अन्जान–संगीत : ह्याट्रिक जोडी

शनिबार, ०७ फागुन २०७३, ११ : ५९ अनिल यादव , Kathmandu
अन्जान–संगीत : ह्याट्रिक जोडी

चरी लैजा समाचार...
फर्क दाजै बर्खा लायो...
गुराँस फुले हो रातै...

यी तीनटा गीतका बोल हुन् । यी तीनटा गीतका गायक अन्जानबाबु हुन् । अनि, यी तीनटै गीतका गीतकार र संगीतकार हुन्, सङ्गीत श्रोता । यो रोचक संयोग हो ।
नेपालको प्रतिष्ठित म्युजिक अवार्ड ‘हिट्स एफएम म्युजिक अवार्ड’ मा लगालग तीन वर्ष यी गीत सर्वाेत्कृष्ट लोकगीत घोषित भए । यी गीतका गायक अन्जानबाबु र गीतकार÷संगीतकार सङ्गीत श्रोताले ‘ह्याट्रिक’ गरे । अचेल उनीहरूलाई संगीतपारखीले ‘ह्याट्रिक जोडी’ भन्ने गरेका छन् ।
एउटै गायकले लगातार तीनटा अवार्ड पाउनु नौलो नहुन सक्छ । तर, तीनटै गीतका शब्द र संगीत पनि एकैजनाको हुनु निश्चय पनि अनौठो संयोग हो ।
चर्चित भनिने परिभाषा र कोटीमा यो जोडी पर्दैन । तर, संगीतमा उनीहरू सक्रिय हुन थालेको डेढ दशकभन्दा भइसक्यो । पर्वतको बाजुङस्थित एउटै गाउँमा हुर्किएका हुन्, संगीत र अन्जान ।

बाँच्ने आधार अर्कै
संगीतमा लाग्नेहरू भन्ने गर्छन्, ‘संगीत मेरो बाँच्ने आधार हो ।’ तर, यी दुईका बाँच्ने आधार अर्कै छन् । संगीतको मूल पेशा पत्रकारिता हो भने अन्जानको दालभात खाने बाटो वित्तीय संस्थाको जागिर हो ।
गीतकार सङ्गीत श्रोताको नामै रोचक छ । ‘संगीतप्रतिको मेरो अनुराग र प्रेमलाई अभिव्यक्त गर्नलाई मैले बच्चा बेलामा राखेको नाम हो यो,’ उनले आफ्नो नामको रहस्य खोले, ‘ ‘त्यतिबेला मेरो सपना थियो संगीत । स्कुल, गाउँ–घर जताततै गाउँथेँ । त्यही बेला मैले यो नाम राखेको थिएँ ।’

गाउँदेखि शहरसम्म सहयात्रा
अन्जान र सङ्गीतको दुवै गाउँको महेन्द्र शिखरी माध्यमिक विद्यालयमा पढ्थे । उनीहरूको संगीत सहकार्य त्यही बेलादेखि सुरु भएको हो । ‘हामी दुवै स्कुलमा गाउँथ्यौँ,’ अन्जानले भने ।

संगीतले एसएलसी दिएपछिका १० वर्ष गाउँमै बिताए । उनले गाउँमा मासिक पत्रिका निकाल्नेदेखि स्कुलमा पढाउनेसम्मको काम गरे । यता अन्जान संगीतमै भविष्य खोज्ने लक्ष्यसाथ २०६० सालमा काठमाडौँ आइपुगे । रेडियो नेपालमा स्वर परीक्षा पास गरे । २०६५ सालमा सङ्गीत पनि काठमाडौँ आइपुगे । उनको ‘म काठमाडौँ आइपुगेँ’ कवितासंग्रह प्रकाशित छ । कवि र लेखकका रूपमा उनको बलियो परिचय बनिसकेको छ ।  
अन्जान–सङ्गीतको गाउँदेखिको सहयात्रा अहिले शहरमा पनि कायमै छ । सङ्गीतले रचना गरेका गीत र संगीतलाई अन्जान भटाभट गाइरहेका छन् । ‘सङ्गीतका शब्दमा शक्ति हुन्छन्, चेतना हुन्छन्,‘ अन्जान भन्छन्, ‘त्यसैले म अन्त गीत खोज्न नै गएको छैन । उनीसँग यति धेरै गीत छन् कि तिनलाई गाउन सक्दा पनि पर्याप्त हुन्छ ।’ अन्जानले हालसम्म तीन दर्जनजति गीत गाएका छन् । जसमध्ये १० वटा सङ्गीतकै रचना हुन् ।
‘मेरा गीतहरू लोकलयमा आधारित हुन्छन्,’ सङ्गीत भन्छन्, ‘अहिले अवार्ड पाएका तीनटै गीत आजभन्दा आठ÷दश वर्षअघिका हुन् । मैले त्यतिबेला समाज, मान्छे र समयलाई जसरी बुझ्थेँ, त्यही कुरा गीतमा अभिव्यक्त छ । बजारमा आइरहेका मूलधारका गीतभन्दा फरक र अर्थपूर्ण छन् । यही कुराले अन्जानलाई छुन्छ होला र ऊ मेरा गीतहरू गाइरहन्छ ।’
 
किन भयो ह्याट्रिक ?

