फरक प्रेमी

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : ५१ अम्मर जिसी , Kathmandu
फरक प्रेमी

बाँदरप्रेमी मुकेश
जनावरतिर उनको चासो सानैदेखिको हो । जनावरको परिवार, खानपान, आनीबानी, मायाप्रेमलगायत धेरैथोकप्रति उनी स्कुले उमेरदेखि नै चखानो हुन्थे । त्यसमध्ये पनि उनी बाँदरप्रति बढी आकर्षित हुन्थे । उनको उच्च शिक्षा पनि त्यतैतिर मोडियो ।
प्राणीशास्त्रमा उच्च शिक्षा सकेका डा. मुकेश चालिसेले बाँदरमाथिकै अनुसन्धानमा विद्यावारिधि प्राप्त गरे । बाँदरमा लैंगिक विभेद उनको विषयवस्तु थियो । त्यसपछि उनी बाँदरप्रति झन् बढी समर्पित भए । बाँदरविज्ञका रूपमा परिचित उनको खोजअनुसन्धान अन्य जन्तुजनावरभन्दा बढी बाँदरमै केन्द्रित छ ।
उनी आफूलाई बाँदरप्रेमीका रूपमा चिनाउन चाहन्छन् । बाँदर वरपर टहलिँदाटहलिँदै उनी विभिन्न ठाउँका बाँदरबीच परिचित बनिसके । ‘धेरैजसो मलाई चितवनका बाँदरले चिन्छन् । जहाँ मैले धेरै वर्ष बाँदरकै वरपर रहेर काम गरेँ,’ उनले भने, ‘अरूलाई देखेपछि चिथोर्न खोज्ने बाँदरले मलाई देख्दा त्यस्तो गर्दैनन् ।’ उनका अनुसार बाँदरमा पनि मायाप्रेम, विभेद, संघर्ष, शासन सबथोक चल्छ । शक्तिशालीले शासन गर्छ । पाको र अनुभवी बाँदरले दिशानिर्देश गर्छ । ‘बाँदरका २ सय ३४ प्रजातिमध्ये हामी मानव पनि एक हौँ,’ उनले भने, ‘बाँदरको गतिविधि पनि हाम्रोभन्दा कम हुँदैन । उसले प्रष्ट बोल्नबाहेक लगभग सबै गर्न सक्छ ।’ बाँदरको मायाप्रेम अनौठो हुने उनी बताउँछन् ।  
उनका अनुसार मान्छेले जनावरलाई माया गरेजस्तो जनावरले पनि मान्छेलाई माया गर्छ । झन् बाँदरले त युवतीलाई खोजीखोजी प्रेमिका नै बनाउन खोज्छ । ‘युवतीमा यौवनको वासना भाले बाँदरले ठ्याक्कै थाहा पाउँछ,’ डा. चालिसेले भने, ‘युवतीलाई पछ्याउन खोज्छ । प्रेम व्यक्त गर्न खोज्छ । पोथी बाँदरले पनि युवकप्रति प्रेम व्यक्त गर्न खोज्ने भए पनि अलि डराउने हुन्छन् ।’
धेरै ठाउँका बाँदरले उनलाई चिन्छन्, पछ्याउँछन् । उनले पनि अनुसन्धानका लागि नयाँ–नयाँ प्रजातिका बाँदर खोजिरहन्छन् । बाँदरसँगको सम्बन्धलाई सन्तुलित राख्न पनि उनी प्रयासरत हुन्छन् । ‘बाँदरलाई म खानेकुरा दिन्न,’ उनले भने, ‘खानेकुराले सम्बन्धलाई असन्तुलित बनाउला भन्ने डर हुन्छ ।’

