सुन र माछो

आइतबार, ०१ फागुन २०७३, ११ : ४२ ईश्वर दाहाल , Kathmandu
सुन र माछो

हामी नेपालीहरू वर्षाैंदेखि ठूलो माछोको तलासमा छौँ । खोला, खोल्सी र नदीहरूमा पाइने स–साना माछाले हाम्रो चित्त बुझ्दैन । भूपरिवेष्टित देशका नागरिक भए पनि समुन्द्रमा पाइने बडेबडे माछाहरू हाम्रा रुचिका विषय हुन् । वर्षाैंवर्ष खोज्दा पनि ठूलो माछा हात लागेको छैन । तैपनि, हामीहरू निरन्तर माछाको खोजी गरिरहेका छौँ ।
लोकलाई लोप्पा खुवाएर लोकमान आए । हामीलाई लाग्यो, लोकमानले ठूला माछा पक्डिनेछन् । माछा बस्ने गहिराइसँग राम्रो परिचित उनीसँग माछा समाउने राम्रै सीप र कौशल छ भन्ने कतिपयलाई विश्वास थियो । स्वयं लोकमानले पनि गर्विलो छाती बनाउँदै घोषणा गरेथे, ‘ठूला माछा समाएर, जनताजनार्दनका अगाडि हाजिर गराउँछु ।’
अनुभव, कौशल र सीपले सिद्धहस्त लोकमानले भनेपछि हामीले पनि पत्यायौँ । ठूलो माछोको रूपरंग हेर्नका लागि हाम्रा आँखा लालायित बने । माछा पक्रिएको खबर सुन्न हाम्रा कान आतुर भए । तर, आखिरीमा लोकमान नै ठूला माछाहरूको महामाछा भएको खबर सुन्नुप¥यो । लोकमान नै माछाहरूको महाराज भएको दृश्य देख्नुप¥यो । ठूला माछा पक्डिने माझी बन्छन् भनेको लोकमानै बडे माछोमा रूपान्तरण भएपछि उनलाई पक्रन  हम्मे प¥यो । उनलाई पक्रने शक्ति सञ्चय गर्नका लागि गोविन्द केसी अनशनमा बसे । युवा विद्यार्थीहरू सडकमा निक्लिए । कानुनकर्मीहरूले विरोधको स्वर उराले । बल्लतल्ल सदनमार्फत दुवाली हालियो । सडकबाट पानीको बहाव थुनेर लोकमानरूपी माछोलाई दहमा कैद गरियो । अनि, बडो कष्टका साथ न्यायालयले लोकमानरूपी माछोलाई च्याप्प समात्यो ।
उता, माओवादी विद्रोहले पनि ठूलो माछो समाउने अठोट बोकेको थियो । असमानता, शोषण र अन्यायरूपी पानीमा बस्ने ठूलो माछो समाउँछौँ र न्याय, समानता र समृद्धिरूपी सानासाना माछाहरू मिलेर बसेको सुन्दर संसार बनाउँछौँ भन्ने उसको दाबी थियो । तर, भयो उल्टो । ठूलो माछो समाउँछु भन्ने माओवादी नै ठूला माछाहरूको महफिलको सदस्य बन्यो । कतिपय अवस्थामा त माओवादी नै यस्तो ठूलो माछो बन्यो, जसका कारण साना माछाहरू मत्स्य न्यायको शिकार भए ।
