ऋतिक–सुजेन : नाम नभएको सम्बन्ध

बिहिबार, ०५ फागुन २०७३, १२ : २७ शुक्रवार , Kathmandu
ऋतिक–सुजेन : नाम नभएको सम्बन्ध

सम्बन्ध विच्छेद भन्नासाथ धेरैले तिक्तताले भरिएको एउटा सम्बन्धलाई बुझ्छन् । सम्बन्ध बिग्रिएपछि सँगै बस्न नसकी छुट्टिएको जोडी ठान्छन् । बलिउडमा जोडीहरू जुट्ने र टुट्ने क्रम चलिरहन्छ । सम्बन्ध विच्छेद गर्ने थुप्रै जोडी छन् । जुटेर टुटेका जोडीमध्ये एक हो, ऋतिक रोशन र सुजेनको जोडी ।
लामो समयको प्रेम सम्बन्धपछि सन् २००० मा उनीहरूले लगनगाँठो कसेका थिए । उनीहरूका दुई छोरा छन्, रियान र रिदान । सन् २०१३ मा १३ वर्षको दाम्पत्य जीवन टुंग्याएर उनीहरूले छुट्टिने निर्णय गरे । बलिउडका राम्रा जोडीमा गनिइने उनीहरूको अलग्निे निर्णयले धेरैलाई अचम्ममा पारेको थियो । आपसी सहमतिमा उनीहरू छुट्टिए ।
अलग्एिपछि धेरै जोडीले एकअर्काको अनुहार हेर्नै रुचाउँदैनन् । झन् सेलिब्रिटीले त व्यक्तिगत रूपमा मात्र नभई सार्वजनिक रूपमा पनि एकअर्कालाई बेवास्ता गर्छन् । पानी बाराबार गर्छन् । तर, ऋतिक र सुजेनको जोडी पुरानो सोचभन्दा फरक देखिएको छ । उनीहरूको जोडीले पुरानो सोचलाई नै चुनौती दिएको छ ।
सम्बन्ध विच्छेदपछि पनि उनीहरू धेरै कार्यक्रममा सँगै देखिने गरेका छन् । पारपाचुके गरेको यो जोडी पार्टीमा होस् अथवा छोराहरूसँग बिदा मनाउँदै, सँगै देखिन्छ । आफ्नो सम्बन्धलाई उनीहरूले लुकाएका छैनन् । उनीहरू एकअर्कालाई भेट्छन् । सँगै रमाइलो गर्छन् । १० जनवरी, ऋतिकको जन्मदिनमा सुजेनले इन्स्टाग्राममा आफ्नो र ऋतिकको ठूलो फोटो पोस्ट गरेकी थिइन् । र, ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी थिइन् ।
यस्तै, ऋतिकको हालै रिलिज फिल्म ‘काबिल’ को स्क्रिनिङमा पनि सुजेन आएकी थिइन् । फिल्म हेरेपछि उनले ऋतिकको अभिनयको प्रशंसा पनि गरेकी थिइन् । ट्वीटरमा उनले आफू र ऋतिक साथी भएको कुरा प्रस्टै पारेकी छिन् । ‘ऋतिक र मेरो सम्बन्धको कुनै नाम छैन । जीवनसाथीका रूपमा हामी एकअर्कासँग छैनौँ । तर, हामी जीवनभर साथी भइरहनेछौँ । हामी राम्रा साथी हौँ,’ ट्वीट गर्दै सुजेनले लेखेकी थिइन्, ‘अहिले हामीले पहिलाभन्दा बढी कुराकानी गर्ने गरेका छौँ । छुट्टिए पनि आफ्ना छोराहरूका लागि हामी प्रतिबद्ध छौँ । हामी एकअर्काको सम्मान गर्छौं । बिग्रिएको सम्बन्धलाई पर राखेर हामी बच्चाहरूसँग रमाउँछौँ ।’
ऋतिक र कंगना रनोटबीच विवाद चलिरहँदा सुजेनले ऋतिकको पक्ष लिएकी थिइन् । खुलेर ऋतिकको साथ दिएकी थिइन् । कंगनालाई कानुनी सल्लाह दिने टिमले एउटा तस्बिर जारी गरेको थियो, जसमा ऋतिकले उनलाई अँगालो हालेका थिए । कंगना र ऋतिकको अफेयर चलेको कुरा यो तस्बिरले पुष्टि गर्ने उनीहरूको भनाइ थियो । तस्बिर जारी भएको भोलिपल्ट सुजेनले सामाजिक सञ्जालमा कंगना, ऋतिक र आफू भएको फोटो पोस्ट गरेकी थिइन् । कंगनाको लिगल टिमले जारी गरेको तस्बिरबारे ट्वीट गर्दै उनले लेखेकी थिइन्– ‘यो तस्बिर गलत हो । फोटोसप गरिएको छ ।’
सम्बन्ध जोड्दा र विच्छेद गरिसकेपछि पनि ऋतिक र सुजेनको जोडी सबैका लागि उदाहरणीय बनेको छ । सन् २००० मा यी दुई फरक धर्मावलम्बीले बिहे गरेर सँगै बाँच्ने निर्णय लिए । ऋतिक हिन्दू हुन् भने सुजेन मुस्लिम । उनीहरूले आफ्नो सम्बन्धलाई मात्र नभई दुई परिवार र दुई धर्मलाई पनि जोडे ।  
छुट्टिएर पनि उनीहरू सँगै छन्, राम्रा साथी बनेका छन् । एकअर्कासँग ‘क्वालिटी टाइम’ बिताइरहेका छन् । ‘सम्बन्ध विच्छेद सम्बन्धको अन्त्य होइन, अर्को सम्बन्धको सुरुवात हो’ भन्ने सोच आफ्नो रहेको उनीहरूले बताउँदै आएका छन् ।

 

Leave A Comment