सेतो दुभी रोग होइन

मङ्गलबार, २५ माघ २०७३, १२ : २४ डा. धर्मेन्द्र कर्ण , Kathmandu
सेतो दुभी रोग होइन

सेतो दुभीलाई ठूलो रोग भन्ने अन्धविश्वास छ । वास्तवमा यो कुनै रोग होइन । यसले शरीरलाई हानि/नोक्सानी पु¥याउँदैन । हेर्दा नराम्रो देखिनेबाहेक योसँग डराउनु र तर्सिनुपर्ने कुनै कारण छैन । चिकित्सकीय भाषामा यसलाई ‘ल्युकोडर्मा’ वा ‘भिटिलिगो’ भनिन्छ । बोलचालको भाषामा सेतो दाग, श्वेत कुष्ठ, दुभी, पाण्डुरोग, फुलबहरी भन्ने गरिन्छ । ‘यो एक व्यक्तिबाट अर्कोमा सर्दैन । यो छालाको रङ खुलिएको अवस्था मात्रै हो । यसलाई पूर्वजन्मको पाप र अभिशापका रूपमा लिने अन्धविश्वासका कारण सेतो दुभी भएकाहरूले हीनताबोध गर्ने गरेको पाइन्छ । यसको उपचार नगर्दा पनि यसले शरीरको भित्री वा बाहिरी अंगमा कुनै असर हुँदैन । सेतो दुभीले आयु पनि घटाउँदैन । तर, यो शरीरको विभिन्न भागमा फैलिन सक्छ । छालाको स्वाभाविक रङ खुलिएर बढी सेतो देखिने भएकाले सेतो दुभी भएकाहरूलाई अरूले हेरिदिने र समाजमा यसलाई गलत रूपमा लिइदिने भएकाले यस्तो समस्या भएकाहरूको आत्मविश्वास केही मात्रामा घटेको पाइन्छ । युरोप तथा अमेरिकातिर गोरो छाला हुनेहरूमा यस्तो समस्या नगण्य मात्रामा देखिन्छ । छाला बढी सेतो हुनेहरूमा यो प्रस्ट रूपमा देखिँदैन । हाम्रो छाला कालो वा गहुँगोरो भएको हुनाले यो बढी देखिन्छ । युरोप तथा अमेरिकातिर सेतो दुभी भएका युवती मोडलिङमा लागेर राम्रो आयआर्जन गरिरहेका हुन्छन् । आफूसँग भएको प्रतिभा प्रदर्शन गरिरहेका हुन्छन् । हाम्रोमा युवतीहरूमा यो समस्या देखियो भने घरबाटै बाहिर निस्कन डराउने तथा अरूले के भन्लान् भनेर डर मानेर लुकेर बस्ने गरेको पाइन्छ । यो समस्यालाई सामान्य रूपमा लिएर आफ्नो कामकाज गर्ने तथा यो कुनै रोग नभएको कुरा बुझाउनेतिर हाम्रो ध्यान जान जरुरी छ ।
के कारणले हुन्छ ?
हाम्रो शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमता गडबड हुँदा त्यसले छालामा रङ दिने तŒव ‘मेलानोसाइट्स’लाई नष्ट गरिदिन्छ । जसका कारण छालाको स्वाभाविक रङ परिवर्तन भई सेतो हुन थाल्छ । प्रायः यो १० देखि २० वर्ष र ४० देखि ५० वर्षको उमेरमा बढी देखिन्छ । यो कुल जनसंख्याको १ देखि २ प्रतिशतमा हुने गरेको तथ्यांक छ । सेतो दुभी भएका व्यक्तिहरूको शरीरमा प्रतिरोधात्मक क्षमता चाहिनेभन्दा बढी उत्तेजित भएर छालालाई रङ दिने कोषलाई नष्ट गरिदिन्छ र छाला सेतो देखिन्छ । जुन अंगमा बढी घर्षण हुन्छ त्यहाँ यो देखिन्छ । आँखाको वरिपरि, ओठ, घाँटी, काखी, औँला, लिंग आदिमा सेतो दुभी बढी देखिन्छ ।
यसका प्रकार
यो जन्मजात हुने समस्या होइन । यो दुई प्रकारका हुन्छन् । एउटा फैलिने खालको र अर्को नफैलिने खालको । फैलिने खालको सेतो दुभी शरीरको एउटा भागमा आयो भने अर्कोतिर पनि सर्छ । यसले पुरै शरीर ढाक्न पनि सक्छ । तर, नफैलिने खालको छ भने शरीरको जुन भागमा आएको हो त्यही भागमा मात्र सीमित हुन्छ ।
के गर्न हुन्छ ? के गर्न हुँदैन ?
यसलाई अभिशापका रूपमा लिएर चिन्ता गर्न छोड्नुपर्छ । यो कुनै रोग नभएकाले यसबाट डराएर वा लजाएर आफ्नो दैनिक कामकाजमा ‘डिस्र्टब’ हुन दिनुहुँदैन । यो छाला रोग विशेषज्ञले निको बनाउन सक्ने समस्या हो । सेतो दुभी आएको अंगमा चोटपटक लाग्नु हुँदैन । यो समस्या भएकाहरूले मध्यम खालको घाममा बस्दा राम्रो हुन्छ । कसिलो लुगा, प्लास्टिक, लेदर र रबरले बनेका जुत्ता लगाउनु हुँदैन ।
कसरी हुन्छ उपचार ?
यसको उपचारका लागि लामो समय लाग्छ । त्यसैले छिटो रिजल्ट नखोजेर केही समय धैर्य गर्न सक्नुपर्छ । धुलिखेल अस्पतालले फोटोथेरापी पद्धतिबाट उपचार गर्न थालेपछि यसको उपचार सहज भएको छ । औषधि सेवन गर्ने, क्रिम लगाएर घाममा बस्नेजस्ता उपचार पद्धतिको विकल्पमा आएको ‘न्यारो ब्यान्ड  फोटोथेरापी’ उपचार पद्धति निकै प्रभावकारी छ । विशेष प्रकारको मेसिनभित्र ट्युबलाइटको माध्यमबाट सेकेर गरिने यो उपचार विधिले सेतो दुभी ९० प्रतिशतसम्म ठीक हुन्छ । मेलेनोसाइट्स प्रत्यारोपण गरेर पनि सेतो दुभीको उपचार गरिन्छ । त्यसैले सेतो दुभी भएकाहरूले चिन्ता गरेर बस्नुभन्दा पनि यसको उपचार हुने अस्पताल गएर छालारोग विशेषज्ञसँग परामर्श गर्ने र आफूलाई सहज हुने उपचार पद्धति अपनाउनुपर्छ ।

 

Leave A Comment