कलाकारको प्रेम : जोडिन बेर न तोडिन बेर

सोमबार, ०२ फागुन २०७३, १२ : ०३ अनिल यादव , Kathmandu
कलाकारको प्रेम : जोडिन बेर न तोडिन बेर

बेलायती साहित्यकार जोन गाल्जवर्दीले भनेका थिए, ‘प्रेमको उमेर हुँदैन, सीमा हुँदैन र मृत्यु पनि हुँदैन ।’ वास्तवमा प्रेम हुनुपर्ने त उनले भनेजस्तै हो । तर, नेपाली कलाकारहरूको प्रेम चर्चा सुन्दा यस्तो लाग्छ– जोडी बाँधिनु र छुट्नु कुनै ठूलो कुरा होइन ।

प्रेमः प्रचारको अस्त्र
अभिनेत्री निता ढुंगाना र अभिनेता आमेश भण्डारीको प्रेम चर्चाले दुई वर्षअघि फिल्म जगत् खूब तातेको थियो । त्यही बेला उनीहरूको फिल्म रिलिज हुँदै थियो– ‘फूलैफूलको मौसम तिमीलाई ।’ तर, खास मौसम चाहिँ उनीहरूको फिल्मले होइन, उनीहरूको प्रेमले ‘क्यास’ गरेको थियो । फिल्म प्रचारप्रसारको ‘कन्टेन्ट’ जस्तो बनेको थियो, उनीहरूको प्रेम । मिडियासँग उनीहरू खुलेआम भन्थे, ‘हाम्रो प्रेममा काँडालाई प्रवेश निषेध छ ।’ फिल्म फ्लप भएको केही समयपछि खबर सुनियो– काँडाले प्रवेश ग¥यो अर्थात् साढे चार वर्षदेखिको उनीहरूको सम्बन्ध टुट्यो । प्रेमबारे खुलेर बोलेका आमेश ब्रेकअपपछि लगभग मौन छन् । यति मात्र भन्छन्, ‘हाम्रो राम्रो सम्बन्धलाई हामीले राम्रो बनाइरहन सकेनौँ, त्यसैले ब्रेकअप भयो ।’

प्रेम र सम्बन्धलाई फिल्म प्रचारप्रसारको अस्त्र बनाउन माहिर मानिन्छन्, निर्माता छविराज ओझा । फिल्मकर्मीहरू भन्ने गर्छन्, ‘यही कारण छविको छवि धमिलिसक्यो ।’ पछिल्लो समय उनले बनाएका तीनटा फिल्म ‘लज्जा’, ‘हवल्दार सुन्तली’ र ‘किस्मत–२’मा लगालग अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरिन् । तीनटै फिल्म हलबाट उत्रिसके तर पहिलो फिल्मबाटै सुरु भएको उनीहरूको प्रेमको चर्चा भने उत्रिन सकेको छैन । ‘किस्मत–२’ रिलिजताका छविले शिल्पासँग बिहे नै गर्नेसम्मको अभिव्यक्ति दिए । उद्योगमा त उनले गुपचुप शिल्पासँग बिहे गरिसकेको कुरा सुनिन्छ । यद्यपि, उनीहरूले यसको पुष्टि गरेका छैनन् ।

अभिनेत्री रेखा थापाको ‘हिम्मतवाली’ रिलिजताका पनि फिल्मको ‘कन्टेन्ट’ भन्दा बढी प्रेमको चर्चा भयो । दुवै हात गुमाएका सुदर्शन गौतम त्यो फिल्मको अभिनेता थिए । विवाहित सुदर्शनको रेखासँग केही समय प्रेम राम्रैसँग चल्यो । फिल्म रिलिज भइसकेपछि अफेयरको चर्चा पनि सेलायो । र, बिस्तारै उनीहरूको सम्बन्ध पनि सेलायो ।

फिल्म ‘सायद’बाट उदाएका अभिनेता संयम पुरी हाल अभिनेत्री आश्मा डीसीसँग गहिरो प्रेममा छन् । उनीहरूको प्रेम चर्चाले पनि फिल्म ‘आभास’को रिलिजका बेला राम्रै स्थान पायो । प्रेस–मिटमा पनि उनीहरूको कामभन्दा बढी उनीहरूको प्रेमबारे प्रश्न तेर्सियो । अन्ततः फिल्मले सोचेजस्तो व्यापार गर्न सकेन ।

