जसले धेरैसँग मुटु साटे

शनिबार, २९ माघ २०७३, ०२ : ०७ शुक्रवार , Kathmandu
जसले धेरैसँग मुटु साटे

दीपिका पादुकोण
बलिउडका उत्कृष्ट अभिनेत्रीमा पर्छिन्, दीपिका पादुकोण । उनी अभिनीत प्रायः फिल्म सय करोड क्लबमा सामेल हुने गरेका छन् । व्यावसायिक जीवनमा सफल दीपिकाको प्रेम जीवन भने खासै सफल हुन सकेको छैन । उनका प्रेमीहरूको ‘लिस्ट’ लामै छ ।
निहार पंड्या
दीपिकाले फिल्म ‘ऊँ शान्ति ऊँ’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । त्यतिखेर उनका ब्वाइफ्रेन्ड थिए, निहार पंड्या । सन् २००५ मा दुवैको भेट मुम्बईको एउटा एक्टिङ स्कुलमा भएको थियो । उनीहरू प्रेममा परे र लिभ इन रिलेसनसिपमा रहे । तीन वर्ष सँगै बसेपछि उनीहरूले सम्बन्ध तोडे । त्यसपछि दीपिका बलिउडमा सफलताको बाटोतिर लम्किइन् ।
उपेन पटेल
एकताका दीपिकाको अभिनेता उपेन पटेलसँग पनि सम्बन्ध रहेको थियो । उनीहरू जति थोरै समयमा नजिकिएका थिए, त्यति नै थोरै समयमा अलग्गिए पनि ।
युवराज सिंह
भारतीय क्रिकेटर युवराज सिंहसँग पनि दीपिकाको अफेयर रहेको कुरा सार्वजनिक भएको थियो । युवराज दीपिका भनेपछि मरिहत्ते गर्थे । उनको त्यो आसक्ति दीपिकालाई मन परेन । उनले त्यस सम्बन्धलाई पनि टुंग्याइन् ।
सिद्धार्थ माल्या
भारतीय व्यापारी विजय माल्याका छोरा सिद्धार्थ माल्यासँग पनि दीपिकाको सम्बन्ध रह्यो । दुवै प्रेममा डुबे । यो जोडीलाई एक पटक आईपीएल म्याचको क्रममा एकअर्कालाई चुम्बन गर्दै गरेको देखियो । तर, सिद्धार्थसँग पनि दीपिकाका अफेयर लामो समय टिक्न सकेन ।
रणवीर कपुर
दीपिकाको सबैभन्दा चर्चित अफेयर रणवीर कपुरसँग रह्यो । रणवीरले दीपिकालाई एक अवार्ड कार्यक्रममा प्रेम प्रस्ताव राखेका थिए । दीपिकाले रणवीरको नामको ट्याटूसमेत बनाएकी थिइन् । तर, पछि रणवीर दीपिकालाई छोडेर कट्रिनातर्फ आकर्षित भए ।
रणवीर सिंह
फिल्म ‘रामलीला’ को सुटिङको क्रममा रणवीर सिंह र दीपिका नजिकिए । अहिले उनीहरू सँगै छन् । सार्वजनिक रूपमा आफ्नो सम्बन्धबारे मुख नखोले पनि उनीहरू एकअर्काप्रति गम्भीर रहेको बताइन्छ । उनीहरूले बिहे गर्ने अड्कल पनि धेरैले काटेका छन् ।

