सामाजिक तगारो झेल्दै विजातीय प्रेम

शनिबार, २९ माघ २०७३, १२ : ४० शुक्रवार , Kathmandu
सामाजिक तगारो झेल्दै विजातीय प्रेम

हाम्रो जस्तो जातपात, उँचनीचको भावनाले जरो गाडेको समाजमा लैला–मजनू, रोेमियो–जुलियट, मुना–मदन जस्ता आदर्श प्रेम जोडीहरूकै बखान र अनुसरणमा विजातीय जोडीको माया अंकुरण, प्रष्फुटन र झांगिदै त गयो, तर विवाहमा परिणत हुन भने कथित उच्च जातका प्रेमीप्रेमिकालाई जस्तो सरल भएन ।
–प्रकाशचन्द्र परियार

‘अब के गर्ने त दिदी ? एउटा अण्डा फुट्यो त फुट्यो, टाउको ठोकेर पनि केही नहुने, बजियाले डा“डा कटाइहाल्यो !’
पर्वत, माझफाँटकी कौशिला शर्मालाई छिमेकी बहिनी ढाडस दिँदै थिइन् ।  भाग्यलाई दोष देखाएर कौशिलालाई शान्त बनाउने प्रयास गर्दै थिइन्, ती छिमेकी । आफ्नो प्राणप्रिय छोरी उषालाई फुटेको अण्डाको रूपमा बिर्सन समाजले दिएको सल्लाह शिरोपर गर्न बाध्य छिन्, कौशिला । पल्लो गाउँको रामकुमार मिजार र छोरीबीचको वर्षाैंदेखिको चोखोे प्रेम फक्रँदै भागी बिहेमा परिणत भएपछि टोलछिमेक, पानीपँधेरो, गाउँसमाजमा बाहुनकी छोरीलाई मिजारको छोराले टप्काएछ भन्दै उडाउनेदेखि छिःछिः दूरदूर गर्नेहरू प्रशस्तै छाए । जबकि राम र उषाको चोखो प्रेमलाई बिहेमा परिणत गर्न साथ सहयोग, आडभरोसा दिने गाउँकै रेशम अधिकारी, सजना खनाल, अर्चना रेग्मी, भरत आचार्य र विमल तिवारीहरूको युवा जमातमा राम्रो चर्चा र प्रशंसा चलिरहेको छ ।
उता चार वर्षअघि विजातीय प्रेम विवाहमा परिणत भएपछि त्यसलाई विच्छेद गर्न केटालाई मार्न तयार भएका दैलेख, तोली गाउँका भक्तबहादुर शाहीका परिवार र पत्रकारसमेत रहेकी विन्दकला शाहीको नेतृत्वमा आफन्तहरूले सन्तलाई मार्ने योजना बनाउँदै मध्यरातमा घर पसे । छोराबुहारीलाई जोगाउन अघि सरेका सन्त परियारका बाबु सेतेलाई धारिलो हतियार प्रहार गरेर उनीहरूले हत्या गरिछाडे, भदौ १३ गते २०६८ मा । ससुरा सेतेको दुःखद निधनसंगै बुहारीको रूपमा घर भित्रिएकी राजकुमारी शाहीका आफन्तहरू अहिले जेलमा छन् । पतिको हत्या र शाही परिवारको पटक–पटकको दबाब झेल्दै आएकी सन्तकी आमा अमृताको पनि गत वर्ष निधन भइसकेको छ भने सन्त र राजकुमारी फिल्मको भुक्तभोगी नायकनायिका जस्तै जीवन्त पात्र वनेका छन । बाबुआमा गुमाएका सन्त अहिले आफैँ बाबु बनिसकेका छन् । जीवन दुःखसुख, जेनतेन चलि नै रहको छ ।
 उषा र राजकुमारको प्रेम जीवन र सन्त र राजकुमारीको संघर्षको कथामा एउटा आधारभूत समानता के छ भने दुवै नायकहरू नेपाली समाजले विभेद गर्दै आएको कथित साना जातका प्रतिनिधिहरू हुन्, जसलाई रूढीग्रस्त समाजले आजसम्म छुवाछूत र जातीय भेदभावको व्यवहार गर्दै आएको छ । त्यसैले त, जतिसुकै चोखो प्रेम सम्बन्ध भए पनि त्याग, समर्पण र दुःसाहसको जिन्दगी बिताउन तयार विजातीय ज्वाइँ वा बुहारीलाई सहर्ष स्विकार्न हाम्रो कथित उच्च जातिका भनिने अभिभावकहरूलाई निकै कठिन परिरहेको छ । विजातीय, अन्तरजातीय खलकलाई सन्तान नै सुम्पने वा स्विकार्नेबारे उनीहरू न खुल्न सकेका छन्, न त आँखा चिम्लनै तयार छन् । बरु कतिपय व्यक्ति त आजको जमानामा समेत सेतेहरूको हत्यामा उत्रन तयार भए, जेल जान तयार भए ।
