वर्षा र प्रेमी

शनिबार, २९ माघ २०७३, १२ : १३ भर्तृहरि , Kathmandu
वर्षा र प्रेमी

चुन पोतेर सेतो भएजस्तै निर्मल किरणद्वारा प्रकाशमान् भएका चन्द्रमा, प्रियतमाको सुन्दर मुख र अत्यन्त सुगन्ध आउने चन्दनचूर्ण आदि देख्नासाथै मनलाई प्रसन्न पार्ने फूलका माला यी सबै चिजहरूले केवल प्रेमीजनको मनलाई हलचल पारिदिन्छन् । वैरागीहरूको मन भने यी चिजबाट हलचल हुँदैन । अत्यन्त तीव्र रूपले कामेच्छालाई बढाउने, मालती फूलहरू ढकमक्क फुल्दा चारैतिर सुवास फैलिएको, कालो–कालो बादलले ढाकिरहेको अथवा अग्ला र पुष्ट स्तन भएकी बैँसालु युवतीको रूप लिएको यो वर्षा ऋतुले कसको मनलाई हर्षित पारेको छैन र ? वर्षायाममा सबैको कामेच्छा जागेर आउँछ र सबै मानिस खुशी रहन्छन् । बादलले ढाकिरहेको आका, कोमल घाँसहरू उम्रिरहेको जमिन, नयाँ–नयाँ कदम फूलको बास्नाले सुगन्धित तुल्याइएको र हावा लागिरहेको एवं मयुरको मिठो बोली गुन्जिरहने बगैँचाले सुखी–दुःखी सबै खाले प्राणीलाई रतिक्रीडातर्फ उत्कण्ठित तुल्याउँछन् । आकाशभरि टम्म घना बादल लागेको अनि चारै दिशालाई बादलैबादलले ढाकिरहेको देखिन्छ । पानी दर्कने आशा राखिरहेका र नाच्नका लागि उल्लासपूर्ण रूपले तम्सिरहेका मयुरले खचाखच भरिएका पहाड देखिन्छन् । जमिन पनि भर्खरै टुसाएका घाँसले स्वच्छ मनोरम देखिन्छ । यस्तो स्थितिमा बटुवाले कता कहाँ के हेर्ने हो ? किनभने बाटोमा देखिएका यी सबै वस्तुले कामोद्दीपक जगाउँदै उसलाई सताइरहन्छ । कतै–कतै बिजुली चम्किएको छ । कहीँभने केतकी फूलको बास्ना फैलिरहेको छ । एकातिर आकाशलाई बादलले ढाकेर मेघ गर्जिएको आवाज सुनिन्छ । अर्कोतिर मयुरहरू नाच्ने खेल्ने गरिरहेकाले मजालाग्दो गरी हल्लीखल्ली मच्चिएको छ । यस्तो समयमा चञ्चले आँखाले हेर्ने शृंगार पारेर बस्ने सुन्दरीको वियोगको (पति नहुँदाको)  दिन कसरी व्यतीत भइरहेका होलान् । उनीहरूका लागि वर्षायाममा यी दिन ज्यादै नै कष्टप्रद हुन गएका छन् ।
 

 

Leave A Comment