रेकर्डिङसँगै झ्यांगिएको पिरती

बुधबार, २६ माघ २०७३, ११ : ४० शुक्रवार , Kathmandu
रेकर्डिङसँगै झ्यांगिएको पिरती

भारतीय गजल गायक जगजीत सिंह संगीतप्रेमीमाझ लोकप्रिय नाम हो । राजस्थानमा जन्मेका जगजीत सानैदेखि गायक मोहम्मद रफीका गीत सुन्न रुचाउँथे । गुनगुनाउँथे पनि । गायन क्षेत्रमा उनको सफलताको कथा रोचक छ । उनको प्रेमकथा पनि उत्तिकै रोचक छ ।
सन् १९६५ मा गायनमा भविष्य खोज्दै जगजीत मुम्बई छिरे । त्यसपछि सुरु भयो, उनको संघर्षको समय । मुम्बईमा उनी ‘पेइङ गेस्ट’ भएर बस्थे । विज्ञापनका जिंगल्सदेखि बिहेभोजतिर गीत गाएर उनी दुई छाक टार्ने जोहो गर्थे । सन् १९६७ मा जगजीतको भेट चित्रासँग भयो ।
चित्रा आफ्ना श्रीमान् देबुप्रसाद दत्ता र छोरी मोनासँग मुम्बईमा बस्थिन् । देबु ब्रिटानिया बिस्कुट कम्पनीका ठूला अधिकारी थिए । उनलाई साउन्ड रेकर्डिङको सोख थियो । त्यसैले उनले घरमै रेकर्डिङ स्टुडियो बनाएका थिए । चित्रा प्रायः झ्यालमा उभिएर छिमेकीसँग कुरा गर्ने गर्थिन् । एक दिन झ्यालमा उभिइरहँदा उनले तल एक जना युवा उभिएको देखिन् । जसले एकदमै ‘टाइट फिटिङ’ सेतो प्यान्ट लगाएका थिए । उनको प्यान्ट देखेर चित्राले हाँसो रोक्न सकिनन् र खित्का छोडेर हाँसिन् । टाइट प्यान्ट लगाउने ती युवा जगजीत सिंह नै थिए । उनी छिमेकीको पार्टीमा गजल गाउन आएका थिए । भोलिपल्ट चित्रा जब छिमेकीका घर गइन्, त्यहाँ सबैले गजल गायकको प्रशंसा गरेको सुनिन् । रेकर्डिङ सुन्ने इच्छा व्यक्त गरिन् र सुनेपछि मुख बंग्याउँदै भनिन्– ‘छ्या, यस्तो पनि गायक हुन्छ ! गजल त तलत महमुदले गाउँछन् ।’
एक दिन चित्राका घर एक जना युवा आए । चित्राले उनको परिचय सोध्नुअघि नै रेकर्डिङका लागि देबुसँग भित्र बसेका महिन्दरजीत सिंहले भने– ‘ए लल्लु ! तिमी छिटो आऊ ।’ ती लल्लु थिए, जगजीत सिंह ।
केही बेरपछि रेकर्डिङ सुरु भयो । स्वर सुनेर चित्राले चिनिहालिन्, त्यो टाइट प्यान्ट लगाउने केटा यही नै हो । केही कारणवश गीत गाउने गायिका नआएपछि महिन्दरजीत सिंहले चित्रालाई गीत गाउन भने । चित्राले उनको प्रस्ताव अस्वीकार गरिन् । आफूसँग गीत गाउन अस्वीकार गरेको देख्दा जगजीतले चित्राको घर हेर्दे भने– ‘हुन त तिमीलाई गाउनुपर्ने आवश्यकतै  छैन ।’
पछि बिस्तारै चित्रा जगजीतसँग रेकर्डिङ गर्न मानिन् । दुवैबीच कुराकानी हुन थाल्यो र उनीहरू साथी भए । अर्कोतिर चित्राका श्रीमान् देबु अर्कै केटीको प्रेममा परे । एक दिन उनले चित्रालाई भने– ‘चित्रा तिमी राम्रोसँग गीत गाउन सक्छौ । तिमी यसमै करिअर बनाऊ । म अन्तै जान चाहन्छु ।’ पछि, चित्राले देबुको प्रेमबारे थाहा पाइन् । सन् १९६८ मा उनीहरूको सम्बन्ध विच्छेदको प्रक्रिया सुरु भयो । चित्रा छोरीसँग अर्कै घरमा सरिन् ।
चित्राको दुःखमा जगजीतले भरपूर साथ दिए । एक दिन उनले चित्रालाई भने– ‘म तिमीसँग बिहे गर्न चाहन्छु ।’ यो कुरा सुनेर चित्राले यति मात्र भनिन्– ‘अहिले मेरो सम्बन्ध विच्छेद भएको छैन ।’ जगजीतले भने– ‘म सम्बन्ध विच्छेद हुँदासम्म पर्खन्छु ।’ सन् १९७० मा देबुले दोस्रो बिहे गरे ।
सुन्दा अचम्म लाग्छ– तर यो कुरा सत्य हो, जगजीत देबुसँग बिहेको स्वीकृति लिन गएका थिए । जगजीतले देबुसँग भनेका थिए– ‘म तिम्रो श्रीमतीसँग बिहे गर्न चाहन्छु ।’ उनको कुरा सुनेर देबुले मुसुमुसु हाँस्दै भनेका थिए– ‘म अगाडि निस्किसकेँ । चित्रा आफ्नो जीवनको निर्णय लिन स्वतन्त्र छिन् ।’
जगजीत र चित्राले एकदमै साधारण तरिकाले बिहे गरेका थिए । बिहेमा उनीहरूले भारु ३० मात्र खर्च गरेका थिए । केही समयपछि उनीहरूको छोरा विवेक जन्मियो । जवान विवेक मुम्बईको एक सडक दुर्घटनाको शिकार बने । छोराको मृत्युपछि जगजीत र चित्रा दुवैको जिन्दगीमा बाढी पस्यो । चित्राले गाउनै छोडिन् र केही समय जगजीतले पनि गाएनन् । पछि, संगीतमा डुबेर छोरोका दुःख बिर्सने प्रयास गर्न थाले उनले । तर, चित्रा गायनमा फर्किनन् । सन् २००३ मा जगजीतलाई भारत सरकारले कला क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पद्म भूषणबाट सम्मानित ग¥यो । सन् २०११ मा ‘ब्रेन ह्यामरेज’का कारण जगजीतको देहान्त भयो ।

 

Leave A Comment