क्यान्टोनमेन्टमा फुलेको पिरती

मङ्गलबार, ०३ फागुन २०७३, १२ : ४१ रामकुमार डिसी , Kathmandu
क्यान्टोनमेन्टमा फुलेको पिरती

धादिङका रमेश बस्याल र गुल्मीकी कल्पना घिमिरे २०६१ सालमा माओवादीमा  लागे । उनीहरू माओवादीको सैन्य संगठन जनमुक्ति सेनाको सेक्सन कमान्डरसम्म भए ।
माओवादीमा प्रवेश गर्दा रमेश १४ र कल्पना १३ वर्षकी थिइन् । रमेशले कक्षा सातको अन्तिम परीक्षासमेत दिन पाएनन् भने कल्पनाले सात कक्षा पास गरिन् ।
नेपाली सेनामा समायोजनका लागि भन्दै संयुक्त राष्ट्रसंघको निगरानीमा नवलपरासीको झाल्टुङडाँडामा तत्कालीन माओवादी छापामार चौथो डिभिजनको अस्थायी क्याम्प बस्यो । २०६४ फाल्गुन १ गते क्याम्पमै उनीहरूबीच चिनजान भयो । ‘फाल्गुन १ गते हामीबीच चिनजान भयोे,’ रमेश सम्झन्छन, ‘त्यो बेला कमरेड भन्ने सम्बोधन हुन्थ्यो । हामीले पनि कमरेडकै रूपमा हात मिलायौँ ।’
चिनजान भएको दुई वर्षपछि भेटघाट र फोन गर्ने क्रम बढ्यो । ‘भेटघाट बाक्लिएपछि गहिरो प्रेममा परेको आभास भयो,’ कल्पना भन्छिन् । क्यान्टोनमेन्टभित्र बिस्तारै उनीहरूबीच पिरतीको फूल फक्रदै गयो ।
‘अरूलाई जस्तो उन्मुक्त भएर प्रेम गर्ने छुट छापामारलाई हुँदैन्थ्यो,’ रमेश भन्छन्, ‘डेटिङको त कुरै छोडौँ, फोन गर्न पनि कमान्डरको स्विकृति लिनुपथ्र्यो ।’ प्रेममा परेका आभास भएपछि रमेशले २०६५ भदौमा प्रेम प्रस्ताव राखे । त्यो प्रस्ताव उनले कल्पनालाई होइन आफ्नो कमान्डरसामु राखेका थिए । आफूले कसैलाई मन पराए छापामार क्यान्टोनमेन्टमा कमान्डरमार्फत प्रस्ताव राख्नुपथ्र्यो । कमान्डरले प्रेम प्रस्ताव स्वीकृत गरेपछि मात्रै अर्को प्रक्रिया अघि बढ्थ्यो । प्रेम प्रस्ताव स्वीकृत भएको छ महिना वा एक वर्षसम्म प्रेमी–प्रेमिकाले प्रेम परीक्षण कालबाट गुज्रिनुपथ्र्यो । दुवै जनाको प्रेम ठीक छ भन्ने लागेपछि मात्रै कमान्डरले विवाहको स्विकृति जनाउँथे । बिहे पनि जुनबेला पायो त्यही बेला गर्न मिल्दैन्थ्यो । अधिकांश विवाह माओवादी जनयुद्ध सुरु भएको फाल्गुन १ गते हुन्थे कि  मंसिर ८ गते जनमुक्ति सेना दिवसका अवसरमा हुन्थे । औपचारिक कार्यक्रममा सयौँ जोडी सँगै बिहे गर्थे । जसलाई जनवादी विवाह भन्ने गरिन्छ माओवादीमा ।
रमेश र कल्पनाको जोडी पनि फाल्गुन वा मंसिरमा जनवादी  विवाह गर्ने योजनामा थियो । तर, बालसैन्य भनेर रमेशलाई संयुक्त राष्ट्रसंघले प्रमाणीकरणमा पारेन । कल्पना भने प्रमाणीकरणमा परिन् । प्रमाणीकरण प्रक्रियाबाट खिन्न रमेशले असन्तुष्टी जनाए । सैन्य आचरण विपरीत अनुशासनहीन काम गरेको भन्दै रमेशको सेक्सन कमान्डर पद पनि खोसियो । अयोग्य भनिएका लडाकूलाई बिदाई कार्यक्रमको तयारी हुँदै थियो तर रमेश त्यसअघि नै जेठ २०६६ मा शिविरबाट निस्किए ।
शिविर छाडेपछि उनी बिहेको तयारीमा जुटे । असारमा रमेश र कल्पनाले पोखरामा बिहे गरे । परिवारको स्विकृतिमा बिहे भयो । रमेशले कल्पनाको सिउँदो भरे सिंदुरले होइन रगतले । ‘मैले उनलाई रगतको सिंदुर लगाएँ,’ रमेश भन्छन् ।
रमेश सेनाका लागि अयोग्य ठहरिएपछि कल्पनाले पनि सेनामा जान मन गरिनन् र स्वेच्छिक अवकाश लिइन् । पाँच लाख रुपैयाँ दिएर उनको बिदाई गरियो ।
बिहेको सात वर्षपछि उनीहरूको एउटा छोरो जन्मियो । यसबीच रमेश वैदेशिक रोजगारीमा मलेसिया गए । सोचजस्तो नभएपछि डेढ वर्षपछि फर्किएर नेपाल आए । कल्पनाले भने पाँच महिनाजति सिलाई तालिम लिइन् । ‘बच्चाको स्याहार गर्नु परेकाले तालिम अघि बढाउन सकिनँ,’ कल्पना भन्छिन् । अहिले रमेश र कल्पना काठमाडौँमै बस्छन् । ‘महँगीले बाँच्नै धौधौ छ,’ रमेश भन्छन्, ‘त्यतिखेर पढ्न पाइएन न त हातमा केही सीप छ । न यहाँ श्रमको सम्मान छ । काठमाडौँजस्तो महँगो ठाउँमा हामीजस्तोलाई परिवार, बाच्चा पाल्नै गाह्रो छ ।’

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17