उत्तेजना समस्याले तनाव !

सोमबार, २४ माघ २०७३, ११ : ४३ अम्मर जिसी , Kathmandu
उत्तेजना समस्याले तनाव !

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो । तर, यसको मनोवैज्ञानिक आयाम सबैभन्दा महŒवपूर्ण हुन्छ । यही तथ्य नबुझिदिँदा विभिन्न समस्या आइलाग्छन् । हाल थुप्रै पुरुष (केही हदसम्म महिला पनि) ले भोगिरहेको पीडा हो– उत्तेजना समस्या, जसलाई मेडिकल भाषामा ‘इरेक्टाइल डिसफंक्सन’ भनिन्छ । अलिकति मनोपरामर्शले, अलिकति  उपचारले समाधान हुने यो समस्या यति विकराल किन भइरहेको छ ? अम्मर जिसीले यसको उत्तर खोज्ने प्रयत्न गरेका छन् ।
श्रवण २९ वर्षका भए, ऋचा २८ टेक्दै छिन् । वैवाहिक सम्बन्धको दोस्रो वर्षगाँठ गत जेठमा मनाइसकेको यो जोडी झट्ट हेर्दा हाँसीखुशी नै देखिन्छ । तर, आफूहरूमा थेरैथोक अपुग ठान्छन् उनीहरू । उनीहरूकै शब्दमा अहिलेसम्म उनीहरूबीच शारीरिक सम्पर्कको प्रयास सफल हुन सकिरहेकै छैन । हरेक रातका असफल प्रयासका नमीठा अनुभवले यो जोडीलाई भित्रभित्रै जलाइरहेको छ । श्रवणको लिंग उत्तेजित नै नभइदिने समस्याले यो जोडी आजित छ । लगनगाँठो कसिएको अढाई वर्षसम्म पनि शारीरिक सुखको अनुभव गर्न नपाएको यो जोडी अहिले यौन परामर्शदाता डा. बद्रीप्रसाद भट्टराईसँग उपचार गराइरहेको छ । भट्टराईका अनुसार यो जोडीलाई मनोवैज्ञानिक यौन परामर्शको प्रयास भइरहेको छ । श्रवणलाई हर्मोन वृद्धि गर्नेबाहेक अरू औषधि चलाउनुपरेको छैन । ‘शारीरिक रूपमा स्वस्थ भए पनि उनीहरू यौन सुखका लागि चाहेका बेला मानसिक रूपमा तयार हुन नसक्ने समस्या छ,’ भट्टराईले भने, ‘जहिल्यै मैले यौन सुख दिन सक्दिनँ होला भन्ने नकारात्मक सोचका साथ श्रीमतीका अगाडि पुगेपछि कसरी लिंग उत्तेजित हुन्छ ?’
०००
आफ्नी श्रीमतीलाई सन्तुष्ट बनाउन सक्दिनँ भन्ने मनोभावले कुण्ठित बन्दै सुरु भएको सन्तोषको दाम्पत्य जीवन तीन महिनामै टुंगियो । स्कुल उमेरदेखि नै सन्तोषलाई आफ्नो लिंग साथीभाइलगायत अरूको भन्दा ‘बिचरो’ लाग्थ्यो । उत्तेजित नभएका बेला झन् सानो देख्दा उनी चिन्तित हुन्थे । ‘कतै म अपूर्ण त छैन ?’ उनलाई आफैँमाथि शंका लाग्थ्यो । डाक्टरलाई देखाए । ‘मेडिकल्ली फिट छ’ मात्र भन्ने डाक्टरको जवाफ हुन्थ्यो । यत्तिकैमा धुमधाम मागी बिहे भयो उनको । सुहागरात सुखद हुनुपर्छ भन्ने सुनेका थिए उनले । ‘तर, खै यति सानो लिंगले कसरी सुखद हुन सक्छ ?’ भन्ने सोचले उनको पहिलो रात निरस रह्यो । लिंगले साथ नै दिएन । दिनदिनै यो समस्या बढ्न थाल्यो । तीन महिनापछि सन्तोषकी नवविवाहित श्रीमतीले आशै मारिन् । ‘यस्तासँग जिन्दगी बित्न सक्दैन’ भन्ने नमीठो प्रहार गरेर सन्तोषलाई त्यागेको घोषणासहित माइती लागिन् ।
‘आफू साँच्चिकै अपूर्ण नै भएको हो त ?’ सुनिश्चित हुनका लागि सन्तोष यौन परामर्शका लागि डाक्टरकहाँ पुगे । बल्ल थाहा भयो– उनलाई सामान्य मानसिक समस्या नै सुरु भइसकेको रहेछ । आफ्नो अंगप्रतिको उनको असन्तुष्टि बढ्दै गएको देखियो । उनको लिंगको आकार सामान्य नै रहेको र मानसिक कुण्ठाका कारण उत्तेजित हुन नसकेको भनेर मनोचिकित्सकले बताएपछि उनी अहिले उपचाररत छन् ।