संसद्ले २०६८ जेठमा छुवाछूत कसुर तथा सजाय ऐन पारित गरिसकेपछि मात्रै दैलेखका सेते, काभ्रेका अजित मिजार, महोत्तरीका शिवशंकर मण्डललाई विजातीय प्रेम विवाह गरेकै आरोपमा कथित उच्च जातिका अहंकारवादीहरूले मारिदिएका छन् । कतिपय हत्याको आरोपमा जेल सजाय भोगिरहेका छन् भने पद, पहुँच र पैसाको बलमा कतिपय यही समाजमा चर्को कुरा गर्दै दौडिरहेका छन् ।
ऐन आउनु एक दशकअघि महोत्तरीकै कृष्णकुमार पासवानलाई प्रेम झांगिदै विवाहमा परिणत हुनै लाग्दा स्थानीय झा परिवारले हत्या गरेका थिए । संसद्मा समेत निकै चर्चा पाएको उक्त घटनामा पीडित पक्षले न्याय नपाई प्रकरण ओझेलमा प¥यो । हाम्रो जस्तो जातपात, उँचनीचको भावनाले जरो गाडेको समाजमा लैला–मजनू, रोेमियो–जुलियट, मुना–मदन जस्ता आदर्श प्रेम जोडीहरूकै बखान र अनुसरणमा विजातीय जोडीको माया, प्रेम, पिरती स्वच्छ अंकुरण, प्रष्फुटन र झांगिदै त गयो, तर विवाहमा परिणत हुन भने कथित उच्च जातका प्रेमीप्रेमिकालाई जस्तो सरल भएन । उनीहरू निकै ठूला तगारा पन्छाउँदै अघि बढ्न बाध्य छन् । चोखो र निश्छल माया लगाएको आरोपमा आडम्बरी समाजका जातीय अहंकारवादीहरूको निशानामा विजातीय प्रेमका नायकनायिका मात्रै होइनन्, उनीहरूका परिवारका सदस्यले समेत ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य आजसम्म हुन सकेको छैन ।
नत्र, काभ्रेका अजित मिजार जसले स्थानीय कल्पना पराजुलीसँग गहिरो प्रेम गरे, अनि दुवै जनाको सहमतिमा बिहे गरेर घरजम गर्ने ठहरसहित भागी बिहे त गरे, तर बिहे गरेको तीन दिन पनि नपुग्दै उनको रहस्यमय हत्या भयो । टाढाको जिल्ला धादिङको एउटा जंगलमा उनलाई झुन्डिएको अवस्थामा पाइयो । केटी पक्षकाहरूले विजातीय बिहे तोड्न प्रहरीमा गरेको मिलापत्रले पुगेन । किनकि, छोरी फेरि भागेर दलित समुदायको अजितसँगै जान्छे, हाम्रो बेइज्जत हुन्छ भन्ने संकीर्ण सोचले पराजुली परिवारलाई रहस्यमय हत्याकाण्डमा सामेल हुन हौसाइछाड्यो । कतिसम्म भने लाशको पोस्टमार्टमै नगरी गाड्न प्रहरीसँग समेत मिलेमतो गरियो ।
अजितका परिवार र मानवअधिकारकर्मीहरूको आन्दोलनको बलमा लाशको पोस्टमार्टम गरियो । रिपोर्ट आयो– अजितको मृत्यु झुण्डिएर भएको होइन । पोस्टमार्टम रिपोर्ट आएको छ महिना नाघिसक्यो । हत्यामा संलग्न कसैलाई प्रहरी पक्राउ गर्न सक्दैन, किनकि प्रहरी पक्राउ गर्नै चाहँदैन । खासमा ऊ आफैँ प्रत्यक्ष÷अप्रत्यक्ष सामेल भइसकेको छ । लाजगाल पचाउन ऊ रेडिमेड उत्तर दिँदै घटनालाई थप रहस्यमय बनाउँदै पन्छन चाहन्छ । उसलाई थाहा छ– यो नेपालका सबैभन्दा हेपिएका, थिचिएका, किचिएका र अलग्याइएका असंगठित दलित समुदायको समस्या हो, पार लगाउन सजिलो छ ।
विजातीय प्रेम विवाह प्रकरणलाई मानवताविरोधी हत्या, हिंसा र कुटपिटमा उत्रने अहंकारवादी तप्काहरूलाई सजायको दायरामा ल्याउने अग्र प्रयास नगरिए चोखो माया लाएबापत सजाय, अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यता नेपाली समाजले भोगि नै रहनेछ । जसको कारण झापा, कन्काईका विजातीय प्रेम जोडी अस्मिता तोलामी र ईश्वर भट्टराईकै जस्तो प्रेमका लागि जीवन समपर्ण अभ्यास फस्टाउँदै जानेछ । तोलामी र भट्टराई जोडीले परिवार र समाजले अन्तरजातीय बिहे स्विकार्ने वातावरण नदेखेको भन्दै अँगालोमा बाँधिएर नजिकैको खोला छेउको रूखमा झुण्डिएर कठोर आत्महत्या गरेका थिए ।

