बुज्झकी जोडी

मङ्गलबार, ०३ फागुन २०७३, ११ : २४ शुक्रवार , Kathmandu
बुज्झकी जोडी

–रामकुमार डिसी

एन्जिला न्यौपाने, पद्मकन्या क्याम्पसको स्ववियु सचिव भएदेखि प्रदीप पौडेलले उनलाई राम्ररी चिन्न थालेका हुन् । प्रदीप त्यतिखेर नेपाल विद्यार्थी संघका सभापति भइसकेका थिए । साथीका रूपमा उनीहरूको सम्बन्ध हुर्कन थाल्यो । प्रदीपले त प्रेम र बिहेबारे सोचेकै थिएनन् । ‘प्रेम, बिहेमा अल्झिए कतै राजनीतिमा आफूले भने जस्तो गर्न नसक्ने पो हो कि भन्ने लाग्थ्यो,’ प्रदीपले भने । समय बित्दै गयो । एन्जिलासँग उनको निकटता बढ्दै गयो ।
त्यहीबीच प्रदीप र एन्जिलाको प्रेम चलेको हल्ला फिँजियो । एक कान दुई कान मैदान हुँदै हल्ला चारैतिर फैलियो । प्रेम र विवाहको वास्तै नगर्ने प्रदीप यो हल्लापछि भने गम्भीर भए । एन्जिलासँग कुरा गर्ने निधो गरे । ‘हामीबीच प्रेम भएको हल्ला चल्न थालेपछि मैले एक पटक उनीसँग यसबारे बुझेँ,’ प्रदीपले भने, ‘उनले ‘माया गर्छु तर जबर्जस्ती छैन, तपार्इं पनि एक पटक गम्भीर भएर सोच्नुस्’ भनिन् ।’
बिस्तारै, आफू पनि एन्जिलाको प्रेममा परेको प्रदीप बताउँछन् । ‘बाहिर हल्ला चलेकाले मलाई साँच्चै प्रेममा डुबुल्की मार्न बाध्य बनायो,’ उनले भने । यी दुईबीचको प्रेम गाढा बन्दै गयो । ‘अहिलेजस्तो डेटिङ भने गरिएन । हामीसँग डेटिङ गर्ने समय नै हुन्थेन,’ उनले भने, ‘हामी परिपक्व प्रेममा थियौँ । एकले अर्कालाई बुझ्थ्यौँ । गुलाबै दिएर ‘तिमीलाई माया गर्छु’ भन्नु परेन ।’
चार÷पाँच वर्षकोे प्रेम सम्बन्धपछि उनीहरूले २०७३ वैशाख १५ गते बिहे गरे । प्रदीप ४१ का भए र एन्जिला २९ वर्षकी ।
प्रदीप नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन् । एन्जिला नेविसंघकी केन्द्रीय सदस्य छिन् । प्रदीपको राजनीतिक सक्रियता पहिलेझैँ छ । एन्जिला पनि राजनीतिमा सक्रिय नै छिन् ।
श्रीमती राजनीतिक पृष्ठभूमिकी भएकाले आफ्नो कामकुरालाई बुझ्ने प्रदीप बताउँछन् । ‘उनले मेरा काम र व्यस्ततालाई बुझेकी छिन् । त्यसैले अबेर घर आउँदा रिसाउँदिनन् र मैले आशंकामिश्रित प्रश्नको सामना गर्नु पर्दैन,’ उनले भने । यो जोडीले भरसक शनिवार समय मिलाएर घुमघाम र रमाइलो गर्ने गर्छ । एन्जिला फिल्म हेर्न रुचाउँछिन् । उनले सुरुदेखि अन्तिमसम्म फिल्म हेर्ने गरेकी छिन् । प्रदीप भने मुश्किलले पूरै फिल्म हेर्न भ्याउँछन् । ‘उनलार्ई फिल्म हेर्न खूब मन पर्छ । फिल्म नसकिँदासम्म हल नै छोड्दिनन्,’ प्रदीपले भने ।

Leave A Comment