०००
लिंग उत्तेजित नहुने समस्याले आजित थिए, रमेश । प्रेम सम्बन्ध जोडिएको दुई वर्ष भइसकेको थियो । अर्को वर्ष बिहे गर्ने योजना पनि बनिसक्यो । तर, उत्तेजना समस्याका कारण उनको सम्बन्धले सुखद मोड लेला भन्नेमा उनी सशंकित थिए । शारीरिक रूपमा फिट नै छन् उनी । मेडिकल चेकअप गर्दा पनि केही देखिएन ।
परामर्शका लागि डा. समन रूपाखेतीकहाँ पुग्दा थाहा भयो, सामान्य कुराबाट सुरु भएको समस्याले जटिल रूप लिएको थियो । डा. रूपाखेतीका अनुसार रमेशलाई प्रेमिकाको शरीरबाट आउने गन्ध मनै पर्दैनथ्यो । जसले उनको लिंग उत्तेजनामा प्रत्यक्ष प्रभाव पारेको थियो । उनी प्रेमिकालाई भन्न पनि सक्दैन थिए– ‘तिम्रो शरीरबाट आउने ‘स्मेल’ मलाई मन पर्दैन ।’ यही कारणले उनीहरू जतिबेला सेक्सका लागि तयार हुन्थे, त्यतिबेला रमेशको अंगले स्वाभाविक कार्य गर्दैनथ्यो ।
‘लगातारको मनोपरामर्शपछि समाधान लगभग भइसक्यो,’ डा. रूपाखेतीले भने, ‘यौन सुख भनेको शरीरले भन्दा धेरै मनले प्राप्त गर्ने कुरा हो । मनै बेचैन भएपछि कसरी लिंगले साथ दिन्छ ?’ उनका अनुसार लिंग उत्तेजित नहुने अर्थात् ‘इरेक्टाइल डिसफंक्सन’को समाधान भनेकै धेरैजसो केसमा मनोपरामर्श मात्र हो ।

विवाहपछि हनिमुन मनाउन पोखरा पुगेका काठमाडौँका राकेशले श्रीमतीसँग सहवास गर्न खोज्दा उनको लिंग उत्तेजित नै भएन । जति कोसिस गर्दा पनि उनको लिंग कडा नभएपछि उनी हीन भावना लिएर काठमाडौँ फर्किए । आफ्नो समस्या लिएर वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायकोमा पुगेका उनको स्वास्थ्यमा खासै केही समस्या नरहेको परीक्षणबाट पत्ता लाग्यो ।
पहिलो सहवासमा राम्रो ‘पर्फर्मेन्स’ गर्न सकिँदैन कि भन्ने डर र सेक्स अगाडि गर्नुपर्ने ‘फोरप्ले’ नगरेका कारण उनको हनिमुन निरस भएको डा. उपाध्यायले पत्ता लगाए । सेक्सबारे सामान्य परामर्श दिएपछि उनको समस्या एकाएक ठीक भयो । केही दिनपछि डा. उपाध्यायकोमा ‘फलोअप’मा  आउँदा उनी निकै खुशी देखिन्थे ।
आजित युवाहरू
विवाहको अन्तिम तयारीमा जुटिरहेको कुनै युवा लिंग उत्तेजित नहुने समस्या लिएर चिकित्सकोमा पुग्दा ऊ कस्तो मनस्थितिमा होला ? पक्कै पनि ऊ निकै हतास र डराएको हुन्छ । चिकित्सकहरूका अनुसार विवाह गर्ने उमेरका युवा बिहेपछि श्रीमतीसँग सेक्स गर्न सक्दिनँ कि भन्ने डरले निकै नै तनावमा हुने गरेका छन् । कुनै शारीरिक रोग नहुँदा पनि ‘एन्जाइटी’ वा ‘डिप्रेसन’का कारण उत्तेजना नहुने समस्या लिएर युवाहरू चिकित्सककोमा पुग्ने गरेका छन् । मेरो लिंग उत्तेजित हुँदैन भन्न पनि नसक्ने र समस्यालाई लुकाएर राख्नेहरू धेरै भएको चिकित्सकहरू बताउँछन् ।  