यी त भए विजातीय प्रेम विवाहले निम्त्याएका केही तगाराहरू, जसले ज्यानै लिने र आत्महत्याको बाटो नै समात्नुपर्ने बाध्यतालाई बढावा दिइरहेका छन् । त्यसो त हाम्रो समाजमा प्रेमभन्दा पनि विजातीय प्रेम विवाहको चरणमा हुने झिनामसिना अड्चनदेखि हत्यासम्मका सवालहरू आइ नै रहेका छन् । यसका बाबजुद यस्ता घटनाहरू देखेर, सुनेर र पढेर पनि अन्तरजातीय प्रेमहरू सफल विवाहमा परिणत भइ नै रहेका छन् ।  यसलाई क्रमशः स्वीकार गरिँदैछ, कछुवाको चालमा भए पनि । किनकि, विजातीय प्रेम विवाहहरूको सफलताको कथाको चर्चा पनि बढ्दै गइरहेको छ । समाज केही खुकुलो, केही उदार र केही सम्झौता गर्न सक्ने सामथ्र्यमा उक्लिँदै छ । तर, खास गरेर राज्यका तर्फबाट हुनुपर्ने पहल र प्रभावकारी कदमहरूको अभावले भने दलित र गैरदलित परिवारका बीच प्रेम पछि गर्न सकिने र परम्परागत रूपमै गरिने मागी बिहेको अभ्यास अझै फितलो छ ।
हाम्रो समाजमा दलित र गैरदलित समुदायबीचको मागी बिहे त निकै टाढाको कुरा जस्तो देखिएको छ । किनकि, कथित उच्च जातिका ब्राह्मण र खत्री, जैसी र क्षत्री एवं अन्य जनजातिका मागी बिहे अझै पनि समाचार नै बनिरहेको अवस्थामा हामी छाँै । यो सामान्य कुरा होइन । अझ दलित र गैरदलित जोडीवीच प्रेमको अंकुर झांगिदै विवाहमा परिणत हुँदा सन्तले वाबु गुमाउनुप¥यो भने अजितको हत्या नै भयो । कृष्णकुमार पासवान र शिवशंकर मण्डलहरूको त वर्षौंअघि प्रेम गरेको अपराधका कारण सफाया नै भइसकेको छ । त्यसैले पनि यस्ता मानवताविरोधी अभ्यासहरूको अन्त्यका लागि सामाजिक न्याय र मानव मर्यादाका ठूलठूला अभियान, प्रचारात्मक महायज्ञ, विशेष कार्यक्रम र खास गरेर समाजिक आन्दोलनहरू अत्यावश्यक देखिएका छन् ।
 

Leave A Comment