देखिने हिपको हो, सुलुत्त परेको जाँघको नभई बडेमानको तिघ्राको हो । स्तनको आकार भन्दा पनि यो प्रतियोगितामा पेटको आकार हेरियो । हाम्रा लागि आयोजना गरिएको यस्तो कार्यक्रममा सहभागी हुन पाउँदै आफ्नो शरीरप्रति अझ बढी प्रेम जागेको छ,’ थाइस ओलिभेराले त्यसबेला भनेकी थिइन् ।
३६ देखि ५५ वर्ष उमेर समूहका महिलाबीचको प्रतियोगितामा विजेता बनेर ताज पहिरिएकी रोबर्टा अगस्टा पेशेवर मोडल हुन् । उनी आफूलाई मोटीभन्दा पनि ‘राम्रोसँग फैलिएकी महिला’ भन्न रुचाउँछिन् । ‘मोटी भएकै कारण म डिप्रेसनको शिकार भएँ । औषधि पनि खानप¥यो । पछि गएर मैले आफ्नो शरीरको साइजलाई स्वीकार गरेँ र यसलाई सेलब्रेट गर्न थालेँ,’ उनले प्रतियोगितापछि भनेकी थिइन् ।

सुन्दरताको नापतौल
–युग पाठक

चर्चित फिल्म ‘क्याराभान’का हिरो थिन्ले ल्होन्डुपले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए– ‘एक दिन घुम्न आउने मान्छेलाई हिमाल राम्रो छ, तर हाम्रो लागि हिमाल त दुःख हो ।’ नेपालका धेरै कविका लागि हिमाल सुन्दरताको एउटा निरन्तर विम्ब हुने गरेको छ । हिमालको सुन्दरता वर्णन गरेर धेरै गीत र कविता लेखिएका छन् । थुप्रै संगीतमा हिमाल सुन्दरताको अनुपम नमुना बनेर अहिलेसम्म पनि गुञ्जिरहेकै छ । तर, ती गीत, कविताका रचनाकार, संगीतकारहरू हिमालमा हुर्किएका होइनन्, हिमाललाई परैबाट हेर्नेहरू हुन् । हिमाली जीवनको दुःख थिन्लेलाई थाहा छ । त्यसैले थिन्लेका लागि हिमाल दुःख हो ।
सुन्दरता त्यसैले निरपेक्ष चिज होइन । मान्छे सुन्दर लाग्नु वा नलाग्नुमा पनि सुन्दरतालाई हेर्ने दृष्टिकोणको कमाल चल्छ । गुलाबको फूलसँग कुनै पुरुषलाई तुलना गरिएको तपाईंलाई थाहा छ ? पाउजु बजाउँदै भान्छामा छुनुमुनु गर्ने कुनै पुरुषको कल्पना गर्न सक्नुहुन्छ ? गोरो, हिस्सी परेको, जिरो फिगर भएको पुरुषको खोजी भएको कुनै कुरा सुन्नुभएको छ ? सुन्दरी प्रतियोगितामा किन साइज जिरो भएकी, सिंगारपटार गरिएकी केटीको खोजी हुन्छ ? ह्यान्डसम प्रतियोगितामा किन ‘बडी बिल्डिङ’को प्रदर्शन हुन्छ ?
यी सबै चिज नारी र पुरुषको शक्ति सम्बन्धसँग सम्बन्धित छन् । सौन्दर्य चेतना, सुन्दर देख्ने वा नदेख्ने नजर सबै समाज व्यवस्थाले डिजाइन गरिदिएको छ । सौन्दर्यको चेतना सामान्यतः पुरुषको नजरबाट निर्माण गरिएको छ । धेरैलाई लाग्छ, सुन्दर लाग्ने वा नलाग्ने कुरा त मेरो व्यक्तिगत स्वादको कुरा हो । त्यसो हुँदै होइन । त्यसो हुन्थ्यो भने सुन्दरताका कुरा नारीको शरीरसँग मात्र जोडिने थिएन । केटी कस्ती हुनुपर्छ ? सुन्दर । केटा कस्तो हुनुपर्छ ? लायकको । यसको अर्थ हो, सुन्दरता नारीको शरीरमा पुरुषले खोज्ने तŒव हो । लायकपन अर्थात् शक्तिको कुरा पुरुषको व्यक्तित्वको मात्र हिस्सा बन्ने थिएन ।
मोटो हुनु वा नहुनुको शरीर वैज्ञानिक परिभाषा बेग्लै हुनसक्छ । स्वास्थ्यको दृष्टिले अथवा मेडिकल भाषामा मोटोपनको भिन्न अर्थ हुनसक्छ । तर, समाजले मोटोपन भएको पुरुष र नारीलाई हेर्ने र बयान गर्ने दृष्टिकोण बिलकुल फरक बान्कीमा निर्माण गरेको छ । त्यसो किन भयो त ? किनभने, समाजमा पुरुष र नारीबीचको सम्बन्ध जैविक वा वैवाहिक वा पारिवारिक खालको मात्र छैन । यो त शक्ति सम्बन्धको विषय हो । पुरुष शक्तिशाली र नारी शक्तिहीन हुनु, पुरुष सम्पत्तिको मालिक र नारी परनिर्भर हुनु वा पुरुष शासक र नारी शासित हुनुबाट शक्तिको हिसाबकिताब बनेको छ ।
