मनमनै प्रेम

मङ्गलबार, ०३ फागुन २०७३, ११ : ३४ शुक्रवार , Kathmandu
मनमनै प्रेम

आयुष्मान देशराज श्रेष्ठ, अभिनेता
स्कुल पढ्दाताका मलाई मन पर्ने एक जना साथी थिइन् । साथी तर साथीभन्दा अलि माथि । हामी एकअर्कालाई साथीभन्दा अलि बढी माया गथ्र्यौं । मैले आफ्नो मनको कुरा उनलाई कहिल्यै भनिनँ । उनले पनि भनिनन् । उनले मलाई मन पराउँथिन् वा पराउँदैनथिन् भन्ने पनि मलाई थाहा भएन । प्रेम प्रस्ताव राख्दा हाम्रो सम्बन्ध पो बिग्रेला कि भन्ने सोचले कहिल्यै उनीसामु प्रेम प्रस्ताव राखिनँ ।  
खगेन्द्र लामिछाने, अभिनेता
मैले मेरो स्कुलमा पढ्ने एक जना केटीलाई मनमनै मन पराएको थिएँ । तर, भन्न चाहिँ कहिल्यै सकिनँ । उनको निर्दोषपना र धेरै नबोल्ने बानीले म उनीप्रति आकर्षित भएको थिएँ । उनको अनुहार हेर्दै मायालाग्दो थियो । पछि उसले स्कुल बदलिन् । मैले भन्न नसकेकोमा अहिले खुशी छु । त्यो बेलामा आफ्नो कुरा फ्याट्ट भनेको भए अहिले करिअरमा पछि पर्ने थिएँ । तर, अहिले पनि कहिलेकाहीँ उनको याद आउँछ । बाटोमा कतै अचानक भेट्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ ।
कालीप्रसाद बास्कोटा, गायक
सन् २००४ साल तिरको कुरा होला । त्योबेला म कलेज पढ्थेँ । एक जना केटी असाध्यै मन पर्थिन् । मन पराए पनि मुखबाट बाहिर भने निस्किँदै निस्केन । अहिले पनि त्यो दिन सम्झदा रमाइलो लाग्छ । दुई वर्षसम्म मैले उनलाई मनमनै मन पराए । पछि उनले पनि मलाई मन पराउनेरैछिन् भन्ने थाहा पाएँ । अहिले त उनीसँग कुनै कन्ट्याक्ट छैन । करिअरमा फोकस गर्न थालेपछि यस्ता कुरा पछि छुट्न थाले ।
दीपकराज गिरी, हास्यकलाकार
आफ्नो त मनै ठूलो । मनमनै मन परेका कति थिए कति । सानैदेखि म रोमान्टिक पाराको थिएँ । मैले त आठ कक्षादेखि नै मनमनै मन पराउन थालेको थिएँ । केटीहरू फूलजस्तै सुन्दर लाग्ने । यो पनि राम्रो त्यो पनि राम्रो । आठ कक्षादेखि नै एउटीलाई मनमनै मन पराएको थिएँ । आँखाले धेरै इसारा गरेँ । मेरो इसारा उसले बुझिन । मैले मनमनै गरेको प्रेमलाई उनले कहिल्यै महसुस गरिन । मनको कुरा भन्न नपाउँदै एसएलसी दिँदादिँदै बिहे गरेर गई । फिल्ममा मात्र एउटा केटी जीवनबाट गएपछि अर्को आउन धेरै समय लाग्छ । वास्तविक जीवनमा कहाँ त्यस्तो हुनु ? फेरि अर्की मन पर्न थाली । यसरी मनमनै धेरैसँग लभ प¥यो ।
कोमल वली, गायिका
दश/बाह्र वर्ष पहिलाको कुरा हो । मैले पनि कसैलाई मनमनै मन पराएको थिएँ । उनको बौद्धिकताबाट प्रभावित थिएँ । आवाज त झनै सुनिराखुजस्तो लाग्ने । मनमनै कसैलाई मन पराउँदा पनि आफैँलाई ऊर्जा मिल्दो रहेछ । आफूले मन परेको मान्छेलाई प्रस्ताव राख्दा सकारात्मक जवाफ आयो भने त ठीकै हुन्छ तर नकारात्मक आयो भने तनाव । मैले त्यतिखेर उनलाई प्रस्ताव राखेको भए अस्वीकार नहुन पनि सक्थ्यो तर अस्वीकार हुन्छ कि भन्ने डरले राखिनँ ।
दुर्गा खरेल, गायिका
म कक्षा आठमा पढ्दाताका कलेजमा पढ्ने एक जनालाई मनमनै मन पराउँथेँ । म स्कुल जाने बेला उनको फर्किने समय हुन्थ्यो । उनी ओर्लिएको गाडीमा चढेरै म स्कुल जान्थेँ । जहिल्यै देखादेख हुन्थ्यो तर बोलचाल भने हुँदैनथ्यो । उनको नाम पनि मलाई थाहा छैन, चिनेको पनि थिएन । उनको ‘लुक्स’ बाट प्रभावित थिएँ । हेर्दा राम्रो हाइटी पनि उस्तै । एक दिन देखेन भने ‘आज त्यो मान्छे कहाँ गयो होला ?’ भन्ने लाग्थ्यो ।  आफ्नो मनको कुरा भने उनलाई कहिल्यै भनिनँ ।

प्रस्तुतिः सृजना

 

Leave A Comment