‘कविताका पाठक प्रशस्तै छन्’ - कवि बिकु लामा

बिहिबार, ०६ जेठ २०७३, ०१ : ५६
‘कविताका पाठक प्रशस्तै छन्’ - कवि बिकु लामा

कवि बिकु लामाको नयाँ कवितासंग्रह ‘मृत्यु बिर्सिनेहरू’ हालसालै प्रकाशनमा आएको छ । यसअघि उनको ‘सोइनम’ निबन्धसंग्रह प्रकाशित छ । उनीसँग ‘शुक्रवार’का लागि प्रवीण बानियाँले गरेको कुराकानीः

‘कविताका पाठक प्रशस्तै छन्’

निबन्धसंग्रहलगत्तै कविताको पुस्तक प्रकाशित भयो, पाठकबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
राम्रै छ । समकालीन कवि साथीभाइले राम्रै प्रतिक्रिया दिए । पाठकबाट पनि उत्साहजनक प्रतिक्रिया पाइरहेको छु ।
कविता लेखनमा कसरी आकर्षित हुनुभयो ?


म क्षेत्रप्रताप अधिकारी, भूपि शेरचनका कविताबाट प्रभावित छु । उनीहरूकै कविताले मलाई कवितामा आकर्षित गरेको हो । अर्को कुरा, मलाई आत्मसन्तुष्टिका लागि पनि कविता लेख्न थालिएछ जस्तो लाग्छ । कवि बन्ने रहर वा व्यावसायिक सोचले म कविता लेखनमा आएको होइन ।
काठमाडौँमा रहेर कविताकर्ममा सक्रिय हुनुहुन्छ । मिडिया÷छापाले कस्तो ‘रेस्पोन्स’ गर्छन् ?
म मिडियाबाट छेलिएको छैन, ‘स्पटलाइट’मै छु जस्तो लाग्छ । मूलतः लेखनले नै मिडियामा ठाउँ लिने हो, कसैले दिने वा व्यक्तिगत पहुँचका भरमा लिने भन्ने होइन । यत्ति हो, यो मिडियाको समय भएकाले मिडियामा कुन कवि–लेखक कति छायो वा छाइरहेको छ भन्ने कुराले उनीहरूको लेखन र बजारलाई प्रभाव चाहिँ पारिरहेको हुन्छ ।
भन्नेहरू त कविता पढ्ने पाठकै छैनन्, कविताका पुस्तकै  बिक्दैनन् भन्छन् नि ! तपाईंको अनुभव चाहिँ कस्तो रह्यो ?
त्यसो होइन, कविताका पाठक प्रशस्तै छन् । हेरौँ न, यहाँ दिनहुँजसो कविता गोष्ठी–छलफल चल्छन्, कविताका पुस्तक विमोचन हुन्छन्, एकल वाचन हुन्छन्, यी सबै कविताकै पक्षमा भएका काम हुन् । र, हामीकहाँ कविताको बजारअनुसार पाठक पनि छन् । राम्रा कवि बजारमा चलेकै छन्, पुस्तक पनि बिकेकै छन् । कविता आख्यानजस्तो मारामार बिक्ने चिज होइन । हामीमा यो बुझाइ रहनुभएन ।
विषय र गुणका दृष्टिले हाम्रा कविता कहाँ छन् ? के यो सन्तोषजनक अवस्था हो ?
पछिल्लो समयको नेपाली कविताको धारलाई हेर्ने हो भने, यो सन्तोषजनक अवस्थामै छ । विषय र शैलीका हिसाबले पनि कविता समाज र त्यसको आवश्यकतासँग जोडिएको छ । यत्ति हो, भइरहेको अवस्थाबाट अरू नयाँ कुराको खोजी चाहिँ भइरहनुपर्छ । हामीकहाँ पनि त्यो भइरहेकै देख्छु ।
नेपाली लेखकमा पढ्ने बानी नै छैन भन्ने आरोप लागिरहन्छ । लेखक चाहिँ पाठकमा पठन संस्कृति छैन भनेर गुनासो गर्दै हिँड्छन् । लेखक यो आरोपबाट कहिले मुक्त हुने ?
पठन संस्कृति हुनु जरुरी छ । अध्ययन र कल्पनाशीलताबिना लेख्न सकिँदैन । त्यसमा पनि विषयगत रूपमा लेख्न गहिरो अध्ययन हुनु अपरिहार्य हुन्छ । जहाँसम्म नेपाली लेखकको सवाल छ, हाम्रा कवि–लेखकमा ‘जिम्मेवार लेखन’ नभएर हुनसक्छ । यदि लेखन संवेदनशील र जिम्मेवार बन्यो भने त्यसले स्वतः त्यो कुराको माग गर्छ । केवल एक थान पुस्तक लेख्ने अनि रातारात लेखक हुने सपना बोकेका कवि–लेखकको भीडले यो प्रश्न गर्ने ठाउँ दिएको हो । बजारमा पाठक खोज्नेले आफू पनि पाठक हुनुपर्छ, लेखक मात्रै भएर हुन्न ।
तपाईं कविताकर्मसँगै शैक्षिक अभियान (समाजसेवा) मा पनि लागेको मान्छे । समाजसेवा र कविताकर्मबीच कस्तो अन्तरसम्बन्ध छ ?
हो, म कविता लेखन र समाजसेवा दुवैमा समर्पित छु । यी दुवैमा मलाई आनन्द मिल्छ, मिलेको छ । लेखनमा  एकप्रकारको सन्तुष्टि हुन्छ, समाजसेवामा अर्कै । अभियानकै रूपमा गाउँ–गाउँका विद्यालयमा पुस्तकालय खोल्ने, अरू गतिविधि गर्ने काम अब त जिम्मेवारीजस्तै बनिसक्यो । जे होस्, यी दुवै सुन्दर कुरा हुन् ।

 

Leave A Comment