हाम्रो संस्कार, दृष्टिकोण र सोचमा पनि ठूलो माछो प्राप्त गर्ने हुटहुटी छ । माइक्रोबसमा उखुको लाँक्रा मिलाइएझैँ कोच्चिएर बस्नुपर्दा पनि हामीहरू चियापसलमा मेट्रो रेलको कुरा गर्न छाड्दैनौँ । मुग्लिनको जाममा घण्टौँघण्टा बस्नुपर्दा पनि हाम्रा कल्पनाका तरेलीमा फास्ट ट्र्याक ओहोरदोहोर गरिरहन्छ । हामी घरको फोहोर बाटोमा फाल्छौँ, तर फोहोरबाट ऊर्जा र रासायानिक मल निकाल्ने गुड्डी हाँक्छौँ । पान खाएर सडकपेटीमा पिच्काउँछौँ र सिंगापुरको कल्पना गर्छाैं । मलमूत्रको ढल नदीमा जोड्छौँ र नदी सभ्यताको इतिहास पढ्छौँ । यस्ता अनगिन्ती उदाहरणले सानो माछामा चित्त नबुझ्ने हाम्रो मनोविज्ञानलाई अभिव्यक्त गर्छ । गोडैमुनिबाट सानो माछो चिप्लिए पनि हामीलाई त्यतातिर ध्यान छैन । त्यही सानो माछोले पनि एक छाक टथ्र्याे भन्ने सुद्धिबुद्धि छैन । पशुपतिको साधुले गाँजा तानेर परमात्मालाई खोजेजस्तै हामीहरू पनि कल्पनाको भाङ पिएर ठूलो माछाको खोजमा भड्किरहेका छौँ ।
हिजोआज फेरि एकपटक ठूलो माछो चर्चामा आएको छ । एयरपोर्टबाट ३२ किलो सुन समातिएपछि सुन तस्करीको ठूलो माछो समात्ने चर्चा शहरभरि छ । चाल्र्स शोभराजले दशकौँ अगाडि भनेथे ‘नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हात्ती नै छिराइदिन्छु ।’ उनले भनेको हात्ती छिर्ने एयरपोर्टमा जाबो ३२ किलो सुन छिर्दा खैलाबैला भयो । शहरको चासो र बहस देख्दा यस्तो लाग्छ– एयरपोर्टबाट ३२ किलो सुन होइन, सगरमाथा नै छिरेको होस् । सुनसँग सम्बन्धित ठूलो माछो बस्ने कुर र पोखरी थाहा पाएका छौँ भनेर प्रहरी भनिरहेको छ । तर, ठूलो माछोको नाम र वतन नेपाली जनताले थाहा पाउन सकेका छैनन् । विचरा अर्थमन्त्रीले समेत आफ्ना कर्मचारीहरू साना माछा हुन् भन्नुप¥यो । अर्थमन्त्री मातहतका कर्मचारीहरू पनि सानो माछा हुन् भने ठूलो माछो कस्तो होला ? बडो कौतूहलको विषय छ । नेपाल प्रहरीले एयरपोर्टका एसएसपीलाई समातेपछि कतिपयलाई ठूलो माछो समातिएको भान परेको छ । तर, ३२ किलो सुनको तौल र एसएसपीको तौल तराजुमा राखेर जोख्दा, उनी कतैबाट पनि ठूलो माछो लाग्दैनन् । मझ्यौला माछा लाग्छन् । मझ्यौला माछालाई ठूलो माछो देख्ने भ्रमबाट मुक्त भएकै राम्रो । किनकि, सप्तकोशीलाई समुन्द्र भन्न सकिन्न ।
विगतमा पनि सर्पका छाला तस्करी, मूर्ति तस्करी जस्ता अनेकौँ तस्करीहरूका ठूलो माछो, देखेका र चिनेका छौँ भन्नेहरू अनगिन्ती थिए । तर, ती ठूला माछाहरू जनताले बुझ्ने र ठम्याउने गरी कहिल्यै सार्वजनिक भएनन् । बरु ठूला माछा चिनेका छौँ भन्ने बहुदलधारीहरू नै २०४६ सालपश्चात् भीमकाय माछा बनेको नेपाली जनताले देख्नुप¥यो ।
ठूलो माछो खोज्दाखोज्दै उम्किएका साना माछा र कहिल्यै नभेटिने ठूलो माछाले हामीलाई कहाँ पु¥याउँछ होला ?

Leave A Comment