मनोचिकित्सक डा. रवि शाक्य यौन उत्तेजनामा समस्या भएर उपचार गराउन आउनेहरूमा विवाह गर्ने उमेर भएका युवायुवती र नवविवाहित जोडीहरू नै धेरै हुने गरेको बताउँछन् । उनका अनुसार यौन तथा चर्म रोग र मूत्र प्रणाली सम्बन्धी रोगको उपचार गर्ने चिकित्सकोमा पुगेर त्यहाँबाट ‘रिफर’ भएर आउने धेरै हुन्छन् । कतिपय युवा चाहिँ विज्ञापनको पछाडि लागेर यौन उत्तेजना बढाउने औषधि सेवन गरेको तर केही उपलब्धि नभएको भन्दै हतास मनस्थितिमा अस्पताल आइपुग्ने गरेको उनी बताउँछन् ।
यौन उत्तेजना समस्या महिला र पुरुष दुवैमा हुन सक्ने डा. शाक्यको भनाइ छ । महिलामा यौनक्रियाका बेला यौनांग फुल्ने तथा चिप्लो हुनुपर्नेमा सुक्खा भइदिनाले सहवास पीडादायी हुने वा सम्बन्ध स्थापित नै गर्न नसक्ने हुन्छ । पुरुषमा लिंग उत्तेजित नहुने वा चरम सन्तुष्टिसम्म पुग्न नसक्ने वा सम्बन्धमा नै सहभागी हुन नसक्ने हुन्छ । ‘यस्तो अवस्था नै  इरेक्टाइल डिस्फंकसन हो,’ डा. शाक्यले भने ।
यौन इच्छा कम हुने वा पटक्कै नहुने अवस्थालाई ‘हाइपोसेक्सुआलिटी’ भनिन्छ । डा. शाक्यका अनुसार यो सुरुदेखि नै उपस्थित हुन सक्छ वा केही समयको सामान्यपन पछि आउन सक्छ । यो कुनै जैविक त्रुटिबिना पनि हुन सक्छ वा विभिन्न शारीरिक एवं मानसिक रोगका कारण पनि हुन सक्छ ।’
उत्तेजना समस्या
सम्भोगका लागि लिंगका नसाहरूमा रक्तप्रवाह भई लिंग निश्चित सीमासम्म कडा हुनु जरुरी हुन्छ । कडा वा उत्तेजित नभएको लिंग योनीमा प्रवेश गराउन सकिँदैन । सम्भोगका बेला लिंग कडा वा उत्तेजित नहुने समस्यालाई लिंग उत्तेजनाको समस्या (इरेक्टाइल डिस्फंक्सन) भनिन्छ । एक अध्ययनअनुसार ४० देखि ७० वर्ष उमेरका ५० प्रतिशत पुरुष लिंग उत्तेजनासम्बन्धी समस्याले ग्रस्त छन् । तीमध्ये १० प्रतिशत पुरुषको लिंग बिलकुल उत्तेजित हुँदैन ।
सन् १९९० को दशकको अन्त्यतिर मात्रै उत्तेजना समस्या (इरेक्टाइल डिस्फंक्सन) बारे व्यापक छलफल र बहस हुन थालेको हो । चलनचल्तीको भाषामा यसलाई नपुंसकता पनि भन्ने गरिन्छ । जानकारहरूका अनुसार विश्वका धेरै मानिस यो यौनसमस्याबाट प्रताडित छन् । तर, इरेक्टाइल डिस्फंक्सनबारे पुरुषहरू एकदमै कम खुल्छन् । सेक्सोलोजिस्ट डा. सुबोधकुमार पोखरेल ‘इरेक्टाइल डिस्फंक्सन’लाई कमजोर पुरुषत्वको प्रमाण मान्ने गलत धारणाका कारण धेरैले यो समस्या लुकाउने गरेको बताउँछन् ।
‘नपुंसकताका धेरै प्रकार हुन्छन् ।  यौनसम्पर्कका लागि मन हुँदाहुँदै पनि लिंग उत्तेजित नहुनु र भए पनि सम्भोगका लागि पर्याप्त समयसम्म लिंगमा उत्तेजना कायम नहुनु एक प्रकारको नपुंसकता हो,’ डा. पोखरेल भन्छन्, ‘सजिलो भाषामा भन्दा लिंगमा कडापन नआउनु या छिट्टै नरम हुनु र वीर्य स्खलनको अवस्थासम्म नपुग्नु इरेक्टाइल डिस्फंक्सन हो । यो समस्या दिन प्रतिदिन बढ्दै जान्छ  । यस्तो समस्या प्रायः भइरह्यो भने डाक्टरसँग सल्लाह गर्न ढिलो गर्नु हुँदैन ।’
उनका अनुसार नपुंसकताको समस्या भएका अधिकांश पुरुष यससम्बन्धी कुरा गर्न असजिलो र अप्ठ्यारो मान्छन् । अत्यधिक मदिरा सेवनपछि र दुःखको बेला भावनात्मक चापले गर्दा लिंगमा उत्तेजना (इरेक्सन) नहुनु नपुंसकता होइन । स्खलन भइसकेपछि तुरुन्त सम्भोगका लागि तयार हुन नसक्नु  पनि नपुंसकता होइन ।
के कारणले हुँदैन उत्तेजना ?
