जातको पर्खाल भत्काउँदै पिरती

आइतबार, ०१ फागुन २०७३, ०१ : ३८ गोपाल दाहाल , Kathmandu
जातको पर्खाल भत्काउँदै पिरती

धरान, पानमाराका रणधोज लोहार र माया कटुवालले २०५७ सालमा भागेर बिहे गरे । मायालाई उनको परिवारले फर्काउन लाख प्रयास गरे पनि उनले मानिन् । परिवारले उनीसँग सम्बन्ध तोड्यो ।
रणधोजको बाटो पछ्याउँदै गाउँका अन्य दलित युवाहरूले पनि अन्तरजातीय विवाह गर्न थाले । तर, भागेर विवाह गर्ने दलित–गैरदलित युवायुवती धेरै भए पनि उनीहरूका परिवारले तत्काल स्वीकार नगर्दा उनीहरूको औपचारिक विवाह भएको थिएन । गाउँका अन्तरजातीय विवाह गर्ने १० जोडीको मन्दिरमा सामूहिक विवाह गरियो । त्यसको नेतृत्व रणधोजले नै गरे । सामूहिक विवाहलाई सञ्चारमाध्यमले प्राथमिकतासाथ स्थान दिए । सञ्चारमा छाएपछि सामाजिक रूपमा पनि सहज भएको अनुभव भयो उनीहरूलाई । त्यसपछि रणधोजले सोचे, सञ्चारमाध्यम सशक्त हुँदो रहेछ । हुलाकको जागिर छाडेर उनी पनि सप्तकोशी एफएममा काम गर्न थाले । भन्छन्, ‘मिडियामा पनि मैले जातीय विभेदका कुरालाई प्राथमिकता दिएँ । अहिले पनि अन्तरजातीय विवाह गर्नेहरू देख्दा खुशी लाग्छ । मायाको कुनै जात हुँदैन ।’
१३ वर्षसम्म मायाको परिवारसँग उनीहरूको सम्पर्क भएन । बाटोमा मायाकै गाउँका मान्छे भेटेपछि रणधोजले चिठी पठाए । त्यसपछि उताबाट खबर आयो । माया र छोराछोरी भोजपुर गए । अहिले सम्बन्ध राम्रो छ ।
०००
गणेश लम्सालको छिमेकी कमला विश्वकर्मासँग माया बस्यो । २०५२ सालको त्यो समय त्यति सहज थिएन । तर, उनीहरूलाई  चोखो मायालाई विवाहमा परिणत गर्ने निधो गरे । उनीहरूको मायामा परिवार र समाज बाधक बन्यो । विवाह गरेपछि गणेश पक्राउ परे । प्रहरीले करिब एक महिना थुन्यो । तर, उनले कमलालाई छाड्न मानेनन् । त्यसपछि समाजले पाँच वर्षसम्म गाउँको बाटो नहिँड्ने कागज गराए । गणेश र कमला विस्थापित भएर झापाको घर र समाज त्यागी मोरङको पथरीमा बस्न थाले । त्यो बेला धेरै दुःख–पीडा खेपे । गणेशले पत्रिका बेच्ने काम गरे । बिस्तारै समाचार लेख्न थाले । अहिले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका लम्साल भन्छन् ‘अहिले पहिलाभन्दा धेरै सहज छ । समाजले स्वीकार गर्न थालेको छ ।’
अहिलेको समाजले अन्तरजातीय विवाहलाई स्विकारेको बताए पनि अहिलेसम्म लम्साल परिवारबाट टाढै छन् । अहिले पनि उनी घर र त्यो समाजमा जाँदैनन् । भन्छन्, ‘मलाई नबुझ्ने परिवार र समाजलाई मैले पनि पनि किन वास्ता गर्नु र ?’
०००
कविता नेपाल मनोक्रान्ति साधक थिइन् । ध्यान, योगमा लागेकी कविता एक पटक एक साता जमिनमा खाडल खनेर ध्यानमा बसिन् । कविताको साधनाको बारेमा अन्तरवार्ता लिए, पत्रकार पर्वत पोर्तेल विश्वकर्माले । अन्तरवार्ताका क्रममा भएको चिनजान बिस्तारै मायामा रूपान्तरण हुन थाल्यो । एक दिन कविताले नै प्रस्ताव राखिन् विवाहको । पर्वतले स्वीकार गरे । विवाह भए पनि परिवारबाट समस्या भयो । छुटाउने प्रयास भए पनि उनीहरू मानेनन् । अहिले पर्वत पत्रकारितामा प्रगति गरिरहेका छन्, कविता परिवर्तन थिएटर सञ्चालन गरेर नाटकमार्फत चेतना फैलाउने काम गरिरहेकी छिन् । पर्वत सुनाउँछन्, ‘म पत्रकारिता र उनी नाटक मार्फत समाज परिवर्तनका लागि काम गरिरहेका छौँ ।’
०००
रणधोज–माया, गणेश–कमला र पर्वत–कविता जस्ता अन्तरजातीय विवाह गर्ने जोडीहरू समाजमा बढिरहेका छन् । यसरी अन्तरजातीय विवाह गर्नेहरू पत्रकारिता क्षेत्रमा धेरै भेटिन्छन् । बाबुराम विश्वकर्मा, सन्तोष रुचाल, आशिष विश्वकर्मा, एलिना हिङ्माङलगायत पत्रकारहरूले अन्तरजातीय विवाह गरेका छन् । पत्रकारिता आफैँमा समाजमा सचेतना फैलाउने क्षेत्र भएकाले उनीहरूले समाजमा उदाहरण प्रस्तुत गरिरहेको पर्वत बताउँछन् । ‘अरूका समाचार लेख्ने मात्र होइन, व्यवहारमा पनि उतार्ने काममा पत्रकारहरू अघि छन्,’ उनी भन्छन् ।
दलित–गैरदलितबीच अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई प्रोत्साहन गर्न पूर्वमा फूलबारी समाज नामको संस्था नै गठन भएको छ । त्यसले अन्तरजातीय विवाह गर्नेलाई सहयोग गर्ने काम गर्छ । समाजका संयोजक गणेश लम्साल सुरुमा समस्या भए पनि दलित–गैरदलितबीचका विवाह अधिकांश सफल हुँदै गएको बताउँछन् ।

 

 

Leave A Comment