अघिल्लो वर्ष रिलिज भएको फिल्म ‘लभसभ’बाट अभिनेत्री करिश्मा श्रेष्ठले डेब्यू गरेकी थिइन् । तर, डेब्यू अभिनेत्रीको अभिनयको चर्चा कहीँकतै सुनिएन । सुनियो त केवल– उनको र अभिनेता सलोन बस्नेतबीचको प्रेम चर्चा । औपचारिक रूपमा उनीहरूको ब्रेकअप भएको खबर अहिलेसम्म सुनिएको छैन । त्यसैले भन्न सकिन्छ– उनीहरू अझै प्रेममा छन् ।

जसको टुट्यो

केही अपवादलाई बिर्सने हो भने विश्वमै सेलिब्रिटीको प्रेम सम्बन्ध लामो समय टिकेको सुनिँदैन । अझ नेपालमा त आदर्श प्रेम गर्ने कलाकार खोज्न मुश्किल पर्छ । टुटेका र फुटेका प्रेम जोडीहरूको सूची लामै बन्न सक्छ ।

रेखा–सुर्दशन, निता–आमेश त्यही सूचीमा पर्छन् । अरू पनि थुप्रै छन् । हाल सबैले ‘नोटिस’ गरेका कलाकारहरूको कुरा गर्दा अनमोल केसीलाई पनि छुटाउन मिल्दैन । दुई वर्षअघि फिल्म ‘जेरी’ को रिलिज समयमा उनी आना शर्मासँग प्रेममा थिए । आना ‘जेरी’बाटै डेब्यू भएकी अभिनेत्री हुन् । फिल्मको सुटिङदेखि नै सुरु भएको उनीहरूको प्रेम प्रमोसनताका ‘लाइमलाइट’मा थियो । तर, फेसबुकमा सम्म छताछुल्ल पोखिएको यिनीहरूको प्रेम लामो समयमा दौडिन सकेन । स्रोत भन्छ फिल्म ‘ड्रिम्स’ की अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहसँग नजिकिएको भन्दै आना अनमोलसँग टाढा भएकी थिइन् । त्यसपछि अनमोलले आफ्नो नयाँ प्रेम सम्बन्ध सार्वजनिक गरेका छैनन् ।

खुलेरै प्रेम गरेको जोडीमा पर्छन्, अभिनेत्री ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठ । उनीहरूले रिलमा मात्र नभएर रियलमा समेत रोमान्स गरेको स्विकारेको थिए । त्यतिमात्र होइन, सँगै फिल्म पनि बनाएका थिए, सँगै कार्यक्रम होस्ट पनि गरेका थिए । तर, सात वर्षसम्म चलेको उनीहरूको पिरती पनि लामो समयसम्म टिकेन । अहिले ऋचा प्रेमबारे केही बोल्नै चाहँदिनन् । उता विनयले भने ब्युटी थेरापिस्ट एनी थापासँग लगनगाँठो कसिसके ।

फिल्म र अभिनयका कारणभन्दा पनि विविध गतिविधिका कारण मिडियामा छाउने अभिनेत्रीमा पर्छिन्, निशा अधिकारी । क्रिकेटर शरद भेषवाकरसँगको उनको अफेयरले पनि राम्रै चर्चा पायो । निशाले शरदसँग आफू प्रेममा रहेको कुरा फेसबुकबाटै अभिव्यक्त गरेकी थिइन् । त्यसअघि उनले क्रिकेट र शरदलाई लिएर विभिन्न प्रतिक्रिया दिने गर्थिन् । लामो समयदेखिको उनीहरूको प्रेममा ‘ब्रेक’ लागेको हल्ला यतिबेला फिल्म जगत्मा चलेको छ । तर, उनीहरूले यसबारे औपचारिक रूपमा केही बोलेका छैनन् ।

‘हँसिया’ अभिनेता अनुपविक्रम शाही र पूर्व मिस नेपाल मलिना जोशीबीचको ‘लभ अफेयर’ले पनि बजार राम्रै ततायो । कुनै बेला कार्यक्रममा पनि सँगसँगै भेटिने यिनीहरूको सम्बन्धमा अहिले फाटो आइसकेको छ । मिडियासँग अनुपले भनिसकेका छन्, ‘ब्रेकअप भए पनि हामी राम्रो साथीका रूपमा सधैँ रहनेछौँ । ’ त्यसो त उनीहरूले ब्रेकअपपछि पनि फिल्म ‘रानी’मा सँगै काम गर्ने निर्णय गरेर व्यावसायिक सम्बन्ध कायम रहेको प्रमाणित पनि गरेका छन् ।