कागप्रेमी रमेश
कागे बाहुन !
उनको पहिचान नै काग हो । रमेश दुलालले कागलाई प्रेम गर्न थालेको १४ वर्ष हुन थाल्यो । कागलाई उनी दैनिकजसो पछ्याइरहन्छन् । कागले कहाँ, के गर्दैछन् ? कस्तो अवस्थामा छन् ? उनको चासो भइरहन्छ ।
एकै छिनमा सयौँ कागलाई जम्मा पार्न सक्ने क्षमता छ उनमा । कागको दुरुस्त आवाज निकाल्न सक्ने उनी कागबारे धेरै जानकारी राख्छन् । ‘प्रेम पनि गर्छु,’ उनले भने, ‘म गएका ठाउँका कागले मलाई चिन्छन् । अरूलाईभन्दा फरक प्रतिक्रिया जनाउँछन् । मैले त्यसलाई कागले मलाई गरेको प्रेम सम्झन्छु ।’
उनको कागप्रेम सपनाबाट सुरु भएको हो । ‘एक रात मैले कागको सपना देखेर कागकै जस्तो कराउँदै उठेछु,’ उनले सम्झे, ‘त्यसै बेला काग जम्मा भए । स्वर पनि त्यस्तै निकाल्न सक्ने भएँ । अभ्यास पनि गर्न थालेँ । पछि म काग जम्मा पार्न सक्ने भएँ ।’ उनका अनुसार कागले सबभन्दा बढी मासु र हड्डी रुचाउँछ । उनी कहिलेकसो कागलाई चारो र मासु लिएर काग भएतिरै पुग्छन् । खडेरीमा पानी पिलाउँछन् । घाइते भएका कागलाई उपचार गरेको अनुभव पनि छ, उनीसँग । उनका अनुसार काग धेरै बाठो चरा हो ।  
देशव्यापी रूपमा काग सम्मेलन गर्दै आएका उनी अब यो सम्मेलन विदेशसम्म विस्तार गर्ने योजनामा छन् । ‘थाइल्यान्डबाट विदेश यात्रा थाल्ने तयारी हुँदैछ,’ उनले भने, ‘कागे बाहुनलाई विदेशमा पनि परिचित गराउन चाहन्छु ।’
उनको कागप्रेम अहिले पेशा बन्दैछ । आम्दानी गर्ने बाटो बन्दैछ । ‘महिनामा १० वटाजति कार्यक्रममा आयोजकले बोलाउनुहुन्छ,’ उनले भने, ‘यसले मलाई आम्दानी पनि राम्रै दिइरहेको छ ।’ उनी समसामयिक विषयमा कटाक्ष स्वरूप काग सम्मेलन पनि गर्दै आएका छन् । अबको केही दिनमै प्रधानमन्त्री कार्यालयमा काग सम्मेलन गर्ने उनको तयारी छ । ‘राजनीतिक निकास दिएर जनतालाई विकासको फल चखाउनुप¥यो भन्ने सम्मेलनको सन्देश हुनेछ,’ उनले भने ।
काग तिहारमा उनको माग धेरैतिर हुन्छ । कागसँगै उनको पनि पूजा गर्दिने भक्तजन पनि रहेको उनी बताउँछन् । ‘काग तिहारका बेला म भने दरबारमार्गतिर मेरा प्रेमी कागसँग डेटिङ गर्न रुचाउँछु,’ उनले भने, ‘डेटिङ भन्नाले यसो जम्मा पारेर चारोसारो खुवाउने ।’

कुकुरप्रेमी रोमी
कुकुरलाई असाध्यै प्रेम गर्नेमध्ये एक हुन्, काठमाडौँ डिल्लीबजारकी रोमी लामा । महँगा विदेशी कुकुर किनेर प्रेम गर्नेभन्दा पनि भुस्याहा भनेर सडकमा हेपिएका, चेपिएका कुकुरलाई उनी बढी प्रेम गर्छिन् । घाइते भएर सडकमा बेवारिसे भएका कुकुरलाई उपचार गराउनु, रेबिजविरुद्धको सुई लगाउन लैजानु, बन्ध्याकरण गराइदिनु, खाना खुवाउनु उनको दैनिकी हो । ‘मलाई मान्छेले भन्दा बढी प्रेम कुकुरले गरिरहेका छन् जस्तो लाग्छ,’ उनले भनिन्, ‘त्यसैले पनि म कुकुरलाई प्रेम गर्छु ।’  
कुकुर प्रेमसँग जोडिएको उनको विगत दुःखद छ । २०४८ सालमा सडक दुर्घटनामा श्रीमान् बितेपछि आफूमा कुकुर प्रेम भित्रैदेखि जागेको उनी बताउँछिन् । ‘उहाँ (श्रीमान्) बितेपछि म सबैतिर आफूलाई एक्लो ठान्थेँ,’ उनले भनिन्, ‘यो सब अपरिचितजस्तो लाग्ने भीडमा मलाई कुकुरले सान्त्वना दिन आएको जस्तो लाग्यो । मलाई चिन्ने ऊ मात्र छ जस्तो लाग्यो । मान्छेको वियोगलाई बुझ्न सक्ने क्षमता कुकुरमा हुँदो रहेछ ।’ त्यसपछि उनी कुकुरलाई प्रेम गर्न थालिन् ।
अहिले उनीसँग १६ वटा कुकुर छन् । सडकतिरबाट आउनेजाने त कति हुन कति ! उनलाई तिहारका बेला कुकुरलाई गरिने पूजा ढोंगजस्तो लाग्छ । ‘अरू बेला लात्ताले हिर्काउने, बाइकले ठोक्काउने अनि तिहारमा पूजा गर्ने,’ उनी असन्तुष्टी पोख्छिन्, ‘यस्ता ढोंगमा विश्वास गर्दिनँ म । कुकुरलाई निःस्वार्थ प्रेम गर्छु ।’
उनका अनुसार कुकुरबाट सुरक्षाबाहेक धेरै साथ पाइन्छ । ‘एक्लो भएको महसुस गर्न दिँदैन कुकुरले,’ उनले भनिन्, ‘कुकुरको खुशी देखेर आफ्नो मन पनि खुशी बनाउन सकिँदो रहेछ ।’ उनलाई पनि कुकुरले प्रेम गर्छन् । धेरैतिरका कुकुरले परिचितजस्तो गरेर पछ्याउँछन्, उनलाई । तर, कहिलेकसो उनलाई कुकुरले दुःख नदिएका पनि होइनन् । कति पटक उनी कुकुरबाट टोकिएकी छिन् । रेबिजको सुई लाइरहिन्छन् । ‘कुकुरले मलाई कयौँ पटक टोकेका छन् । धेरैजसो झगडा छुट्याउन जाँदा टोक्ने गर्छन् । त्यति भन्दैमा म कुकुरलाई घृणा कहिल्यै गर्दिनँ प्रेम गर्छु,’ उनले भनिन् ।

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17