आइफोनको उत्पादन भारतमा

बिहिबार, ०५ फागुन २०७३, १२ : ३० शुक्रवार , Kathmandu
आइफोनको उत्पादन भारतमा

विश्वप्रसिद्ध मोबाइल कम्पनी एप्पलले आइफोनको उत्पादन भारतमा गर्ने भएको छ । भारतको उत्तरी राज्य कर्नाटकमा एप्पलले आइफोनको उत्पादन गर्ने कर्नाटक राज्य सरकारले बताएको छ । कर्नाटक राज्यको प्रविधि राजधानी बंैगलुरुमा यसै वर्षको अप्रिल महिनाबाट उत्पादन सुरु गर्ने कर्नाटकका सूचना प्रविधि तथा बायोटेक्नोलोजी मन्त्री प्रियंक खर्गेले समाचार संस्था एएफपीलाई बताए । उनले भने, ‘हामी र एप्पलबीच समझदारी भएको छ । उनीहरूले अप्रिलको अन्त्यबाट उत्पादन सुरु गर्ने कुरामा हामी विश्वस्त छौँ ।’
एप्पलले पनि आफूहरू भारतमा लगानी गर्न इच्छुक रहेको बताउँदै आधिकारिक निर्णय भने गर्न बाँकी रहेको बताएको छ । भारतमा एप्पल कम्पनीको फोन उत्पादन गर्नका लागि ताइवानी कम्पनी विस्ट्रन कर्पले उत्पादन प्लान्ट सेट गर्ने रिर्पोटहरूले बताएका छन् ।
एकदमै कम अनुपातमा बिक्रीवितरण भए पनि एप्पलको प्रिमियम फोनको आधाभन्दा ठूलो बजार छ । जसको सुरुवाती मूल्य ४ सय ५० डलरबाट हुन्छ । यसको बिक्री तीव्र गतिमा बढिरहेको छ ।
एप्पलको सबैभन्दा ठूलो उत्पादन साझेदारी ताइवानको ठूलो कम्पनी ‘फक्सकन’ हो । जसले चीनमा सबैभन्दा ठूलो आइफोन कारखाना सञ्चालन गर्छ । भारतको विदेशी कम्पनीलाई व्यापारिक गतिविधि गर्न विभिन्न नियम अपनाउनुपर्ने बाध्यताका कारण एप्पलले भारतमा तत्कालै आफ्नो ब्रान्डेड स्टोर खोल्न सक्दैन ।
भारतमा एप्पलले प्रत्यक्ष रूपमा भारतीय ग्राहकलाई आइफोन बेच्न सकेमा स्थानीय रूपमै आइफोनको ३० प्रतिशत हिस्सा ओगट्ने बताइएको छ । आइफोनले यस हप्ताको सुरुवातमा बताएअनुसार क्रिसमसपछि उसले पछिल्लो उत्पादन आइफोन सेभेन सबैभन्दा बढी बिक्री वितरण भएको बताएको छ ।
आइफोन चिनिया प्रतिद्वन्दीको उदयका कारण एक तिहाई बिक्री खस्केको पनि बताइएको छ । भारतमा आइफोन प्रयोगलाई सामाजिक स्तरको संकेतका रूपमा प्रयोग गर्ने गरिन्छ । तर, भारतमा आइफोन एकदमै महँगो छ ।
भारतमा १६ जीबी क्षमताको आइफोनको मूल्य १ सय ९४ डलरदेखि पछिल्लो आइफोन सेभेन प्लसको मूल्य १ हजार १ सय ६४ डलरसम्मका रहेको छ । आइफोनका प्रतिद्वन्दीहरूको बजार मूल्य भनेको सयदेखि १ सय २० डलरसम्म मात्रै पर्छ । भारतमै उत्पादन हुन थालेपछि आइफोनको मूल्य घट्ने अनुमान गरिएको छ । भारतमा एप्पलले सुरुमा एसेम्ब्लिङको कार्य गर्ने र पछि उत्पादन गर्ने मन्त्री खर्गेले बताए ।

Leave A Comment