पोषणले जुराएको प्रेम

बिहिबार, ०५ फागुन २०७३, ०३ : ५२ शुक्रवार , Kathmandu
पोषणले जुराएको प्रेम

–शिशिर वैद्य
‘शेरचन भन्ने के जात हो ? सुन्दै नसुनेको जातसँग पनि बिहे गर्ने ?’ २६ वर्षअघि बुबाले यस्तै भनेको सम्झिन्छिन्, रेनुका जोशी शेरचन ।
काठमाडौँमा अझै पनि बिहे गर्न लमी लगाउने, फोटो देखाउने, जातबिरादरी हेर्ने, देखभेट गराउने, चिना जुराउने चलन यथावत् नै छ । झन् ऊबेला नहुने कुरै भएन । ‘बाको पनि आफ्नी जेठी छोरीको बिहे धुमधानसँग आफ्नै जातको केटा खोजेर गर्ने इच्छा थियो,’ रेनुका सम्झिन्छन्, ‘मैले जातै नसुनेको केटासँग बिहे गर्छु भन्दा बाको मन खिन्न हुनु स्वाभाविक थियो ।’
पोषणविद् रेनुका जोशी र डेन्टल सर्जन राजेन्द्र शेरचन पाटन अस्पतालकै सामुदायिक स्वास्थ्य कार्यक्रममा सँगै काम गर्थे । राजेन्द्र त्यतिबेला सुपरभाइजर थिए भने रेनुका पोषण सहायक । एकै कार्यालय, एकै परियोजनामा सँगै काम गर्दागर्दै कतिखेर प्रेम बस्यो उनीहरूले थाहै पाएनन् । ‘ललितपुरका ग्रामीण बस्तीमा पोषणका विषयमा सिकाउन गइरहनुपथ्र्याे,’  राजेन्द्र भन्छन्, ‘सँगसँगै हिँड्दा चिनजान भयो । निकटता बढ्यो । प्रेमको अंकुर कतिखेर प्रष्फुटित भयो थाहै पाइएन ।’
एकअर्कालाई न प्रेम प्रस्ताव राखियो न चिठी दिइयो । चिनजान र निकटताको तीन वर्षसम्म पनि आफूहरू प्रेममा परेको पत्तै नपाएको रेनुका बताउँछिन् । ‘तर, बिहेअघिको एक वर्ष चाहिँ निकै रोमाञ्चक रह्यो,’ राजेन्द्र थप्छन्, ‘त्यो एक वर्ष हामीबीच ‘ओपन्ली लभ’ प¥यो ।’ कसैले पत्तो नपाएको प्रेम एकाएक बिहेमा परिवर्तित हुने खबर सुनेर कार्यालयका साथी हक्क न बक्क परेको उनी सुनाउँछन् ।
बिहेको कुरा छिन्न आफैँ गएको राजेन्द्र बताउँछन् । ‘ससुरासँग बिहेको कुरा गर्न आफैँ गएको थिएँ,’ उनी भन्छन्, ‘‘काठमाडौँमा एक्लै संघर्ष गरिरहेको मान्छे हो म । बिहे गर्ने निर्णय पनि मेरै हो । त्यसैले परिवारको आपत्ति र संस्कारको फरकपनलाई म मान्दिनँ । हजुरले चिन्ता लिनुपर्दैन’ भने हुनेवाला ससुरालाई ।’
हुनेवाला ज्वाइँबाट पहिलो भेटमै बुबा प्रभावित भएको रेनुका बताउँछिन् । ‘बुबाको रिस र आशंका पहिलो भेटमै शान्त भइहाल्यो । अनि, उहाँले बिहेको प्रस्ताव अस्वीकार गर्नुभएन,’ उनी भन्छिन् । सांस्कृतिक रूपमा आकाशजमिनको फरक भए पनि राजेन्द्रले बिहेमा कुनै कसर बाँकी नराखेको रेनुकाको भनाइ छ । ‘उहाँको घरबेटी आमाको सहयोगमा नेवारी संस्कारअनुसार गर्नुपर्ने सम्पूर्ण विधि पूरा गरेरै बिहे सम्पन्न भयो,’ रेनुका भन्छिन् ।
बिहेपछि जिम्मेवारी बढ्नु स्वाभाविक थियो । दुवैजना जीवन सुखमय बनाउन संघर्षमा तल्लीन रहे । जीवनमा संघर्ष गर्दागर्दै व्यक्तिगत सोख र इच्छा भनेको के हो ? भन्ने ठम्याउनै नपाएको बताउँछिन्, रेनुका । ‘थोरै हुँदा पनि रमाइलो नै थियो । अहिले पनि रमाइलै छ,’ उनी भन्छिन् ।
पारिवारिक रूपमा रीतिरिवाज र संस्कार फरक भए पनि युवा अवस्थादेखि नै समुदायका मानिससँग काम गरेकाले दुवै परिवारसँग मिलेर बस्न सकेको शेरचन दम्पतीको भनाइ छ । छोरा हुर्किंदै गर्दा आफू पढ्न जानु पर्दाको क्षण निकै कष्टपूर्ण लाग्छ राजेन्द्रलाई । अहिले शेरचन परिवारमा अर्को डाक्टर थपिएको छ । छोराले एमडीको तयारी गर्दै राजेन्द्र आफ्नो एमडी गर्ने अधुरो सपना सम्झिन्छन् । ‘बुढाबुढी दुवै काम गर्ने हुँदा परिवारै लथालिङ भएको देखेर मैले जागिर छोडेँ,’ रेनुका भन्छिन्, ‘केही संस्थामा कन्सल्ट्यान्टका रूपमा बेलाबेलामा जान्छु ।’
सामाजिक कार्यमा रुचि भएका राजेन्द्रले आफ्नो जन्मस्थल जोमसोममा  डेन्टल क्लिनिक खोलेका छन् । एकजना डेन्टलहाइजिन स्टाफलाई टे«निङ दिएर वर्षमा एक÷दुई पटक डेन्टल क्याम्प चलाउने गरेका छन् उनले । पोषणविद् रेनुका आफ्नो परिवारलाई पोषणयुक्त खाना ख्वाउँछिन् । नेपालमा कुपोषण बढ्नुको मुख्य कारण उनी ‘कसरी खाने ?’ भन्ने ज्ञान नहुनुलाई मान्छिन् ।
उमेरले ५५ वसन्त पारगरिसकेका राजेन्द्र अहिले पनि आफूलाई तन्नेरी नै ठान्छन् । २५ वर्षअघि प्रस्फुटित आफूहरू बीचको प्रेमले पाइरहेको निरन्तरता नै आफ्नो सम्बन्धको बलियो आधार रहेको उनको ठम्याइ छ । रेनुका भने एकअर्कामाथिको पूर्ण विश्वासलाई नै प्रेम भन्छिन् ।

तस्बिरः रुकेश श्रेष्ठ

 

Leave A Comment