‘लेखकहरूको ध्यान साहित्य होइन, पाठक सिर्जनामा छ’

शनिबार, ०७ फागुन २०७३, ११ : ४९ गोपाल दाहाल , Kathmandu
‘लेखकहरूको ध्यान साहित्य होइन, पाठक सिर्जनामा छ’

२०१४ सालमा प्रकाशित उन्यास ‘बसाइँ’ नेपाली साहित्यमा धेरै पढिएका किताबमध्ये एक हो । यसका लेखक लीलबहादुर क्षेत्री ८४ वर्षको उमेरमा पनि लेखनमा सक्रिय छन् । क्षत्रीसँग गोपाल दाहालले गरेको कुराकानीः

अहिले नयाँ के गरिरहनुभएको छ ?
नयाँ सिर्जनामा छरिएका बिस्कुन प्रकाशन भएको छ । केही न केही त गरिरहेकै हुन्छु । पहिला मञ्चन भएका केही नाटकका खेस्रा छन् । केही निबन्ध छन् । तिनलाई सँगाल्दै छु । तागत त्यति नभए पनि सिर्जनशील काम त गरिरहेकै छु ।

नेपालतिर कत्तिको आउजाउ छ ?
उमेर ८४ पुग्यो । उमेरले गर्दा धेरैतिर हिँड्न सकिँंदैन । असममै बसाइ छ ।  २०७२ सालमा जगदम्बा पुरस्कार लिन गएको थिएँ । त्यसपछि असममै छु ।

नेपालको साहित्यिक क्षेत्रमा पहिलाभन्दा के फरक पाउनुभयो ?
नेपालको साहित्यमा समय परिस्थितिअनुसार परिवर्तन आएको देख्छु । नयाँ–नयाँ शैली विकास भएका छन् । साहित्यमा यथेष्ट विकास भयो तर पाठकको कमी भएको देख्छु ।

पाठक बढेका छन् भनिन्छ त ।
पहिला यौनकथा, जासुसी उपन्यासहरू सामान्य मान्छेले पनि पढ्थे । अहिले पाठकहरूमा सचेतना आयो । गम्भीरता बढ्यो । साहित्यको गुणस्तर पनि बढ्यो । गुणस्तरीय साहित्य पढ्ने पाठक कम हुन्छन् । अर्को कुरा, लेखकहरू धेरै भए । उनीहरूमा किताब किनेर पढ्ने बानी छैन ।

समाजमा साहित्यको कस्तो प्रभाव हुन्छ ?
समाज र साहित्य एकअर्काका परिपूरक हुन् । समाज परिवर्तन भए साहित्य पनि त्यसैअनुसार परिवर्तन हुँदै जान्छ भने साहित्यले पनि समाज परिवर्तनमा भूमिका निर्वाह गर्छ ।

नयाँ पुस्ताका लेखकलाई के सुझाव दिनुहुन्छ ?
नयाँ पुस्ताका लेखकले किताब ‘क्रियसन’भन्दा पाठक क्रियसनमा ध्यान दिएको देख्छु । समाजको रुचि बदलिँदो छ । नयाँ पुस्ताले त्यसलाई बुझेर सिर्जनशील बन्नुपर्छ ।

भारतमा नेपाली साहित्यको अवस्था कस्तो छ ?
पहिला नेपाली साहित्य, संगीत क्षेत्रमा दार्जिलिङ, असम निकै अगाडि थिए । तर, अहिले पछि परे । नेपाली साहित्य विश्व साहित्य बन्दै गएको छ । तर, पहिला अगाडि रहेका असम, दार्जिलिङमा लेखकहरूको संख्या बढे पनि साहित्यको गुणस्तर बढ्न सकेन । अहिले किताब लेख्नु र छाप्नु मानौँ सजिलो काम भएको छ ।
    
पहिलाभन्दा स्तर खस्किनुको कारण के देख्नुहुन्छ ?
असमजस्तो ठाउँमा चाहिँ नेपाली भाषा बोल्न सक्ने तर लेख्न÷पढ्न नसक्ने धेरै छन् । किनकि, यहाँको शिक्षामा गोर्खाहरूले पाउनुपर्ने अधिकार पाएका छैनन् । नेपाली अक्षरै नचिनेपछि कसरी साहित्यको विकास गर्ने ? अर्को कुरा नयाँ पुस्तामा लगाव कम छ । पुराना पुस्ता ‘आउटडेटेड’ भए । मैले ५० वर्षअघि लेखेको ‘बसाइँ’ अहिलेको समय सन्दर्भसँग नमिल्न सक्छ । साहित्य पनि समयअनुसार फरक हुँदो रहेछ ।

फेरि अर्काे ‘बसाइँ’ जस्तै उपन्यास लेख्न मन छैन ?
मेरो दिमागमा ‘बसाइँ’भन्दा राम्रो उपन्यास छ । तर, त्यो पूरा गर्न मैले केही ठाउँको यात्रा गर्नुपर्छ । त्यसलाई पूरा गर्ने मेरो धोको छ । बाँकी जीवनमा पुराना पाण्डुलिपि सँगाल्ने र नयाँ उपन्यास सक्ने मन छ । ईश्वरसँग यी काम पूरा गर्न सकियोस् भनेर जीवन मागेको छु ।

 

Leave A Comment