कम बोल्ने अभिनेता हुन्, सविन श्रेष्ठ । त्यही भएर होला प्रेमको चर्चा पनि कम हुन्छ । फिल्म जगत्मा उनलाई ‘प्रेमिका फेरिरहने’ अभिनेतासम्म भनिन्छ । केही समयअघिसम्म अभिनेत्री अनु शाहसँग उनी अफेयरमा रहेको चर्चा पनि चलेको थियो । तर, हाल उनीहरूबीच त्यस्तो कुनै सम्बन्ध नरहेको सविन बताउँछन् । स्रोत भन्छ, ‘सविनले भन्दा पनि अनुले उनलाई असाध्यै प्रेम गर्थिन् । ’ त्यस्तै, स्रोतका अनुसार, मोडल सगुन शाही ठकुरीसँग पनि उनी रिलेसनसिपमा थिए ।

अभिनेत्री वर्षा शिवाकोटी पनि मोडल निराजन प्रधानसँग प्रेममा थिइन् । उनको त्यो प्रेम पनि अघि बढिरहन सकेन । त्यसपछि दुवैको नयाँ प्रेमबारे भने केही सार्वजनिक भएको छैन ।

एकताका अभिनेत्री सुषमा कार्कीको ‘लिभिङ टुगेदर रिलेसनसिप’को पनि खूब चर्चा थियो । निर्देशक सुदर्शन थापासँग सुषमा गहिरो प्रेममा थिइन् । उनीसँग ब्रेकअप भएपछि अनुप्रस्थ ब्यान्डका निरन श्रेष्ठसँग उनको अफेयर चलेको थियो । यतिसम्म कि उनीहरू आठ महिनासम्म ‘लिभिङ टुगेदर’मा रहेका थिए । तर, त्यो सम्बन्ध पनि टिकिरहन सकेन । उसो त सुषमा अहिले अभिनयमा निष्किय छिन् । न उनको फिल्मको चर्चा छ, न प्रेमको ।

जो खुलेरै प्रेममा छन्
सेलिब्रिटीहरू भरसक आफ्नो निजी कुरालाई बाहिर ल्याउन चाहँदैनन् । खासमा त उनीहरूको प्रेम आदर्शवादी हुनुपर्ने हो । समाजका लागि उदाहरणीय बन्नुपर्ने हो । उदारणीय बन्नलाई हो या अरू कुनै कारणले, अहिले चर्चामा रहेका केही कलाकारले आफ्नो प्रेमलाई सार्वजनिक गरेका छन् ।

अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला अहिले गम्भीर प्रेममा छन्, आफ्नो प्रणय कथा खुलेरै भनिरहेका छन् । इन्टेरियर डिजाइनरको अफिससमेत सञ्चालन गरेका संजोगसँग वर्षा विगत साढे पाँच वर्षदेखि प्रेममा छिन् । दुई वर्षपछि उनीहरूले बिहे गर्ने सोच बनाएको बताएका छन् ।

अभिनेता संयम पुरीले अभिनेत्री आश्मा डीसीसँगको प्रेम सम्बन्धबारे खुलेरै कुरा गर्ने गरेका छन् । उनीहरूको प्रेमको पहिले जस्तो चर्चा  अहिले छैन । यद्यपि, उनीहरू प्रेममा भने छन् । आश्मा टीभी फिल्मीकी कार्यक्रम प्रस्तोता समेत हुन् । उनले आफ्नो एक कार्यक्रममा गेस्टका रूपमा संयमलाई निम्त्याएकी थिइन् । त्यस कार्यक्रमका लागि सेलिब्रिटीले पूरा एक दिन टाइम दिनुपर्ने थियो । त्यो पहिलो भेटदेखि नै आफू आश्माप्रति आकर्षित भएको उनले बताएका थिए ।

नेपाली फिल्ममा सौगात मल्लको अभिनय क्षमताको सधैँ प्रशंसा भइरहन्छ । यो मामिलामा त उनी आर्दश नै हुन् । तर, अचेल उनको प्रेम सम्बन्धको चर्चा पनि व्यापक हुन थालेको छ । उनी यतिबेला पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठसँग अफेयरमा छन् । सृष्टिसँग फिल्म हेर्न गएकोदेखि सुटिङ स्पटमा भेट्न गएको खबरसम्म बाहिर आइसकेका छन् । सौगातले यो अफेयरबारे अनौपचारिक रूपमा बोल्न पनि थालेका छन् । हालै पनि सौगातले सृष्टिसँग दिनमै कैयौँ पटक कुरा हुने गरेको बताएका थिए । उनीसँग कुरा गर्नका लागि आफूले डेडिकेटेड सिम नै लिएकोसम्म उनले जानकारी गराएका थिए ।