रणवीर कपुर
बलिउडमा रणवीर कपुर ‘अफेयरका बादशाह’ का रूपमा चिनिन्छन् । हेर्दा सज्जन लागे पनि अफेयरका मामिलामा उनले इमानदारी अपनाउन सकेका छैनन् । लामो समयसम्म उनी एक जनाको प्रेममा बाँधिन सक्दैनन् ।
सोनम कपुर
बलिउडमा डेब्यू गरेपछि सबैभन्दा पहिला रणवीर सोनम कपुरको प्रेममा परे । सञ्जय लीला भन्सालीको फिल्म ‘साँवरिया’ मा यी दुवैले सँगै काम गरेका थिए । फिल्म रिलिज भएपछि उनीहरूको अफेयर पनि सार्वजनिक भयो । तर, अहिले भने यी दुई एकअर्काको मुखै हेर्न चाहँदैनन् ।
अवन्तिका मलिक
अभिनेता इमरान खानकी श्रीमती अवन्तिका मलिक एकताका रणवीर कपुरकी गर्लफ्रेन्ड थिइन् । अवन्तिका र रणवीर सँगै स्कुल पढ्थे । अवन्तिकाले ‘जस्ट मोहब्बत’ नामक सिरियलमा अभिनय गर्दा रणवीर सिरियलको सेटमै उनलाई भेट्न पुग्थे । लामो समय यी दुई सँगै देखिए तर पछि उनीहरूको ब्रेकअप भयो । अवन्तिकाले इमरान खानसँग बिहे गरिन् ।
नन्दिता मेहतानी
अभिनेता डिनो मोरियाकी एक्स गर्लफ्रेन्ड र फेसन डिजाइनर नन्दिता मेहतानीसँग पनि रणवीरको प्रेम सम्बन्ध थियो । नन्दिताले यो सम्बन्धबारे सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । तर, पछि उनीहरू अलग्गिए ।
दीपिका पादुकोण
रणवीर र दीपिकाको प्रेम चर्चित रह्यो । फिल्म ‘बचना ए हसिनो’ पछि उनीहरू नजिकिएका थिए । यो जोडीले बिहे गर्ने खबरसमेत छापिन थालेका थिए । तर, एक दिन अचानक उनीहरू छुट्टिए । एक अन्तर्वातामा दीपिकाले रणवीरले आफूलाई धोका दिएको कुरा बताएकी थिइन् ।
नरगिस फखरी
रणवीर र अभिनेत्री नरगिस फखरी अभिनीत फिल्म ‘रकस्टार’ ब्लकबस्टर रह्यो । रणवीरको नरगिससँगको सम्बन्धले पनि चर्चा बटुल्यो । फिल्मको सुटिङताका उनीहरू एकदमै नजिकिएका थिए । तर, फिल्म रिलिजपछि उनीहरू अलग्गिए ।
कट्रिना कैफ
रणवीरको कट्रिनासँगको सम्बन्ध एकदमै चर्चामा रह्यो । सार्वजनिक रूपमा सम्बन्धलाई न रणवीरले स्विकारे, न कट्रिनाले । तर, विदेशमा छुट्टी मनाउँदाको कट्रिनाको एक बिकिनी फोटोले यस अफेयरको हल्ला चलाएको थियो । यसपछि रणवीर र कट्रिना आफ्नो सम्बन्धप्रति गम्भीर देखिए । केही समय लिभ इन रिलेसनसिपमा रहेर उनीहरू छुट्टिए ।
ज्याकलिन फर्नान्डेज
आजभोलि रणवीर ज्याकलिन फर्नान्डेजसँग सम्बन्धमा रहेको कुरा चर्चामा छ ।

