‘मेहनतले विजेता बनायो’

शनिबार, ०७ फागुन २०७३, ११ : ५५ गोपाल दाहाल , Kathmandu
‘मेहनतले विजेता बनायो’

मनीष साह,‘ह्यान्डराइटिङ’ विश्व च्याम्पयन
म सानैदेखि अक्षर राम्रा बनाउन खूब मेहनत गर्थें । त्यही मेहनतले म ह्यान्डराइटिङमा विश्व च्याम्पियन बन्न सकेँ ।
सुनसरीको भरौल–१, कालाबञ्जारस्थित सिद्धार्थ मेमोरियल इंग्लिस स्कुलमा कक्षा २ मा पढ्दा एक दिन सावित्रा रिजाल ढकाल मिसले मलाई ‘अक्षर राम्रा छन्, अझै मेहनत ग¥यो भने धेरै राम्रा हुन्छन्’ भनेर हौसला दिनुभयो । उहाँले त्यसो भनेपछि मेरो खुशीको सीमा रहेन । त्यसपछि दैनिक रूपमा अक्षर राम्रा बनाउन मेहनत गर्न थालेँ । अरूका राम्रा अक्षर देख्दा त्यस्तै बनाउँदै सार्ने गर्थें । अलि पछि कम्प्युटरको डिजाइनका अक्षर पनि हेरेर दुरुस्तै बनाउँथेँ । स्कुलमा मलाई सबैले राम्रा अक्षर छन् भनेर झनै हौसला थप्थे । यस्तो हौसलाले मेहनत गर्न जोश बढ्थ्यो ।
छ महिनाअघि धरानमा ‘ह्यान्डराइटिङ’ प्रतियोगिता भएको थाहा पाएपछि म पनि सहभागी भएँ । धरानमा २० विद्यालयका विद्यार्थीबाट म प्रथम भएको थिएँ । त्यसरी सबैतिरबाट छानिएका राम्रा अक्षरलाई काठमाडौँमा प्रतियोगितामा गराइयो । त्यसमा पनि उत्कृष्ट बनेपछि मेरा अक्षर ‘वल्र्ड ह्यान्डराइटिङ कम्पिटिसन’मा पठाइएको थियो । ५५ देशका विद्यार्थीले लेखेका राम्रा अक्षर बीचको प्रतिस्पर्धामा म विजेता बनेँ । अक्षरका तीन विधामा प्रथम छानिन्छ ।
प्रथम भएपछि गएको पुस महिनामा काठमाडौँबाट ‘तपाईंले जित्नुभयो ’ भनेर फोन आयो । सुरुमा त मलाई विश्वासै लागेन । हतार–हतार इन्टरनेटमा खोजेँ । खबर सही रहेछ । त्यसपछि आमाबुबालाई खुशी हुँदै खबर सुनाएँ । उहाँहरूले पनि पत्याउनुभएन । नेटमा मेरो नाम देखाएपछि मात्र विश्वास गर्नुभयो । ह्यान्डराइटिङ विजेता बनेपछि नगद दुई लाख रुपैयाँसहित प्रमाणपत्र पाएँ । अक्षर राम्रो बनाउन मैले मेहनत गरेको थिएँ । त्यो मेहनतले मेरा अक्षर त राम्रा भए नै पढाइलाई पनि सहयोग पुग्यो । मैले ८७.५ प्रतिशत ल्याएर एसएलसी पास गरेँ । अहिले इटहरीमा कक्षा ११ पढिरहेको छु । भविष्यमा चार्टर्ड अकाउन्टेन्ट बन्न चाहन्छु ।
मलाई सानो कक्षामा मिसले मेरो क्षमता नचिनाइदिएको भए मैले राम्रा अक्षर बनाउनेमा ध्यान दिन्न थिएँ जस्तो लाग्छ । उहाँले क्षमता चिनाइदिएकाले नै मैले मेहनत गरेँ । मैले जितेपछि अहिले स्कुल, गाविसलगायत विभिन्न संघ–संस्थाले सम्मान गरे र त्यसले अझै राम्रो गर्नुपर्छ भनेर जिम्मेवारी बढाएको जस्तो लाग्छ ।
भर्खर १८ वर्ष पुगेँ । अझै राम्रो गरेर पढाइ अगाडि बढाउने र यसरी नै जित्दै जाने मन छ । अभिभावक र शिक्षकहरूले सानैमा बालबालिकाको प्रतिभा चिनाइदिएर त्यसैमा प्रोत्साहन गर्नसके सबैले यसरी नै जीत हात पार्छन् जस्तो लाग्छ ।
 

 

Leave A Comment