‘देशमै केही गर्न सकिन्छ’

बिहिबार, ०५ फागुन २०७३, ०४ : ४१ शुक्रवार , Kathmandu
‘देशमै केही गर्न सकिन्छ’

जीतेन्द्र उपाध्याय, युवा वैज्ञानिक
मेरो जन्मस्थान सुदूरपश्चिमको अछाम हो । ३१ वर्षको भएँ । कैलालीको टीकापुरमा हुर्किएको हुँ, त्यहीँ अध्ययन पनि गरेँ । स्कुल पढ्दाताका म फस्टब्वाइ थिएँ । वीरेन्द्र विद्या मन्दिर स्कुलबाट एसएलसी दिएँ र काठमाडौँ, बालाजुको सिद्धार्थ वनस्थलीबाट आइएस्सी गरेँ । त्रिचन्द्र कलेजबाट माइक्रो बायोलोजीमा स्नातक गरेँ । स्नातक गरेपछि शिक्षा मन्त्रालयबाट दिइने छात्रवृत्तिमा विभिन्न देश गएर पढ्ने मौका पाएँ । तीन वर्ष रसिया, एकवर्ष बंगलादेश र पाँच वर्ष कोरियामा बसेँ । रसियाको मस्को स्टेट युनिभर्सिटी अफ एप्लाइड बायो टेक्नोलोजीमा फुड टेक्नोलोजी विषयमा एमएस्सी गरेँ । बंगलादेशको नर्दर्न युनिभर्सिटीबाट पब्लिक हेल्थ विषयमा स्नातकोत्तर गरेँ । साथै, कोरियाको चन्बुक नेसनल युनिभर्सिटीबाट फुड साइन्स एन्ड टेक्नोलोजिमा पीएचडी सकेँ ।
एसएलसीपछि सुदूरपश्चिममा कमै ठाउँमा साइन्स पढाइन्थ्यो । टीकापुरमा साइन्स छँदै थिएन । त्यसैले काठमाडौँँमा आएँ । आइएस्सी गरेपछि एमबीबीएस डाक्टर बन्ने इच्छा थियो । सफल भइएन । हाल नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटारमा रिसर्च फेलोको रूपमा कार्यरत छु ।
म अहिले सुदूरपश्चिममा पाइने विभिन्न प्रजातिका जंगली च्याउको अध्ययनमा लागिपरेको छु । सुदूरपश्चिमका जंगलमा के कति प्रजातिको च्याउ छन् ? खान योग्य छन् वा छैनन् ? तिनमा प्रोटिन, फ्याट, कार्बोहाइड्रेटको मात्रा कति छ ? भन्ने कुरा पत्ता लगाउनमा व्यस्त छु । सुदूरपश्चिममा ‘ग्यानोडर्मा’ अर्थात् रातो च्याउ पाइन्छ । त्यो निकै महँगो हुन्छ । ग्यानोडर्मा औषधिजन्य च्याउ हो । अन्तर्राष्ट्रिय बजारमा त्यसको मूल्य एक किलोको २०÷२५ हजार रुपैयाँ पर्छ । सरकारलाई यसको बारेमा थाहा छैन । हाम्रो अनुसन्धानले यस्ता च्याउबारे सरकारलाई जानकारी दिन सक्छ । सुदूरपश्चिममा च्याउको अध्ययन खासै भएको छैन । तर, च्याउको बजार दिनप्रतिदिन बढ्दै गइरहेको छ । नेपालमा आफैँले धान्न सक्ने च्याउको उत्पादन पनि छैन । स्वास्थ्यको दृष्टिकोणले पनि मासुभन्दा च्याउ निकै प्रभावकारी छ । यसबाहेक मैले ‘मेडिसनल प्लान्ट’को अध्ययनमा लाग्ने सोचसमेत बनाएको छु ।
पाँच÷सात वटा देश घुम्नका लागि पुगिसकेँ । सबै देशले व्यावहारिक शिक्षालाई जोड दिएको पाएको छु । हाम्रो देशमा भने अझै पनि सैद्धान्तिक शिक्षामै जोड दिएको पाइन्छ । तीन÷चार घण्टाको परीक्षा प्रणालीले मात्र मानिसको क्षमता जाँच गर्न सकिँदैन । नेपालमा अवसरको पनि खाँचो छ । त्यसैले युवाहरू विदेश पलायन भइरहेका छन् । कोरियाबाट पीएचडी गरेपछि धेरै युवाको गन्तव्य क्यानडा, अमेरिका, अस्ट्रेलिया वा युरोपलगायत देश हुन्छन् । मैले नेपाललाई आफ्नो गन्तव्य बनाएको छु । नेपाल नै मेरो गन्तव्य हो । म आफ्नै देशमा काम गर्न चाहन्छु । ‘पढेलेखेकाहरूको नेपालमा काम छैन’ भन्ने भ्रम चिर्न म नेपाल आएको हुँ । देशमा केही गर्न सकिन्छ भन्ने मेरो अटल मान्यता छ ।
 

 

Leave A Comment