जिन्दगीलाई बदामको सहारा

सोमबार, २४ माघ २०७३, ०१ : ३८ शुक्रवार , Kathmandu
जिन्दगीलाई बदामको सहारा

रचना श्रेष्ठ
माघको जाडो छल्न विष्णुमाया महर्जनले शरीरलाई पछ्यौराले ढपक्क छोपेकी छिन्, शिरमा रातो टोपी लगाएकी छिन् । उनका सामुन्ने छ, बदामको नाङ्लो  । नाङ्लाभरि छन्, झुरुमझुरुम भुटेका बदाम । अनि, त्यही छेउमा राखिएको छ, ह्विलचियर । जो विष्णुमायाको हो । उनी फरक क्षमता भएकी महिला हुन् ।
बदामका लागि उनी हरेक बिहान ह्विलचियरमा बालुवाटारदेखि कालीमाटी पुग्छिन् । कालीमाटीबाट बदामको पोको ह्विलचियरमा बोकी बालुवाटार फर्किन्छिन् । बालुवाटारको सडकपेटीमा उनले बदामको नाङ्ले पसल थाप्छिन् । दिउँसो १२ बजेबाट उनको बदाम व्यापार सुरु हुन्छ ।
पाँच वर्षको उमेरमै उनी पोलियोको शिकार भइन् । ‘पाँच वर्षकी हुँदा पोलियो लागेपछि जन्म दिने आमाले नै आगो लगाई मार्न खोजिन्,’ विष्णुमाया भन्छिन्, ‘त्यसपछि त रोग झन् बल्झियो ।’ आमा निष्ठुरी भए पनि बुबा सहयोगी भएको विष्णुमाया बताउँछिन् । ‘धेरै वर्षसम्म बुबा मेरो उपचारका लागि अस्पतालतिर धाउनुभयो । तर, पनि केही सुधार हुन सकेन,’ ३० वसन्त पार गरेकी उनी भन्छिन् ।
कलिलो उमेरमा उनी सुस्त मनस्थिति केन्द्रमा आबद्ध भइन् । ‘शरीरका सबै अंग ठीक थिए, खुट्टा मात्र अपांग र कुँजो भइदियो । तैपनि, केन्द्रमा बसेँ,’ उनी भन्छिन् । सुस्त मनस्थिति केन्द्रमा उनले केही नेपाली अक्षर चिन्ने अवसर पाइन् । केन्द्रमै स्वेटर बुन्न सिकिन् । ‘त्यो सीपको के गर्नु । एउटा स्वेटर बुनेको पचास रुपैयाँ मात्र दिन्थे,’ उनी गुनासो गर्छिन्, ‘मलाई कोठामा थुनेर राख्थे । विदेशीहरू आए भने फोटो खिचेको खिचै गर्थे । मलाई नमज्जा लाग्थ्यो ।’
आफ्नो फोटो खिचेको पैसा आउने भन्ने सुनेको उनी बताउँछिन् । ‘तर, मेरो पोल्टोमा एक सुक्का पैसा पर्दैन थियो । एक दिन त चोरको दोषसमेत लगाए । अत्ति भयो । आफूमाथि भएको अत्याचार सहन नसकी त्यहाँबाट भागेँ,’ गहभरि आँशु पार्दै उनी भन्छिन् ।
विष्णुमायाका बुबाले पछि अर्को बिहे गरे । बाबुले अर्को विवाह गरे पनि बुबाको माया लाग्ने उनी बताउँछिन् । ‘बाबुबाट साथ र सहयोग सक्दो पाएकी थिएँ । तर, सौतेनी आमाले घरमा डेरा जमाएपछि एउटा सानो झुत्रो टहरा मेरो घर बन्यो । त्यहीँ बित्थे मेरा दिन र रात,’ उनी भन्छिन्, ‘सौतेनी आमाले शारीरिक मात्र होइन, मानसिक यातना पनि दिन्थिन् ।’
एक समय आफूलाई जिन्दगीदेखि विरक्त लागेको उनी बताउँछिन् । ‘आफन्तबाट अलग्याएका थिए मलाई । अरूले गिज्याउँथे पनि,’ उनी भन्छिन्, ‘बेचैनी र पीडा बढ्दै गएपछि एक पटक त आत्महत्या गरुँ कि जस्तो पनि लाग्यो ।’ तर, उनले हरेस खाइनन् । संंघर्ष गरिन् । र, अगाडि बढिन् । अपांग भत्ताबाट आएको केही रकमलाई सदुपयोग गरी सडकपेटीमै भए पनि बदामको व्यापार गर्ने सोच बनाइन् । ‘जाडोमा बदाम बेच्छु र गर्मीमा तौल नाप्ने मेसिन राख्छु । यसरी नै बाँचिरहेकी छु,’ विष्णुमाया भन्छिन् ।
अशान्त मनलाई शान्त पार्न ह्विलचियर गुडाउँदै चर्च जाने गरेको उनी बताउँछिन् । ‘ह्विलचियर गुडाउँदै चर्च जान्थेँ । आशाका केही किरण बटुली घर फर्कन्थेँ । आनन्द लाग्थ्यो । यसरी नै जीवन जिउन सिकेँ । अनि, संघर्षलाई रोजेँ,’ उनी भन्छिन् ।
अहिले एक्ली छैनन्, उनी । उनको साथमा छ, रानी । रानी अर्थात् पोथी कुकुर । ‘अहिले मेरो साथमा तीन वर्षे सानो पप्पी छ । उसको नाम रानी राखेकी छु । ऊ साँच्चै मेरो मनको रानी भइसक्यो,’ उनी भन्छिन्, ‘धेरै चकचक गर्छ । तर, पनि मेरो एक मात्र सहारा भनेकै उही नै हो । रानी छ त्यसैले ढुक्क छु ।’

 

Leave A Comment