यता के के हुँदैछ, त्यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार...

तीन वर्षअघि हिट्स अवार्ड पाएको गीतको अंश हो यो । यो गीतमा नेपाली समाजको एउटा वर्गको दुःख अभिव्यक्त छ ।  सङ्गीतले २०६५ सालमा यो गीत लेखेका हुन् ।‘त्यतिबेला कोशी ब्यारेज खनिएर ठूलो बाढी आइरहेको थियो,‘ उनले सम्झिए, ‘हजारौँ मान्छे विस्थापित भइरहेका थिए, घरबारविहीन भइरहेका थिए । उनीहरूको दुःखको कथा मैले गीतमा अभिव्यक्त गरेको हुँ ।’ पुरस्कृत भएका अन्य दुई गीत ‘फर्क दाजै बर्खा लायो’ र ‘गुराँस फुले हो रातै’मा गरिखाने नेपालीको बाध्यता बाध्यता झल्किन्छ । यी दुइटै गीत सङ्गीतले २०५९ सालतिर लेखेका हुन् ।
उनी आफ्ना गीतलाई सरदर भन्न रुचाउँछन् । यी तीन गीत लगालग हिट्स अवार्डमा उत्कृष्ट हुनुको कारण के होला ? सङ्गीतसँग यसको प्रष्ट जवाफ छ, ‘हाम्रोजस्तो सरदर गीत त्यहाँ हिट हुनुको कारण सायद त्योभन्दा गतिलो गीत त्यो अवार्डमा सहभागी नभएर हो । गीत भनेको योभन्दा पनि राम्रो हुनुपथ्र्यो र हुनुपर्छ ।’

चर्चा किन हुँदैन ?
अन्जान–सङ्गीतका गीतमा चेतना हुन्छ, मान्छेका दुःखसुख हुन्छन् । मौलिकता हुन्छ । समाजको यथार्थ हुन्छ । तर, बजारमा उनीहरूको गीतको खासै चर्चा सुनिँदैन । प्रचारप्रसार पनि हुँदैन । किन ? अन्जान भन्छन्, ‘यी गीत त्यति चर्चित हुने स्तरका छैनन् । किनकि, जस्ता गीत बजारमा चर्चित भइरहेका छन्, त्यस्ता गीत होइनन् यी । त्यसैले यी गीतका चर्चा र प्रचार नहुनु स्वाभाविक हो । फेरि हामी आफ्ना गीत बजाइमाग्न रेडियोका ढोका–ढोका चहार्ने गर्दैनौँ ।’
अन्जान हाल चन्दन श्रेष्ठसँग संगीत सिकिरहेका छन् । घरमा रियाज पनि गरिरहेका छन् । सङ्गीत साहित्य र पत्रकारितामा व्यस्त छन् । भन्छन्, ‘फुर्सद हुँदा मात्र धुन सिर्जना गरिरहेको हुन्छु, गीत लेखिरहेको हुन्छु ।’

यसकारण मिल्छ ट्युनिङ

अन्जान र सङ्गीतको ट्युनिङ मिल्नुको एउटा कारण उनीहरू एउटै ठाउँको हुनु पनि होला । ‘तर, त्यति मात्र चाहिँ होइन,’ अन्जान भन्छन्, ‘हाम्रो विचार र भावना सबै मिल्छन् । गीतमार्फत हामीले अभिव्यक्त गर्न खोज्ने कुरा पनि एउटै भएकाले हाम्रो सहकार्य निरन्तर बढिरहेको हो ।’

सङ्गीत गीत गाउनुको एउटा सार्थकता हुनुपर्छ भन्ने चाहन्छन् । भन्छन्, ‘शब्द, धुन र गायकीमा आफ्नोपन हुनुपर्छ । जुन कुरा अन्जान पनि चाहन्छ ।’
गरिखाने र दुःखीका पक्षमा गाउने अन्जान र गीत लेख्ने तथा धुन भर्ने सङ्गीत आफूहरूको सहकार्य लामो समयसम्म रहनेमा विश्वस्त छन् । ‘गरिखानेका दुःखसुख गाउने र लेख्नेको ट्युनिङ त मिल्ने नै भयो,’ अन्जान भन्छन्, ‘ट्युनिङ मिलेपछि सहकार्य लामो जाने भयहाल्यो ।’

 

Leave A Comment