आलियाको ‘स्लिम–ट्रिम’ रहस्य

सोमबार, २४ माघ २०७३, १२ : ०४ शुक्रवार , Kathmandu
आलियाको ‘स्लिम–ट्रिम’ रहस्य

बलिउड अभिनेत्री आलिया भट्टको वजन कुनै बेला ६८ केजी थियो । निर्देशक करन जौहर आफ्नो फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आलियालाई बलिउडमा डेब्यू गराउन तयार भए । तर, यसका लागि आलियाले आफ्नो ज्यान छरितो बनाउनुपर्ने शर्त राखे । आलियाले शर्त स्विकारिन् र कठिन मेहनत गरेर छ महिनाभित्र २० केजी वजन घटाइन् । र, आफूलाई ‘स्लिम एन्ड ट्रिम’ बनाइन् । त्यसयता उनले ‘हाइवे’, ‘उडता पंजाब’, ‘डियर जिन्दगी’लगायत सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । आफूले कसरी वजन घटाइन् र अहिले कसरी छरितो ज्यानलाई मेन्टेन गरिरहेकी छिन् भन्नेबारे उनले एक भारतीय पत्रिकालाई बताएकी छिन्ः
 
जिम
सातामा तीनदेखि चार पटक जिम जान्छु । हरेक दिन ३० देखि ४० मिनेटसम्म कार्डियो एक्सरसाइज गर्छु ।

रनिङ
व्यायामका लागि मैले बिहानको एकदेखि दुई घण्टाकोे समय छुट्याएकी छु । व्यायाम गरेर शरीरमा जम्मा भएको अतिरिक्त फ्याट र क्यालोरी नष्ट गर्न सकिन्छ र आफूलाई छरितो पार्न सकिन्छ । व्यायामको सुरुमा ‘वार्मअप’ गर्न ट्रेड मिलमा कुद्छु । वजन घटाउन चाहनेहरूले जति सकिन्छ, त्यति ट्रेडमिलमा कुदेर शरीरलाई थप व्यायामका निम्ति तयार बनाउन सकिन्छ ।  
डम्बेल राइजिङ
रनिङ गरेर शरीर वार्म भएपछि म डम्बेल उठाउँछु । उभिएर, पल्टिएर अनेक आसनमा म डम्बेल उठाउँछु । दुवै हातमा पर्याप्त व्यायाम पुगोस् भन्नेमा म सचेत रहन्छु । डम्बेल राइजिङपछि म पुसअपलगायत व्यायाम पनि गर्छु । व्यायामका क्रममा शरीरबाट पसिना ननिकाली छोड्दिनँ ।
 
योग
शरीरलाई फुर्तिलो र फिट राख्न योग गर्छु । योग गर्दा शरीर मात्र नभई मन पनि स्वस्थ हुन्छ । सातामा दुई पटक ‘अष्टांग योग’ गर्छु । साथै, ब्यालेट र कत्थक नृत्य गरेर पनि शरीरबाट पसिना निकाल्छु ।
 
भोजन
वजन घटाउन र यसलाई मेन्टेन गर्न नियमित व्यायामसँगै खानपानमा पनि अनुशासन कायम गर्नुपर्छ । पहिले म जथाभावी खाने गर्थें । त्यतिबेला म स्वास्थ्यभन्दा स्वादलाई प्राथमिकता दिन्थेँ । तर, ‘स्टुडेन्ट अफ द इयर’मा काम गर्न छरितो बन्नैपर्ने भएपछि मैले खानपानमा अनुशासन कायम गरेँ । चिनी, कार्बोहाइड्रेडजन्य पदार्थ, बढी तेल भएको खाना, जंकफुड खान कम गरेँ । फ्रेन्च फ्राई भनेपछि म हुरुक्कै हुन्थेँ । त्यो पनि खान छोडिदिएँ । तर, जति गरे पनि मिठाइ र आइसक्रिम चाहिँ छोड्न सकिनँ । तेल कम हालिएको, रिफाइन सुगर र रिफाइन कार्बोहाइड्रेड प्रयोग नगरिएको खाना खान छोड्ने र प्रोटिनयुक्त खानामा जोड दिने हो भने ज्यानलाई फिट राख्न सकिन्छ ।

ब्रेकफास्ट
ब्रेकफास्टमा म ब्रेड टोस्ट, कर्नफ्लेक्स, फलफूल, तरकारी, अण्डाको सेतो भाग र स्यान्डविच खान्छु । तर, एकै दिनमा सबै चाहिँ खादिनँ । ब्रेकफास्टमा एक कप चिया अथवा कफी लिन्छु । कफी वा चियामा चिनी चाहिँ हाल्दिनँ ।

लन्च
ब्रेकफास्ट र लन्चको बीचमा म तरकारीको जुस र फलफूल खान्छु अथवा इडली–सांबर खान्छु । लन्चमा दाल, रोटी र तरकारी खान्छु । मैले खाने खाना तेलबिना अथवा थोरै तेलमा पकाइएको हुन्छ ।
साँझको खाना
साँझ पर्न थालेपछि म फलफूल र चिया अथवा कफी खान्छु ।

डिनर
डिनरमा रोटी, तरकारी, भात, दाल खान्छु । फरक खाना खानुप¥यो भने कुखुराको छाती खान्छु । यी खाना पनि तेलबिना अथवा कम तेलमा पकाइएका हुन्छन् ।

 

Leave A Comment