अपराध दु्रत, कारबाही सुस्त

सोमबार, २४ माघ २०७३, ०१ : ३१ गोपाल दाहाल , Kathmandu
अपराध दु्रत, कारबाही सुस्त

माघ १६, दिउँसो २ बजेतिर धरान–१५ पतञ्जलीमार्गमा २२ वर्षीय साइमन कार्कीले आफ्नै बाबु ४४ वर्षीय अटुराज कार्कीको पेट र छातीमा छुरा प्रहार गरेर हत्या गरे ।
त्यही साँझ धरान–१८ शिवमार्गमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सन्तोष विकको समूहले एमाले युवा संघका धरान नगर इन्चार्ज दिवस राईलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनायो । उनको काठमाडौँमा उपचार हुँदै छ ।
धरानमा एकैदिन भएका यी घटनाले अपराध गर्नेहरू सक्रिय भएको देखाउँछ । यी मात्र होइन छ महिनायता धरानमा हत्या र ग्याङ फाइटका दर्जनजति घटना भए । लगातार भएका यस्ता आपराधिक घटनाले धरानवासीमा त्रास थपेको छ भने धरानको बदनामी पनि भएको छ । त्यति मात्र होइन सुरक्षा जिम्मा पाएको प्रहरीको भूमिकाप्रति प्रश्नसमेत उठेको छ । स्थानीय प्रहरी राजनीतिक दलका नेता र गुण्डाहरूको प्रभावमा परेका कारण पनि अपराध बढेको चर्चा छ, धरान बजारमा । आपराधिक घटना दु्रत गतिमा अघि बढिरहे पनि प्रहरी भने सुस्त गतिमा अघि बढिरहेको छ ।
माघ १६ को साँझमा भएको घटनामा संलग्न दुवै पक्ष राजनीतिक दलमा आबद्ध युवा हुन् । एमालेको युवा संघका धरान इन्चार्ज दिवस राई पहिला झैझगडाका घटनामा संलग्न युवा हुन् । पछिल्लो समय राजनीतिमा सक्रिय भएपछि भने उनले आफू समाजका विकृतिविरुद्ध लड्ने र गुण्डागर्दी त्याग्ने बताउँदै आएका थिए । दिवसमाथि खुकुरी प्रहार गर्ने समूहका नाइके सन्तोष विक पहिला पनि गुण्डागर्दी, गोलीकाण्ड, छुरा प्रहारजस्ता घटनामा संलग्न हुँदै आएका युवा हुन् ।
गएको असार १५ गते सन्तोष विकलगायत युवाले धरानको भानुचोकमा सञ्चालन गरेको मालिंगो रेस्टुरेन्टमा दुई समूहका युवाबीच झगडा भएको थियो । घटनामा छुरा र सिसा प्रहारबाट संघीय लिम्बूवान पार्टीको युवा परिषद्का केन्द्रीय सदस्य सञ्जयकुमार राई र जिल्ला कार्यसमिति युवा परिषद्का अध्यक्ष प्रकाश लिम्बू घाइते भएका थिए । उनीहरूले किटानी जाहेरी दिए पनि रेस्टुरेन्ट सञ्चालक विक पक्राउ परेनन् । लुकेर बसेका उनी जिल्ला अदालतले ४५ हजार धरौटी लिएपछि खुल्ला भए । अहिले पनि उनको मुद्दाको भने फैसला भइसकेको छैन । पटक–पटक यस्ता घटनामा मुछिए पनि विकलाई पार्टीले कारबाही गरेको छैन । होटल एसोसिएसन धरानले उनैलाई सल्लाहकार बनाएको छ भने होटल व्यवसायी महासंघले भर्खरै केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । अघिल्ला घटनामा राजनीतिक प्रभावले पक्राउ पर्न नसकेका विक यस पटकको घटनामा भने पक्राउ परेका छन् । उनीविरुद्ध किटानी जाहेरी परेको छ । नेपाली कांग्रेसका धरान नगर सभापति तिलक राई युवालाई जिम्मेवार बनाउने उद्देश्यले पार्टीमा आबद्ध गराइएको तर उनीहरूको व्यक्तिगत कारणले यस्ता घटना हुने गरेको बताउँछन् । भन्छन्, ‘सबै मिलेर यस्ता घटना नहुने वातावरण बनाउनु आवश्यक छ ।’
असार १५मा मालिंगो रेस्टुरेन्टको झगडा र साउन १५ मा धरान १५ निराजन बस्तीका चुचू भनिने दीपक (दीपाकर) राईको घरमै हत्या भएपछि धरानको सुरक्षा व्यवस्थाबारे शुक्रवारको प्रश्नमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले भनेका थिए, ‘हामीले यहाँका धेरै युवाको विस्तृत जानकारी राखेका छौँ । धरानलाई पुरानो अवस्थामा पुग्न दिदैनौँ ।’
डीएसपी खतिवडाको ‘धरानलाई पुरानो अवस्था पुग्न नदिने’ भनाइलाई चुनौती दिँदै हरेक महिना ठूला घटना हुन थाले । झैझगडाका घटना बढिरहेका बेला कात्तिक १२ मा विभिन्न युवामाथि छुरा प्रहार भयो । १८  गते छ जनाको एक समूहले धरान–१३ का रोदन ताम्राकारलाई छुरा हानेर हत्या गरे । मंसिर ५ गते युवाको छुरा प्रहारबाट सनम ढकाल घाइते भए । त्यसपछि पुस ९ गते धरान–१५ चुम्लुङ भवननजिक चार जनाको समूहले विकास राजवंशीको घाँटी रेटेर र ढुंगाले किच्याएर हत्या ग¥यो । त्यसपछि माघ १६मा छोराले बाबुको हत्या र युवाको ग्याङफाइट भयो । यी त चर्चामा आएका ठूला घटना मात्र हुन् । घटना त हप्तैपिच्छे हुने गरेका छन् । अहिले भने डीएसपी ढकाल आफूले अपराध नियन्त्रणका लागि सक्दो प्रयास गरेको बताउँछन् । धरान ठूलो जनघनत्व र पूर्वमा बढी अपराध घटना हुने ठाउँ भए पनि अन्य इलाका प्रहरी कार्यालयको तुलनामा २८ जना जनशक्ति कम भएको बताउँछन् । उनी भन्छन्, ‘हरेक घरमा प्रहरी पु¥याउन सकिँदैन तर अपराध न्यूनीकरण गर्न सक्दो प्रयास गरेका छौँ ।’

Leave A Comment