‘चपलीहाइट–२’ बाट नेपाली फिल्ममा डेब्यू भएका अभिनेता आयुष्मान देशराज श्रेष्ठ र अभिनेत्री परमिता आरएल राणा पनि खुलेरै प्रेम गरिरहेको जोडी हो । बैंकर रविना देशराज श्रेष्ठका छोरा हुन्, आयुष्मान । उनले खुलेर प्रेम गर्दा प्रशंसक घट्ने कुरामा विश्वास नगर्नेसम्म प्रेस–मिटमा बताएका थिए । यता अभिनेता सलोन बस्नेत र अभिनेत्री करिश्मा श्रेष्ठको प्रेम पनि ‘पब्लिक’ भइसकेकै हो ।

भुवन केसीको फिल्म ‘ड्रिम्स’मा गतिलो अभिनय गरेको भन्दै अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहले राम्रो तारिफ बटुलेकी थिइन् । उनी मयंक खड्का ‘राहुल’ नामका युवासँग प्रेममा रहेको भन्ने खबर केही मिडियाले पाइसकेका थिए । तर, गसिप बनिसकेको थिएन । आफ्नो जन्मदिनको अवसर पारेर केही महिनाअघि उनले स्वयं मयंकसँगको तस्बिर सार्वजनिक गर्दै ‘द डे ह्याज जस्ट बिगन’ भनेर स्ट्याटस लेखिन् । र, आफ्नो प्रेमी सार्वजनिक गरिन् ।
काठमाडौँ, दरबारमार्गको भिक्ट्री लाउन्जमा उनीहरूले थुप्रै पल्ट डेटिङ गरेका तस्बिरसमेत फेला परेका छन् । उनीहरूको प्रेमका विषयमा उनीहरूको परिवार पनि जानकार रहेको बुझिएको छ । स्रोतका अनुसार मयंक साम्राज्ञीको नयाँ फिल्म ‘ए मेरो हजुर–२’को सुटिङस्पटमै उनलाई भेट्न पोखरा गएका थिए ।

अभिनेत्री नम्रता श्रेष्ठ ‘प्रेमी फेर्न माहिर’ भनेर परिचित छिन् । कारण–उनका चार ब्वाइफ्रेन्डका नाम नै दर्शकसामु सार्वजनिक भइसके । यसअघि क्रमशः रेमनदास श्रेष्ठ, डीजे तान्त्रिक र व्यवसायी प्रेम घलेसँग प्रेममा रहेकी नम्रता हाल पर्यटन व्यवसायीसँगको प्रेममा छिन् । उनको नाम हो, दावा स्टिभन शेर्पा । नम्रता प्रायः फिल्मका कार्यक्रममा दावालाई लिएर जाने गर्छिन् । भर्खरै दुबईमा सम्पन्न  नेफ्टा अवार्डमा पनि उनीहरू सँगै पुगेका थिए । नम्रता चाँडै दावासँग बिहे गर्ने तयारीमा रहेको उनका निकटस्थहरू बताउँछन् ।

जो गुपचुप राख्न चाहन्छन्
एउटा भनाइ नै छ, ‘प्रेम गरेपछि डराउनु किन ?’ तर, नेपालमा अधिकांश कलाकार यस्ता छन्, जो आफ्नो प्रेमलाई लुकाउन चाहन्छन्, गुपचुपमै राख्न चाहन्छन् । तर, ग्ल्यामरको दुनियाँमा  उनीहरूले पत्तो नपाई खबर बाहिरिसक्छ ।

आफ्नो प्रेम सम्बन्धलाई गुपचुप नै राख्न खोज्ने कलाकारको सूची पनि लामै छ । त्यसमध्ये भर्खरै ‘जोनी जेन्टलम्यान’को सुटिङ सकाएको पल शाह र आँचल शर्माको जोडी एक हो । उनीहरूबीचको पिरतीको समाचारले यतिबेला बजार तताइरहेको छ । एकअर्कालाई ‘मिल्ने साथी’ भनेर स्पष्टीकरण दिइरहँदा पनि उनीहरूको हाउभाउले भने त्यस्तो देखाउँदैन । त्यसो त फेसबुकमा जोडी तस्बिर सार्वजनिक गरिरहनेदेखि हलमा फिल्म हेर्नसम्म उनीहरू सँगै जाने गरेका छन् । पल र आँचल दुवै ‘नाइँ नभन्नू ल ३’बाट फिल्ममा डेब्यू भएका हुन् । फिल्मको सुटिङ स्पटमा उनीहरूको प्रेम अंकुराएको स्रोत बताउँछ ।  

