गाउँप्रति समर्पित पाँच दाजुभाइ

सोमबार, २४ माघ २०७३, ०१ : १० गोपाल दाहाल , Kathmandu
गाउँप्रति समर्पित पाँच दाजुभाइ

एक दशकयता नेपालका ग्रामीण क्षेत्रबाट युवा पलायन हुने क्रम ह्वात्तै बढ्यो । युवाहरू विदेश गए र फर्किएपछि शहरतिरै बसे । अहिले पनि धेरै गाउँ युवाविहीन छन् ।
ओखलढुंगाको मोली गाउँको अवस्था पनि अरू गाउँभन्दा फरक थिएन । माओवादी द्वन्द्वले गाउँमा बस्न नसकेपछि यहाँका युवा पनि विदेशतिर लागे । पढ्दै गरेका बालबालिका पनि कोही टाढाका शहर गए, कोही सदरमुकामतिर । स्थानीय युवा राजकुमार रुम्दाली त्यति बेलासम्म गाउँमै थिए । कांग्रेसका समर्थक उनलाई एक दिन सेनाले माओवादी आरोपमा समातेर दुःख दियो । एकातिर गाउँको अवस्था अर्कातिर घरको आर्थिक अवस्था । गाउँमै केही गर्ने सोच भएका उनी पनि बाध्य भएर २०६० सालमा इराक गए ।
तीन वर्ष विदेश बसेर फर्किएका उनलाई शहर पलायन हुन मन लागेन । मोली गाउँमा खेतीपाती गर्न पानीको समस्या थियो । समस्याबीच पनि उनले पुर्खाको बिँडो थाम्ने आँट गरे । विदेशबाट ल्याएको तीन लाख रुपैयाँ लगानी गरेर २०६५ सालमा ‘पारुहाङ बंगुर फर्म’ खोले । तरकारी खेती पनि गर्न थाले ।
अहिले राजकुमारको सिको गर्ने गाउँमा मात्र होइन जिल्लाभर भेटिन्छन् । पहिला वर्षमा एक बाली पनि नहुने गाउँमा अहिले तीन बालीसम्म अन्न फल्छ । हरेक घरमा सिँचाइका लागि प्लास्टिक पोखरी छन् । गाउँमा उत्पादन भएका तरकारी ओखलढुंगा बजार पठाइन्छ । जिल्लाका २५ गाविसमा कृषिलगायत विकासका काम गर्ने एकीकृत स्रोत व्यवस्थापन समितिका अध्यक्ष छन्, राजकुमार । उनी नेपाली कांग्रेसको मोली गाउँ कमिटीका सभापति पनि हुन् । अन्य जिल्लाबाट खेती र फर्म हेर्न भ्रमण टोली आउने राजकुमार बताउँछन् । ‘युवा जाग्ने हो भने नेपालका गाउँ हराभरा हुनेछन्,’ उनले भने ।
राजकुमार विदेश जानुअघि नै उनका भाइ धीरेन्द्र, जीतेन्द्र, ज्ञानेन्द्र र दीपेन्द्र पढ्न धरान झरिसकेका थिए । सबै दाजुभाइले गाउँ छाडे तर उनीहरूलाई गाउँको मायाले छाडेन । गाउँ विकासका लागि बुबा हेमराज राईले स्थापना गरेको ‘कालिका युवा क्लब’ छोराहरूले सम्हालेका थिए । गाउँका हेडमास्टर थिए उनका बुबा हेमराज । २८ वर्षकै उमेरमा उनको सुनकोशीमा खसेर मृत्यु भयो । बुबाको चिनो त्यही क्लबको पनि खुब माया लाग्यो । कान्छा दीपेन्द्र गाउँ फर्किए । घरपरिवार हेर्दै दीपेन्द्र सदरमुकाममा पढ्न थाले । क्यासेट सेन्टर खोलेर व्यापार पनि थाले । आठ वर्ष क्लबको अध्यक्ष भएर काम गरे । २०६१ देखि पत्रकारिता थालेका उनले निमावि शिक्षकको जागिर छाडेर पत्रकार महासंघको नेतृत्व लिए । अहिले उनी पत्रकार महासंघ ओखलढुंगा जिल्लाका अध्यक्ष छन् ।
दाजु र भाइ गाउँको विकासमा सक्रिय बनिरहेको बेला साइला ज्ञानेन्द्र धरानमा विद्यार्थी राजनीति र फर्निचर व्यवसाय गर्दै थिए । २०६३ मा उनी पनि गाउँ फर्किए र नेपाल विद्यार्थी संघको सभापति बने । त्यससँगै क्लब र संघ संस्थामा आबद्ध भएर गाउँको विकासमा लागे । सरकारले कोशी नदी व्यस्थापनका लागि ल्याएको कार्यक्रममा क्लबको विकासको अनुभव काम लाग्यो । उनीहरूकै सक्रियतामा डब्लुडब्लुएफ र युनिसेफको सहयोग आयो गाउँमा । मोलीका घरघरमा गोबर ग्यास, प्लास्टिक पोखरी, थोपा सिँचाई, जुठेल्नो कार्यक्रम लागू भयो । गाउँलेले अहिले तरकारीबाटै वार्षिक दुई लाख कमाउँछन् । ज्ञानेन्द्र ओखलढुंगामै सहकारी र विद्यालय सञ्चालन गरिरहेका छन् । तरुण दलको जिल्ला सभापति र नेपाली कांग्रेसको महाधिवेसन प्रतिनिधि भएर काम गरिरहेका छन् । गाउँकै कालिका मावि र क्लब सञ्चालन र व्यवस्थापनको नेतृत्व गरिसकेका ज्ञानेन्द्र अहिले प्रत्येक गाउँमा सुलभ मूल्यको मार्ट खोल्ने अभियानमा छन् । सहकारीमार्फत दुई ठाउँमा मार्ट सञ्चालन गरेका उनी गाउँमै युवाहरूलाई रोजगारी उपलब्ध गराउन लागिपरेका छन् ।
माइला धीरेन्द्र रुम्दालीले २०४९ देखि ०६५सम्म धरानमै पढाइसँगै पत्रकारिता गरे । त्यसपछि पाँच वर्ष काठमाडौँमा पढाइ र राजनीति गरे । २०७०मा उनी पनि गाउँ फर्किए । अहिले सामाजिक संघ संस्था र राजनीतिमा आबद्ध छन् । ‘शहर बस्दा पनि गाउँबारे बढी सोचिन्थ्यो । गाउँको मायाले तानेर यतै ल्यायो,’ संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष उनले भने ।
साइला जीतेन्द्र धरानमा पढेर ट्रेकिङमा भारी बोक्न पोखरासम्म पुगे । लाहुरे हुन भिडे तर असफल भए । पछि आफन्तको होटलमा काम गर्न भेडेटार पुगे । पछि आफ्नै होटल सञ्चालन गरे । होटल भेडेटार भ्यूका सञ्चालक उनी भेडेटार होटल एसोसिएसनका सचिव र होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य छन् । कालिका युवा क्लबको अनुभव भएका उनी भेडेटारमा पनि पाथीभरा क्लबको सचिव बने । उनको सक्रियता देखेर कांग्रेसले क्षेत्रीय सचिव बनायो । अहिले उनी धनकुटा १ नम्बर क्षेत्रको सभापति छन् ।

 

Leave A Comment