अन्तरधर्ममा अंकुराएको प्रेम

सोमबार, ०२ फागुन २०७३, १२ : ३६ पुष्पराज जोशी , Kathmandu
अन्तरधर्ममा अंकुराएको प्रेम

न मोबाइल थियो । न इमेल/इन्टरनेटको जमाना थियो । थियो त केवल चिठीपत्र मात्रै । त्यो समयमा प्रेमपत्र कोरेर प्रेमिकालाई पठाउनु सहज थिएन, त्यो पनि साथीभाइको माध्यमबाट । अझै गाह्रो थियो, नेपालगञ्जका नायाब सिद्दिकी र करिश्मा पौडेललाई । २०४९ सालमा नायाब भर्खरै कक्षा नौमा पढ्दै थिए । स्कुलमा पढ्दाताका जुनियर रेडक्रस सोसाइटीको गोष्ठी भयो नेपालगञ्जमै । नायाब स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयबाट गोष्ठीमा सामेल भए । त्यही गोष्ठीमा गोरो अनि हँसिलो मुहारकी धनी करिश्मा नारायण माध्यमिक विद्यालयबाट प्रतिनिधित्व गर्दै गोष्ठीमा पुगिन् । उनीहरूको हेराहेर भयो । नायाबले करिश्मालाई मन पराए ।
नायाब मुस्लिम थिए भने करिश्मा हिन्दू । अन्तरधर्मबीच पनि प्रेम अंकुराउन सक्छ भन्दै नायाबले पत्र कोरेर साथीमार्फत करिश्मालाई पठाए । करिश्माले तुरुन्तै जवाफ फर्काइनन् मौन बसिन् । धेरै पटकको सवालपछि करिश्माले पनि मौन स्वीकृतिमा जवाफ फर्काकाइन् । अन्तरधर्मबीच प्रेम अंकुरायो ।
कक्षा नौमा पढ्ने नायाब र कक्षा ८ मा पढ्ने करिश्माबीच पाँच वर्ष लामो प्रेम चल्यो । विगत सम्झँदै नायाबले भने, ‘पाँच वर्षसम्म लुकीछिपी प्रेम चल्यो ।’ कहिले फिल्म हल त कहिले खुला चौरचौतारा, बजारमा भेट्थे उनीहरू । ‘एक त नेपाली समाज त्यसमा पनि हिन्दू र मुस्लिमबीचको प्रेम सम्बन्धलाई कसले राम्रो मान्थ्यो र त्यो समयमा ?’ नायाबले भने, ‘प्रेमको सुरुवात नै संघर्षबाटै सुरु भयो ।’ अन्तरधार्मिक प्रेम सम्बन्धलाई टुट्न नदिन दुवैले आर्थिक, सामाजिक र मानसिक संघर्ष गर्नुप¥यो । ‘हिन्दू र मुस्लिमबीचको विवाह कल्पनामै थिएन त्यो समयमा,’ करिश्माले भनिन् । अन्तरधर्मबीचको प्रेमलाई साथीभाइ, छरछिमेक, आफन्त, इष्टमित्र सबैले घृणा र तिरस्कृत गर्न थाले । उनीहरू समाजबाट जति तिरस्कृत हुन्थे उनीहरूको प्रेम भने त्यति नै कसिलो बन्दै गयो । अन्ततः २०५३ सालमा उनीहरूले बिहे गरे । नायाबले करिश्मालाई भगाएर घर लगे र मुस्लिम धर्मअनुसार विवाह गरे ।
विवाहपछि सामाजिक संघर्षका साथै आर्थिक संकटले पनि पिरोल्यो उनीहरूलाई । नायाबले प्युठानमा जागिर पाए । ‘जागिरपछि केही राहत मिल्यो,’ नायाबले भने, ‘त्यसपछि आफैँ केही गर्ने आँट आयो । दाङमा ग्रिल उद्योग खोलेँ ।’ व्यवसायमा उनलाई करिश्माले पनि सहयोग गरिन् । ‘यदि करिश्मा मेरो जीवनमा नआएकी भए म यहाँसम्म पुग्नै सक्दैनथेँ,’ उनले भने, ‘अन्तरधार्मिक प्रेमले संघर्ष गर्न सिकायो ।’ नायाबको अहिले नेपालगञ्ज सुर्खेत रोडमा करोडौँको राप्ती ग्रिल उद्योग छ ।
विवाहको आठ वर्षपछि माइती मानेकी करिश्मालाई अहिले भने सहज छ । उनी माइतीमा हिन्दू संस्कारअनुसार बस्छिन् भने घरमा मुस्लिम संस्कारअनुसार । ‘माइती जाँदा हिन्दू र घरमा मुस्लिम हुन्छु,’ उनले भनिन्, ‘अहिले कहीँकतैबाट कुनै अवरोध आएको छैन । बरु, अन्तरधार्मिक विवाहले सहानुभूति जगाएको छ ।’

 

Leave A Comment