सलमान खान
बलिउडका धेरै अभिनेत्रीसँग नाम जोडिए पनि सलमान खानले अहिलेसम्म लगनगाँठो कसेका छैनन् । कतिपय अभिनेत्रीले उनीसँग बिहे गर्न चाहे पनि सलमानकै कारण बिहे हुन नसकेको बलिउडकर्मी बताउँछन् ।
संगीता बिजलानी
सलमानसँग नाम जोडिने संगीता पहिलो अभिनेत्री हुन् । सन् १९८० मा ‘मिस इन्डिया’को उपाधि जितेपछि संगीताले फिल्ममा काम गर्न थालिन् । त्यतिखेर नै उनीहरू नजिकिए । त्यसबेला सलमानले बलिउडमा खासै सफलता हात पारेका थिएनन् । तैपनि, संगीता उनलाई मन पराउँथिन् । संगीता सलमानसँग बिहे गर्न चाहन्थिन् तर पछि उनीहरूको बे्रकअप भयो ।
सोमी अली
संगीतापछि सलमानको जीवनमा पाकिस्तानी मूलकी अभिनेत्री सोमी अलीले प्रवेश गरिन् । सोमी सलमानसँगको सम्बन्धमा गम्भीर थिइन् । तर, सलमानको गलत व्यवहारका कारण सन् १९९९ मा उनलाई छोडिदिइन् ।
ऐश्वर्या राय
सलमान र ऐश्वर्या रायको प्रेम जगजाहेर थियो । सन् १९९९ मा रिलिज फिल्म ‘हम दिल दे चुके सनम’ को सुटिङमा उनीहरूको प्रेम झांगिएको थियो । उनीहरूको प्रेम सम्बन्ध र ब्रेकअपले धेरै चर्चा पायो । सन् २००२ मा उनीहरू अलग्गिए । सलमानको रिसाहा व्यवहार नै सम्बन्ध टुट्नुको कारण बन्यो ।
कट्रिना कैफ
ऐश्वर्यापछि सलमानको जीवनमा कट्रिना कैफ आइन् । सलमानले कट्रिनाको करिअर उकालो लगाउन मद्दत गरेको बलिउडकर्मीको भनाइ छ । यो जोडीले केही फिल्ममा सँगै काम ग¥यो । दुवैको प्रेमकथाले प्रशस्त चर्चा पनि बटुल्यो । सलमान कट्रिनासँगको सम्बन्धमा गम्भीर थिए । तर, यस पटक पनि उनको प्रेम सफल हुन सकेन । सन् २०१० मा उनीहरूको ब्रेकअप भयो ।
जरीन खान
कट्रिनाको अनुपस्थितिमा सलमानले फिल्म ‘वीर’ बाट जरीन खानलाई बलिउडमा लन्च गरे । दुवैको प्रेम प्रसंग चलेको खबर पनि आए । तर, पछि जरीनसँग पनि सलमानको ब्रेकअप भयो ।
डेजी शाह
डान्सरबाट अभिनेत्री बनेकी डेजी शाहलाई सलमानले फिल्म ‘जय हो’ बाट बलिउडमा प्रवेश गराए । दुवैको सम्बन्ध रहेको खबर पत्रपत्रिकामा छापिए । फिल्म फ्लप भएजस्तै उनीहरूको सम्बन्ध पनि फ्लप रह्यो ।
लुलिया वन्तुर
आजभोलि सलमान र लुलिया वन्तुरको सम्बन्धबारे मिडियामा धेरै खबर आउने गरेका छन् । यो जोडीले औँठी साटासाट गरेको समेत समाचार आइसक्यो । लुलिया रोमानियाकी अभिनेत्री, गायिका र कार्यक्रम प्रस्तोता हुन् ।

प्रियंका चोपडा
प्रियंका चोपडा बलिउडकी व्यस्त अभिनेत्रीमध्ये एक हुन् । बलिउडमा मात्रै होइन, उनी आजभोलि हलिउडमा पनि सक्रिय छिन् । प्रेम सम्बन्धबारे प्रियंकाले खुलेर बोल्ने गरेकी छिन् ।
असीम मर्चेन्ट
प्रियंका असीम मर्चेन्टलाई मोडलिङ गर्दाताकाबाट चिन्थिन् । सन् २००० मा उनी ‘मिस वल्र्ड’ बनिन् । त्यहाँदेखि उनीहरूको प्रेमको चर्चा थियो । तर, यो प्रेम लामो समय टिक्न सकेन ।
अक्षय कुमार
फिल्म ‘अन्दाज’ को सुटिङको क्रममा प्रियंकाको नाम विवाहित अक्षय कुमारसँग जोडियो । त्यसताका अक्षय र उनकी श्रीमती ट्वीङ्कल खन्नाबीच मनमुटाव भएका समाचार पनि आए । तर, पछि अक्षय प्रियंकाबाट टाढिए ।
शाहिद कपुर
एक पटक इनकम ट्याक्स विभागले बिहानै साढे ७ बजे प्रियंकाको मुम्बई, बर्सोवास्थित निवासमा रेड हान्यो । शाहिद कपुर त्यहाँ पहिलादेखि नै उपस्थित थिए । पछि, मिडियामा उनीहरूको प्रेम सम्बन्ध रहेको कुरा आउन थाले । तर, शाहिद र प्रियंकाले भने कहिल्यै पनि यो कुरा स्वीकार गरेनन् ।
शाहरुख खान
प्रियंका र शाहरुख खानको सम्बन्ध पनि चर्चित रह्यो । यस कुराले शाहरुख र उनकी श्रीमती गौरी खानबीच खटपट भएको कुरा पनि मिडियामा आए । तर, पछि शाहरुखले स्थिति सम्हाले । भनिन्छ, गौरीले शाहरुखलाई भविष्यमा प्रियंकासँग काम नगर्ने चेतावनी दिएकी थिइन् ।
हर्मन बावेजा
फिल्म ‘लभस्टोरी २०५०’ को सुटिङका क्रममा प्रियंका र हर्मन नजिकिए । दुवैको प्रेम प्रसंगले चर्चा पायो । तर, पछि दुवै अलग्गिएको कुरा बाहिर आयो ।

 

Leave A Comment