प्रतापसिंह शाह

सोमबार, ०२ फागुन २०७३, ११ : ४१ शुक्रवार , Kathmandu
प्रतापसिंह शाह

पृथ्वीनारायण शाहका जेठा छोराको नाम सिंहप्रताप शाह भनी वंशावलीहरूमा लेखिएको थियो । त्यसैको अनुकरण गरी इतिहासका केही पुस्तकहरूमा पनि सिंहप्रताप शाह लेखिएको थियो । सिंहप्रताप शाह अशुद्ध हो, प्रतापसिंह शाह शुद्ध हो भनी वि.सं. २०११ मा ललितपुरबाट लक्ष्मण सत्याल र अक्रूर कुइँकेलद्वारा प्रकाशित लक्ष्मण सत्याल र अक्रूर कुइँकेलको इतिहास संशोधन ६ सङ्ख्यामा सप्रमाण लेखिएको छ । वि.सं. २०१९ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित धनवज्र वज्राचार्य, रामजी तेवारी, देवीप्रसाद भण्डारी, भोलानाथ पौडेल, शङ्करमान राजवंशी, गौतमवज्र वज्राचार्य, महेशराज पन्त र नयनाथ पौडेलको इतिहास संशोधनको प्रमाणप्रमेयका १५७–१६० पृष्ठमा बढी प्रमाण थपी यस विषयमा लेखिएको छ । वि.सं. २०४१ मा काठमाडौँबाट दिनेशराज पन्तद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाको इतिहास पहिलो भागको ६६ पृष्ठमा पनि यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेको छ । यसको उदाहरणको रूपमा काठमाडौँबाट वि.सं. २०७३ मा दण्डपाणिअज्र्यालस्मृतिकेन्द्रद्वारा प्रकाशित ज्ञानबिन्दु १० पूर्णाङ्कमा छापिएको चेतेन्द्रजङग हिमालीको पुर्वजहरूको सम्झनामा दूई शब्द भन्ने लेखमा उनका छोरा सिंहप्रताप शाह राजा भए (यस पूर्णाङ्कको १३६ पृ.) भनी लेखिएकोलाई देखाउन सकिन्छ । वि.सं. २००४ मा काशीबाट तोत्रराज पाण्डेयद्वारा प्रकाशित तोत्रराज पाण्डेय र नयराज पन्तको नेपालको सङ्क्षिप्त इतिहासमा पृथ्वीनारायण शाहको मृत्यु भएपछि उनका जेठा छोरा प्रतापसिंह शाह भनी लेखिएको छ (वि.सं. २०६० मा खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित तोत्रराज पाण्डेय र नयराज पन्तको नेपालको सङ्क्षिप्त इतिहास दोस्रो संस्करणको ७० पृ.) । शुद्ध कुरा प्रकाश भएको ६९ वर्ष बित्दा पनि अशुद्धै कुरा बाहिर आइरहनुबाट हाम्रा रचयिताहरू र सम्पादकहरू कति हल्का चालमा लेख्छन् र प्रकाश गर्छन् भन्ने कुरा छर्लङ्ङ हुन्छ ।
प्रा. दिनेशराज पन्त

 

Leave A Comment