हस्तमैथुन यौन स्वास्थ्यमा असर गर्दैन

शनिबार, २९ माघ २०७३, ०२ : ०१ शुक्रवार , Kathmandu
हस्तमैथुन यौन स्वास्थ्यमा असर गर्दैन

हस्तमैथुन गर्नेले बिहेपछि श्रीमतीलाई यौन सन्तुष्टि दिन सक्दैन, बच्चा नहुनसक्छ जस्ता हल्ला सुनेको छु ।मैले हस्तमैथुन गर्न थालेको १० वर्ष भयो । यी हल्लामात्रै हुन् या सत्य ? उसो त हस्तमैथुनले पुरुषको यौन स्वास्थ्यमा कुनै असर गर्दैन भन्ने पनि सुनिन्छ । स्पष्ट पार्दिनुहोला ।
टी

ढुक्क हुनुहोस्, हस्तमैथुन स्वस्थ यौन क्रियाकलाप हो । हस्तमैथुन गर्नेको न बच्चा नहुने डर हुन्छ, न शुक्रकिटमा कमी आउँछ । हाम्रो समाजमा यससम्बन्धी केही  भ्रम छन् । हस्तमैथुनले व्यक्तिलाई दुब्लो, पातलो बनाउने, आँखाका डिल कालो हुने, कमजोर गराउनेजस्ता वाहियात भ्रम फैलिएका छन् । हस्तमैथुन एकमदै स्वाभाविक र स्वस्थ प्य्राक्टिस हो । अविवाहितहरूलाई यौनकुण्ठाबाट मुक्त गर्न हस्तमैथुनले ठूलो सहयोग गर्छ । तपाईँले कुनै चिन्ता गर्नुपर्दैन । तपाईँ बिहेपछि आफ्नी श्रीमतीलाई पूर्ण सन्तुष्टि दिनसक्नुहुन्छ । यस्ता भ्रममा नअलमलिनुहोला ।    


मेरो योनीमा श्रीमान्को वीर्य स्खलन भएको केही बेरपछि पोलेको अनुभूति हुन्छ । चिलाउँछ पनि । यो कुनै रोग त होइन ?
एस

यो एकदमै दुर्लभ केस हो । शुक्रकिटमा हुने प्रोटिनबाट एलर्जीको समस्या उत्पन्न हुनसक्छ जसलाई सिमेन एलर्जी भनिन्छ । सेक्स गर्दा कन्डम प्रयोग गरे यो समस्याबाट राहत पाइन्छ ।
सिमेन एलर्जी हुँदा शुक्रकिटको सम्पर्कमा आएका योनीजस्ता अंग चिलाउने, रातो हुने या सुनिने अवस्था हुनसक्छ । तर, सिमेन एलर्जी त्यतिबेला जटिल हुन्छ, जतिखेर सास लिन गाह्रो हुनेगर्छ । यस्तो अवस्थामा भने तुरुन्त अस्पताल जानुपर्छ । पुरुषको शुक्रकिटसँग एकदमै एलर्जी भएका महिलाले गर्भवती हुन आर्टिफिसियल इन्सिमिनेसनको सहारा लिन सक्छन् ।
मलाई एकदुई वर्षदेखि सेक्स गर्न मन लाग्दैन । कहिलेकाहीँमात्रै श्रीमान्लाई करबलले साथ दिन्थेँ । पछि श्रीमान्ले डाक्टरकहाँ जाऊँ भन्नुभयो । तर, मलाई लाज लाग्यो र गइनँ । मेरो श्रीमानले चिकित्सकसँग सल्लाह गर्दा मलाई हाइपोएक्टिभ सेक्सुअल डिजायर डिसअर्डर (एचएसडिडी) भएको हुनुपर्छ भन्नुभयो रे । यो कस्तो रोग हो ?
पी

यौन समस्यामा लजाउनु भनेको यसलाई झन् झन् जटिल बनाउनु हो । तपाईँ आफैँ गएर जाँच गराए अरू धेरै कुरा थाहा पाइन्छ । हाइपोएक्टिभ सेक्सुअल डिजायर डिसअर्डर प्रायः महिलासँग सम्बन्धित हुन्छ । विभिन्न कारणले यौन इच्छामा कमी आउनु नै एचएसडिडी हुनु हो । सोसाइटी फर वुमेन्स हेल्थ रिसर्चका अनुसार करिब १० प्रतिशत महिलामा यो समस्या हुन्छ । यो समस्या भएमा वैवाहिक जीवन चिसो र कटु हुन्छ ।
दम्पतीको सम्बन्ध आत्मीय बनाउन यौनको ठूलो हात हुन्छ । यौन इच्छामा कमी ल्याउने शारीरिक, मानसिक तथा अन्य कारण हुन्छन् । मधुमेह, मुटुसम्बन्धी रोग, क्यान्सर, बाथ रोग आदिले पनि यौन इच्छा घटाउँछन् । त्यस्तै केही रोगका औषधि सेवनले पनि यो समस्या निम्त्याउँछ । शरीरमा हर्मोनको अवस्था तलमाथि भएमा पनि यो समस्या देखिन्छ । मानसिक तनाव, उदासीनता आदि पनि यो समस्याका कारक हुन् ।
समस्याबाट मुक्ति पाउन चिकित्सकसँग राम्रोसँग छलफल गर्नुपर्छ । इस्ट्रोजेनको पिल्स, प्याच र जेलले पनि यो समस्यामा काम गर्छन् । यो समस्यामा साइकोथेरापी पनि चाहिन सक्छ ।

 

Leave A Comment