मोटोपन भएकी नारी सुन्दर हो कि होइन ? यो प्रश्न सहज र जायज मानिन्छ । तर, मोटोपन भएको पुरुष सुन्दर हो कि होइन भन्ने प्रश्न नै नाजायज मानिन्छ । प्रश्न पनि आखिर समाजमा विद्यमान चेतनाले त बनाउने हो । पुरुष शासक वा शक्तिशाली भएकाले ऊ मोटो होस् वा जिरो फिगरको, उसको व्यक्तित्वमा फरक पर्दैन । यो भिन्नै कुरा हो कि उसको स्वास्थ्यमा फरक पर्न सक्छ । पुरुषको व्यक्तित्व नै उसको शक्ति र सौर्यका आधारमा निर्धारण गरिने हुनाले यो सवाल पुरुषको सवालै होइन । जब महिलाको प्रसंग आउँछ, मोटोपनको विषय पनि उसको व्यक्तित्वसँग सीधै जोडिएर आउँछ ।
त्यसैले कुरा सौन्दर्यको परिभाषाकै हो । बदल्नुपर्ने पनि परिभाषा नै हो । तर, शक्ति सम्बन्धले बनाएको परिभाषा शक्ति सम्बन्ध नै परिवर्तन नगरी बदलिँदैन । जिरो फिगर खोज्ने बजारले नारीलाई बिकाउ विम्बको रूपमा प्रयोग गर्छ । फिल्म होस् वा रंगमञ्च, गायन होस् वा मोडलिङ, बजारका विज्ञापन डिजाइनरहरू जिरो फिगरको खोजीमा हुन्छन् । पुरुषको दृष्टिकोणबाट सौन्दर्य खोज्ने जुन आँखा बजारले प्रयोग गरिरहेको छ, त्यो आँखाले नै व्यापक स्केलमा मोटोपन भएका महिलाविरुद्ध छद्मयुद्ध छेडिरहेको छ । यसको विरुद्ध ‘थर्ड वेभ फेमिनिजम’ (नारीवादको तेस्रो वेभ जो नारीवादको सबैभन्दा नयाँ प्रारूप हो) ले ‘फ्याट फेमिनिजम’ आन्दोलन पनि चलाएको छ । नारीहरूलाई आफ्नो शरीरसँग शान्ति स्थापना गर्न, आफ्नो शरीरको साइजमा गर्व गर्न यो आन्दोलनले प्रोत्साहन गरिरहेको छ ।
शरीरको साइजमा होइन, मान्छेको मानवीय व्यक्तित्वमा सौन्दर्य खोज्ने कुरा आजको विचार हो । बजारले जिरो फिगर खोज्छ, नग्नता खोज्छ, तर ती सबै खोजीहरू पुरुषको सौन्दर्यबोधलाई तुष्टि गर्नका लागि हुन् । नारीको सौन्दर्यबोधलाई पुरुषको शक्तिमा खोज्न लगाइन्छ । त्यसैले बदल्नुपर्ने शक्ति सम्बन्ध नै हो । मोटोपनको उपचार हुन पनि सक्छ, नहुन पनि सक्छ । मोटोपन गम्भीर रोगको कारण हुन पनि सक्छ, कसैका लागि नहुन पनि सक्छ । यी सवाल भिन्न सवाल हुन् र यसको उपचार औषधि विज्ञानले दिन्छ । तर, डाक्टरहरूले मोटोपनलाई कसरी हेर्छन् ? सौन्दर्यको उही पुरुषदृष्टिबाट ? यो चाहिँ उपचारकै क्रममा पनि चुनौतीपूर्ण हुनसक्छ ।
सौन्दर्य फगत एक नजरिया मात्रै हो । मान्छे जब मानवीय हुन्छ, मान्छे मान्छेबीचको सम्बन्धलाई जब स्वस्थ र प्रेमपूर्ण बनाइन्छ, सौन्दर्य त्यहाँ उजागर हुन्छ । शरिरको उचाइ, मोटाइ, रङ र आकारप्रकार त भ्रम मात्रै हुन् । संसार बदल्ने सपनाका अघिल्तिर सौन्दर्यका यी बासी विचारहरू काम लाग्लान् त ? हो, काम लाग्न सक्छन् । तर, मनोवैज्ञानिक विकार उत्पादन गर्न र मान्छेलाई निरन्तर मानसिक रोगी बनाउन काम लाग्न सक्छन् । गुलाब त्यतिबेला सुन्दर हुन्छ, जब यो प्रेम अभिव्यक्त गर्ने एक साधन बन्छ । अन्यथा, गुलाब फगत एक गुलाब मात्रै हो ।

Leave A Comment