जय भोजपुरी !

बुधबार, २६ माघ २०७३, १२ : १५ शुक्रवार , Kathmandu
जय भोजपुरी !

नेपाली फिल्म खेल्दाखेल्दै भोजपुरी फिल्म उद्योगमा पुगेका विराज भट्ट त्यताका ठूलै स्टार बने । रवि किसन, मनोज तिवारी र निरहुवापछि उद्योगमा उनकै दबदबा थियो । पाँच वर्ष उनले नेपाली फिल्म उद्योगमा आँखा पनि लगाएनन् ।  तर, अचानक निखिल उप्रेतीले ‘कमब्याक’ गरेर हल्लाखल्ला मच्चाएको देखेपछि विराजलाई सायद लाग्यो, म पनि के कम ?  उनले पनि कमब्याक गर्ने उद्घोष गरे । यसका लागि उनले आफ्नै पुराना मित्र रोज राणाको भरोसा गरे । ‘परशुराम’ नाममा घोषणा भएको फिल्म  ‘जय परशुराम’  शीर्षकमा रिलिज भयो ।
 फिल्मभित्र विराज कैयौँ चोटि हावामा उडेका थिए । तर, फिल्म रिलिज भएपछि यथार्थमा निर्माता भुइँमा बजारिए । करोडभन्दा बढी लगानी भएको फिल्मले चार भागमा एक भाग पनि पैसा उठाएन । रिलिजअघि  विराजले वर्षमा छानेर मात्र फिल्म गर्ने बताएका थिए । तर, ‘जय परशुराम’ रिलिज भएको लामो समय बितिसक्दा पनि उनले दोस्रो फिल्म खेल्न लागेको खबर बाहिरिएको छैन । सुन्नमा आएको छ– विराज फेरि भोजपुरी फिल्मतिरै फर्किएका छन् । तर, ‘जय परशुराम’को गति देखेपछि मनमनै उनी भनिरहेका होलान्– ‘जय भोजपुरी !’

 

Leave A Comment