धेरैजसो कार्यक्रममा सँगै भेटिने अर्को प्रेम जोडीमा अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नाम पनि आउँछ । उनीहरू एकअर्कालाई ‘राम्रो साथी’मात्र भन्छन् । तर, उनीहरू निकटस्थहरू दाबी गर्छन्, ‘उनीहरू प्रेमी–प्रमिका हुन ।’ फिल्म ‘अझै पनि’बाट अभिनेताका रूपमा डेब्यू भएका निर्देशक थापाले आफ्नो सहकलाकारका रूपमा पूजालाई अभिनय गराएका थिए । त्यसपछि उनले निर्देशन गरेका दुई फिल्म ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’मा पनि पूजालाई नै दोहो¥याए । नयाँ प्रोजेक्ट ‘म यस्तो गीत गाउँछु’मा पनि यिनीहरूको ट्युनिङले निरन्तरता पाएको छ ।

अभिनेत्री छुल्ठिम गुरुङ र निर्देशक अनिल योञ्जन पनि गुपचुपमै प्रेम गरिरहेको चर्चा व्यापक छ । उनका निकटकाहरूलाई उनीहरूको सम्बन्धबारे थाहा छ । छुल्ठिम र अनिलले सँगै मिलेर ‘डायरी’ फिल्म निर्माण पनि गरिसकेका छन्, जुन प्रदर्शनको तयारीमा छ । जसमा छुल्ठिमले अभिनय गरेकी छिन् भने अनिलले निर्देशन । यही फिल्मबाट उनीहरूको सम्बन्ध नजिकिएको स्रोतको दाबी छ ।

अभिनेता प्रदीप बाँस्तोला र फिल्म निर्मात्री कृषा चौलागाईं पनि अहिले प्रेममा रहेको गाइँगुइँ सुनिन्छ । स्रोतका अनुसार पछिल्लो समय उनीहरू डेटिङ गरिरहेका छन् ।

उता, विवाहित अभिनेता अर्पण थापा अभिनेत्री ऋचा शर्मासँग अफेयरमा रहेका हल्ला पनि फिल्म जगत्मा चल्ने गरेको छ । पछिल्लो समय दरबारमार्गका रेस्टुरेन्टहरूमा हुने नाइट पार्टीहरूमा उनीहरूको आउजाउ बढेको बताइन्छ ।

जसको टुट्यो
– निता ढुगांना–आमेश भण्डारी
– अनुपविक्रम शाही– मलिना जोशी
– रेखा थापा– सुदर्शन गौतम
– अनमोल केसी– आना शर्मा
– निशा अधिकारी– शरद भेषवाकर
– ऋचा शर्मा– विनय श्रेष्ठ
– वर्षा शिवोकोटी– निराजन प्रधान
– सविन श्रेष्ठ– अनु शाह
– सविन श्रेष्ठ– सगुन शाही ठकुरी
– सौगात मल्ल– सोनी केसी
– सुषमा कार्की– सुर्दशन थापा
– सुषमा कार्की– निरन श्रेष्ठ

जो खुलेरै प्रेममा छन्
–वर्षा राउत–संजोग कोइराला
– संयम पुरी–आश्मा डीसी
– सृष्टि श्रेष्ठ–सौगात मल्ल
– सलोन बस्नेत–करिश्मा श्रेष्ठ
– नम्रता श्रेष्ठ– दावा स्टिभन शेर्पा
–आयुष्मान देशराज श्रेष्ठ– परमिता आरएल राणा
– साम्राज्ञीराज्यलक्ष्मी शाह– मयंक खड्का

जो गुपचुप राख्न चाहन्छन्
– पल शाह– आँचल शर्मा
– पूजा शर्मा– सुदर्शन थापा
– छुल्ठिम गुरुङ– अनिल योञ्जन
– कृषा चौलागाईं– प्रदीप बाँस्तोला
– ऋचा शर्मा– अर्पण थापा

 

Leave A Comment