मायालुलाई उपहार

सोमबार, ०२ फागुन २०७३, १२ : २६ शुक्रवार , Kathmandu
मायालुलाई उपहार

–रचना     
फेब्रुअरी १४ नजिकिन थाल्यो । काठमाडौँका गिफ्ट सप विभिन्न उपहारले सजिन थालेका छन् । पसलेहरूलाई गिफ्ट प्याक्क गर्न भ्याइनभ्याई छ । ‘रोज डे’, ‘प्रपोज डे’, ‘चकलेट डे’, ‘टेडी डे’, ‘प्रमिस डे’, ‘हग डे’, ‘किस डे’का लागि पसलहरूमा हर्टसेप बलुन, टेडी बियर, बुके, रंगीचंगी गुलाबका फूललगायत उपहार सामग्री लस्करै सजाइएका छन् ।
भ्यालेनटाइन्स डेको उपहार योजना बनाउन अविवाहितदेखि विवाहित जोडी व्यस्त हुन थालेका छन् । इमाडोल बस्ने सविना दाहालको बिहेपछिको यो पहिलो भ्यालेनटाइन्स डे हो । पहिलो भ्यालेनटाइन्स डेमा श्रीमान्का लागि विशेष उपहार किन्ने योजना उनले बनाएकी छिन् । ‘श्रीमान् कामको सिलसिलामा चितवनतिर छन् । भ्यालेनटाइन्स डेकै दिन हाम्रो भेट हुँदैन होला,’उनी भन्छिन्, ‘तर, श्रीमान्का लागि स्पेसल गिफ्ट किन्ने सोच बनाएकी छु । साँचेर राख्नेछु जब भेट हुन्छ सरप्राइज दिन्छु ।’
भक्तपुरका योगेश मण्डल पनि भ्यालेनटाइन्स डेका लागि आतुर छन् । ‘रातो गुलाब र उनलाई मन पर्ने टेडी बियर उपहार दिनेछु,’ उनी भन्छन्, ‘त्यस दिन उनीसँग नगरकोट घुम्ने जाने धुनमा छु ।’
फेसबुकको चिनजानका भरमा भर्खरै प्रेममा परेका काठमाडौँ, शान्तिनगरका अर्जुन श्रेष्ठले भने छुट्टै योजना बनाएका छन् । उनले फेसबुके प्रेमिकालाई पहिलो पटक भ्यालेनटाइन्स डेकै अवसर पारी भेट्ने योजना बनाएका छन् । ‘उनीसँग पहिलो भेट हो । हर्टसेपको लकेट, घडी, रातो गुलाब उपहार दिनेछु,’ उनी भन्छन्, ‘नाइटक्लब पनि गइन्छ होला ।’
एकअर्कालाई उपहार दिई सम्बन्धलाई अझै गाढा बनाउने चाहना जोडीहरूको हुन्छ । जोडीको चाहनालाई मध्यनजर गरी सो–पिस, डल, घडी, रातो गुलाब, प्याकेजिङ गिफ्ट, लकेट, चकलेट, बुके, फोटो फ्रेम, कपल किरिङ, कपल कपजस्ता थरी–थरीका उपहार सामग्री बजारमा आएको न्युरोडस्थित आर्किज गिफ्ट ग्यालरीकी संगीता महर्जन बताउँछिन् ।
    

 

Leave A Comment