पहिलो प्रेम प्रस्ताव

सोमबार, ०२ फागुन २०७३, १२ : १५ शुक्रवार , Kathmandu
पहिलो प्रेम प्रस्ताव

रामकृष्ण ढकाल, गायक
सायद त्यो ४५ सालतिरको कुरा हो । एक जना केटी मन पर्थिन् । राम्री थिइन् । हाम्रो स्कुल फरक थियो तर टोल एउटै थियो । त्यो मोबाइल र फेसबुकको जमाना थिएन । मन परेको मान्छेलाई माया व्यक्त गर्न चिठी वा उपहार दिने चलन थियो । आफ्नो मनको कुरा व्यक्त गर्न मैले उनलाई पेन उपहार पठाएँ । टुप्पोमा घडी भएको पेन । जसले समय देखाउँथ्यो । महँगो पनि थियो । सय रुपैँयाभन्दा माथि नै पथ्र्यो । पैसाको जोहो गरेर किनेको थिएँ । उपहार दिएपछि मन पराएको भनेर बुझ्नुपथ्र्यो । तर, उनले बुझिनन् । पछि उनी कहाँ गइन् कहाँ थाहै भएन ।
आर्जन पाण्डे, गायक    
त्यो बेला म १२ कक्षामा पढ्थेँ । एक जना केटीले मलाई प्रेम प्रस्ताव राखिन् । उनी मेरो सान्ममीको छिमेकी थिइन् । हामी एकअर्काका मिल्ने साथी भयौँ । म आफूले गायका प्रायः गीत उनलाई सुनाउँथेँ । उनले साह्रै चाख मानेर सुन्थिन् । सायद उनी मेरा गीतबाटै प्रभावित भएकी थिइन् होला । वसन्तपुरमा एउटा क्याफे थियो । अहिले त त्यो क्याफे हटाइसक्यो । उनले मलाई त्यही क्याफेमा प्रेम प्रस्ताव राखेकी थिइन् । उनले रातो गुलाब र न्याप्किनमा ‘आई लभ यू’ भनेर लेखेकी थिइन् । त्यो बेलामा मलाई के भन्ने के भयो ।
शिव परियार, गायक
पहिलो प्रेम प्रस्ताव भनेर मलाई केही याद छैन । म बच्चैदेखि संगीतमा जुझारु थिएँ । विभिन्न सांगीतिक प्रतियोगितामा पहिलो हुने भएकाले धेरैले मलाई चिन्थेँ । संगीत क्षेत्रमा लागेपछि त झन् धेरैले चिने । मन पराउनेको त कुरै नगरौँ । दर्जनौँ प्रेम प्रस्ताव आउँथे । कुन पहिलो भन्नु कुन दोस्रो । मेरो संघर्षको बेलामा मलाई माया गर्छु भनेर आउने कमै थिए । जब सफलताको खुड्किला चढ्दै गएँ प्रस्ताव पनि धमाधम आउन थाले । माया भन्नेकुरा मुखबाट हैन, हृदयबाट हुन्छ भन्ने लाग्छ । मेरो ‘लेभल’लाई हैन, मनलाई माया गर्ने मान्छे मन पर्छ । अहिले म कसैको प्रेममा छु र खुशी छु ।
एलिसा राई, मोडल
पहिला कोही मन प¥यो भने पोस्टकार्ड दिने चलन थियो । कक्षा मलाई ठ्याक्कै याद छैन । त्यो बेलामा म काठमाडौँ भ्याली स्कुलमा पढ्थेँ । मसँगै पढ्ने एक जना केटाले राजेश हमाल र करिश्मा मानन्धर भएको पोस्टकार्ड दिएको थियो । त्यसको पछाडि ‘रोज इज रेड, स्काइ इज ब्लू’ भन्ने खालका पंक्ति लेखिएका थिए । अहिले त सम्झिँदा पनि हाँसो उठ्छ । हामी खासै नजिक थिएनौ । त्यसैले मैले खासै वास्ता गरिनँ ।
–सृजना

 

 

Leave A Comment