प्रेमको ज्योतिले उज्यालो जिन्दगी

सोमबार, ०२ फागुन २०७३, १२ : १२ शुक्रवार , Kathmandu
प्रेमको ज्योतिले उज्यालो जिन्दगी

–रचना श्रेष्ठ
हाम्रो समाजमा यस्ता प्रेमी पनि छन्, जो आफूभन्दा भिन्न र फरक क्षमता भएका व्यक्तिलाई प्रेम गर्न चाहन्छन्, उनीहरूसँग माया साट्न चाहन्छन् र  उनीहरूप्रति समर्पित हुन चाहन्छन् ।
काठमाडौँ, आरुवारीकी अस्मिता अधिकारीले फरक क्षमता भएका वासुदेव अधिकारीसँग बिहे गरिन् । वासुदेव जन्मजात दृष्टिविहीन हुन् । धुलिखेलको सञ्जीवनी उच्च माविमा उनीहरूको भेट भएको थियो । जहाँ वासुदेव पढ्थे । अस्मिता पनि त्यही अध्ययन गर्थिन् । तर, उनी वासुदेवभन्दा दुई वर्ष सिनियर ब्याचमा थिइन् । त्यहीँ उनीहरूको भेट भयो । भेटघाट बढ्यो, प्रेम झांगियो । दुवै प्रेममा परे ।
‘मेरा यी दुई आँखाले उहाँलाई संसार देखाउन चाहन्थँे । त्यसैले उहाँ जस्तो फरक क्षमता भएको व्यक्तिसँग जीवन बिताउने निर्णय गरेँ,’ अस्मिता भन्छिन् । ‘छोरीले दृष्टिविहीनसँग घरजम गर्ने भई, यसो गर्न दिनुहुन्न’ भनेर घरपरिवार आफ्नो प्रेममा बाधा नबनोस् भनी उनले घरपरिवारलाई दृष्टिविहीन जीवनसाथी रोजेको कुरा बताइनन् ।
२०६० साल, वैशाख २१ गते अस्मिता र वासुदेव बिहे मण्डपमा बसे । दुवै  खुशी थिए । तर, मण्डपमा आफ्नो परिवारले दुलाहा दृष्टिविहीन भएको चाल पाएको अस्मिता बताउँछिन् । ‘त्यसपछि सबै जना विरोध गर्न थाले । मलाई रोक्ने प्रयास गरे । तर, मैले आड लिएँ,’ उनी भन्छिन् । अस्मिताले वासुदेवको साथ छोडिनन् । विधिपूर्वक बिहे सम्पन्न भयो । परिवारलाई नै त्यागेर अस्मिताले वासुदेवलाई अपनाइन् । अहिले उनीहरूका दुई सन्तान छन् ।
‘अस्मिताको साथ पाउँदा संसारै जिते जस्तो लाग्छ,’ वासुदेव भन्छन्, ‘उनले म जस्तोलाई जीवनसाथी बनाइन् । जो जहाँ जाँदा नि ठोकिन्छ, देख्न सक्दैन । तर, उनले मलाई सम्हालिन् । मलाई मात्र होइन मेरो घर र बच्चालाई पनि सम्हालिरहेकी छिन् ।’ वासुदेव अहिले ब्राइट फ्युचर सोसाइटीका अध्यक्ष छन् र विभिन्न संघसंस्थामा पनि आबद्ध छन् ।
०००
एकअर्काको साथलाई नै सबथोक ठान्ने एक जोडी बनेपामा बस्छ । दुई सन्तानसँग भाडामा बस्ने यो परिवार राजीव तामाङको हो । चार वर्षको उमेरमा आँखा पोल्ने, पाक्ने समस्याले उनलाई पिरोल्यो । धामी झाँक्रीले ठीक गर्छन् भन्ने अन्धविश्वासमा लागेर आफ्ना आँखाको ज्योति गुमाएको उनी बताउँछन् । ‘धामीझाक्रीमाथि विश्वास गर्दा मेरो संसार नै अन्धकार भयो,’ राजीव भन्छन् ।
राजीवजस्तै सानो उमेरमा सही उपचार नपाएकाले दृष्टिविहीन बन्न पुगिन्, स्वस्तिका तामाङ । ‘म सात वर्षकी हुँदा आँखामा सानो घाउ आयो । पैसा नभएर उपचार गरिएन । बिस्तारै, मेरा आँखाले देख्नै छाडे,’ स्वस्तिका भन्छिन् ।
फरक क्षमता भएका राजीव र स्वस्तिकाको भेट पनि धुलिखेलको सञ्जीवनी स्कुलमा भएको हो । एउटै लेभलमा पढ्दापढ्दै उनीहरूबीच प्रेम पलायो । २०६४ सालमा उनीहरूले प्रेम विवाह गरे । खान पकाउने, भाँडा माझ्ने, लुगा धुनेलगायत काम दुवैले मिलीजुली गर्ने स्वस्तिका बताउँछिन् । दुवैले लुगा धुने सरफ फ्याक्ट्री काम गर्छन् ।
०००
बनेपामै बस्ने नारायण सिग्देलको कथा भने अलि फरक छ । उनी जन्मजात दृष्टिविहीन हुन् । उनकी श्रीमती कविता सिग्देल देख्न सक्छिन् तर सुन्न सक्दिनन् । कविताका दुवै हात चल्दैनन् । ‘बिहे गर्ने सोच बनाएँ । केटी खोज्ने क्रममा साथीमार्फत काभ्रेको पाँचखालकी कवितालाई भेटेँ । २०६६ सालमा उनीसँग मागी बिहे गरेँ,’ नारायण भन्छन् । सडकछेउमा वजन जोख्ने मेसिन राखेर बस्छन्, नारायण । ‘त्यसैबाट दुई छाक हातमुख जोर्ने बाटो भएको छ,’ उनी भन्छन् । नारायण र कविताकी आठवर्षे छोरी छिन् ।  
०००
ललितपुर, गोदावरीको दृष्टिविहीन लाइब्रेरीमा फुर्गेल शेर्पा र सविता थापा पढ्नका लागि धाउँथे । सोही क्रममा उनीहरू साथी भए । साथीबीचको साथ र सहयोग प्रेममा बदलियो । उनीहरूले एकअर्कालाई जीवनसाथी बनाउने निधो गरे । २०६१ सालमा उनीहरूको बिहे भयो । उनीहरू गोदावरीमा बस्छन् । १४ वर्षको उमेरमा ट्युमरका कारण फुर्गेलमा भिजनमा समस्या देखियो । र, बिस्तारै उनी दृष्टिविहीन हुन पुगे । तर, उनकी श्रीमती जन्मजात नै कम देख्ने गर्थिन् । दुवै जना शिक्षक पेशामा आबद्ध छन् । ‘दुवै  शिक्षक भएकाले हतार–हतार गरी स्कुल जानुपर्छ । त्यसैले बिहान चाँडै उठेर जसले जे सक्यो फटाफट काम सकाउँछौँ,’ फुर्गेल भन्छन् । यो जोडीको १० वर्षको छोरा छ । उसलाई स्कुलका लागि तयार गर्ने र स्कुल बसमा पठाउने जिम्मा फुर्गेलको छ । ‘खाईवरी मिलेर भाँडा माझ्छौँ, अनि चोकसम्म सँगै निस्कन्छौँ । उनी लखनखेलको गाडी चढ्छिन्, म गोदावरी थैबको ।

घर फर्कने बेलामा जो चाँडो आउँछ चोकमा कुरी बस्छ र सधैँ सँगै घर फर्किन्छौँ,’ सविता भन्छिन् ।

 

Leave A Comment