बेमेलले दुःख ल्याउँछ

मङ्गलबार, २५ माघ २०७३, ११ : ५२ विदुर नीति , Kathmandu
बेमेलले दुःख ल्याउँछ

आपसमा फुट र कलह गर्ने मानिस जतिसुकै नरम बिछ्यौना लगाएको आरामदायी पलङमा सुत्दा पनि उसलाई सुखको निद्रा पर्दैन । साथै आफ्ना अनुचर तथा भाटहरूले गरेका स्तुतिपाठ आदिले पनि कलहमा फसेका व्यक्तिलाई शान्ति र चैन दिँदैनन् । हितकारी कुरा गर्दा पनि आपसी कलहमा संलग्न भएका मानिसलाई राम्रो लाग्दैन । उनीहरूलाई योगक्षमको सिद्धि वा सफलता पनि हुँदैन । सधैँभरि पानी छर्केर बढाइएका पातला लहराहरू झाँगिएपछि धेरै वर्षसम्म अनेकौँ झरी वर्षालाई खपिरहन्छन् । यही कुरा सत्पुरुष एवं असल मानिसको सन्दर्भमा पनि लागू हुन्छ । बलिरहेका दाउराको बिटोलाई अलग–अलग गरेर छुट्याइदिएमा धुँवा निस्कन थाल्छ । एउटै बिटो बनाएर बालिदिएमा बलिरहन्छन् । यसै प्रकारले मनुष्यका जाति बन्धुबान्धवहरू पनि आपसमा फुट–बेमेल हुँदा दुःख पाउँछन् । एकता हुँदा सुखी रहने गर्छन् । ठिंगो रूख ठूला र मजबुतसँग जरा गाडिएकै भए पनि एकैछिनको आँधीबेहरीले बलपूर्वक त्यसको हाँगाबिँगा र जराहरूसमेत लडाइदिन्छ । एकै ठाउँमा नजिक खडा भइरहने अनेकौँ रूख जो समूहको रूपमा खडा छन्, ती रूखहरूले एक आपसको सहारा पाएर ठूला–ठूला आँधीबेहरीलाई पनि सहन गर्छन् । यस्ता रूखले लड्नु या ढल्नुपर्दैन । जसरी सानै भए पनि रथले भारी बोकेर ढुवानी गर्न सक्छ तर आकारमा रथभन्दा ठूलो भए पनि भुइँमा लडिरहेको काठको भारीले ढुवानी गर्न सक्दैन । यसैगरी जो श्रेष्ठ र उत्तम कुलमा जन्मेको मानिस छ, उसले भार वहन गर्न सक्छ । आफ्नो जिम्मेवारी वहन गर्न समर्थ हुन्छ । दुष्ट मानिसको स्वभाव मेघको झैँ चञ्चल हुन्छ । दुष्ट मानिसलाई अचानक रिस उठ्ने हुनाले अर्कासँग क्रोध गर्छ । र, बिनाकारण खुसी पनि भइदिन्छ ।

 

Leave A Comment