ल्यापटप र डेस्कटपभन्दा तेज कम्प्युटर

शनिबार, ०७ फागुन २०७३, १२ : ०८ शुक्रवार , Kathmandu
ल्यापटप र डेस्कटपभन्दा तेज कम्प्युटर

वैज्ञानिकहरूले एक विशाल क्वान्टम कम्प्युटर तयार गर्नका लागि ब्लुप्रिन्ट तयार गरेका छन् । यसले कम्प्युटिङको दुनियामा क्रान्ति ल्याउने विश्वास गरिएको छ । विद्यमान क्वान्टम कम्प्युटरहरूको तुलनामा उक्त लार्ज स्केल क्वान्टम कम्प्युटरको क्षमता निकै विशाल हुनेछ ।
वैज्ञानिकहरूका अनुसार शक्तिशाली मेसिन निर्माण गर्नमा भोगिरहेको समस्या समाधान गर्नमा उनीहरू सफल भएका छन् । पछिल्लो पटक डिजाइन गरिएको क्वान्टम कम्प्युटर यति सूक्ष्म स्तरमा काम गर्न सक्छ कि त्यहाँ एउटा परमाणु नै एकै समयमा दुई ठाउँमा रहन सक्छ । एउटा पूर्ण रूपको क्वान्टम कम्प्युटरको प्रोटोटाइप तयार भइरहेको वैज्ञानिकहरूको भनाइ छ ।
प्राध्यापक विनफ्राइड हेनसिंगर ससेक्स युनिभर्सिटीका क्वान्टम टेक्नोलोजी गु्रपका प्रमुख हुन् र उनले यो अनुसन्धानको नेतृत्व गरिरहेका छन् । यो क्वान्टम कम्प्युटरको प्रयोगबाट जिन्दगी पूर्ण रूपमा बदलिनेछ,’ उनी भन्छन्, ‘हामीले सपनामा पनि कल्पना नगरेका काम यो कम्प्युटरबाट गर्न सकिनेछ । यसअघि पनि क्वान्टम कम्प्युटर तयार गरिएका भए पनि ती सबै कुनै सिद्धान्तको परीक्षणका लागि मात्र प्रयोग भएका थिए ।’
विद्यमान क्वान्टम कम्प्युटरको एउटा समस्या के हो भने ती कम्प्युटरमा हरेक परमाणुमा लेजरलाई फोकस गर्नुपर्छ । कम्प्युटर जति ठूलो हुन्छ, लेजरको संख्या पनि बढ्छ र यसले गल्ती हुने सम्भावना पनि बढी हुन्छ । तर, हेनसिङरको टोलीले परमाणुको अनुगमनका लागि फरक प्रविधि अपनाएको छ । उनीहरूले एक माइक्रोवेब फिल्ड तथा विद्युतको मद्दतले काम गर्ने आयोन ट्रयाप डिभाइस बनाएका छन् । यसबाट कम्प्युटिङको स्केल बढाउन सकिन्छ ।
आगामी दुई वर्षभित्र यो क्रान्तिकारी क्वान्टम कम्प्युटरको प्रोटोटाइप अर्थात् सुरुवाती वर्किङ मोडेल तयार गरिने उनले बताएका छन् । जसमा यो ब्लुप्रिन्टको सम्पूर्ण प्रविधिको प्रयोग गरिएको हुनेछ । यद्यपि, यो कम्प्युटर प्रविधिको निर्माण निकै महँगो हुने र अर्बौं रुपैयाँ लाग्न सक्ने हेनसिङरले बताएका छन् ।
साइन्स एड्भान्सेज जर्नलमा छापिएको शोध रिपोर्टमा वैज्ञानिकहरूले यो कम्प्युटर बनाउने अझै धेरै समय लाग्ने बताएका छन् ।

 

Leave A Comment