‘लिंग उत्तेजित नहुने धेरै कारण हुन्छन्,’ युरोलोजिस्ट डा. सुबोध रेग्मी भन्छन्,  ‘लिंगमा हुने धमनीमा हुने रक्तसञ्चारको अवरोधले गर्दा पनि इरेक्टाइल डिस्फंक्सन हुने गर्छ । नपुंसकताका अरू कारण औषधि, रोग, दुर्घटना र प्रोस्टेट ग्रन्थीको शल्यक्रिया आदि हुन् । चिन्ता, वैवाहिक समस्या र उदासीनता(डिप्रेसन) ले पनि यो समस्या हुनसक्छ ।’
मधुमेह, मिर्गाैलाको समस्या, प्रोस्टेट ग्रन्थीको समस्या, मोटोपन, धमनी र स्नायु समस्या नपुंसकता गराउन सक्ने शारीरिक कारण भएको डा. रेग्मी बताउँछन् । त्यस्तै, अत्यधिक मदिरासेवन र धूम्रपानले पनि लिंगमा उत्तेजना आउँदैन । कहिलेकाहीँ शारीरिक र मानसिक समस्या दुवैका कारणले यो समस्या हुन सक्छ । जेजस्ता कारणले  लिंग उत्तेजित नभए पनि यसको भरपर्दो समाधान छन् । मोटा पुरुषले आफ्नो वजनमात्र घटाए पनि यो समस्या कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । औषधिले काम नगरेको खण्डमा इन्जेक्सन र अन्य उपाय पनि छन् ।
धेरै मानिसलाई ढल्किँदो उमेरसँगै नपुंसकता पनि बढ्दै जान्छ भन्ने भ्रम हुन्छ । पुरुषमा पाइने टेस्टोस्टेरोन (जुन यौनकार्यका लागि आवश्यक हुन्छ)  भन्ने हर्मोन बढ्दो उमेरसँगै शरीरमा घट्दै गए पनि शरीरमा हुनुपर्ने सामान्य तह चाहिँ रहिरहेको हुन्छ । शरीरमा बढ्दो उमेरसँगै धेरै परिवर्तन हुन्छन्, तर पनि नपुंसकता किन हुन्छ भनेर किटान गर्न सकिँदैन । कहिलेकाहीँ नपुंसकता विभिन्न रोगले पनि हुनसक्छ । ती रोगमा प्रयोग हुने औषधिका ‘साइड इफेक्ट’ले पनि नपुंसकता हुन सक्छ । ‘तर, स्वास्थ्यवद्र्धक खानेकुरा, व्यायाम र खानपानमा सन्तुलनले उच्च रक्तचाप वा मधुमेहलाई रोक्न र निको पार्न सकिन्छ । स्वस्थ जीवन व्यतीत गरेमा यौन दुर्बलता हुन पाउँदैन,’ डा. रेग्मी भन्छन् ।
उनका अनुसार नपुंसकताको उपचार औषधिद्वारा गरिन्छ । तर, सबैलाई औषधिले नै ठीक हुन्छ भन्ने छैन । यो कसरी भएको हो भन्ने कारण पत्ता लगाई उपचार गरेमा उत्तम हुन्छ । कारण थाहा पाउन भिन्दाभिन्दै प्रविधि र सीपको आवश्यकता पर्छ । ‘यससम्बन्धी समस्या छ भन्दैमा चिकित्सको परामर्शबिना भियाग्रा खाइहाल्नु राम्रो होइन,’ उनले भने । नपुंसकतासम्बन्धी कुनै पनि समस्या देखिएमा डाक्टरसँग राम्रोसँग छलफल गरेर उपचार गराउनु पर्ने सुझाव डा. रेग्मीको छ ।
लिंग उत्तेजित नहुनेहरूका लागि लिंगमा इन्जेक्सन दिएर उत्तेजित गराउने विधि पनि अपनाउन सकिन्छ । ‘तर, सेक्स गर्नुअघि हरेक चोटि इन्जेक्सन दिन व्यावहारिक नहुने भएकाले यो विधि धेरैले अपनाउँदैनन्,’ डा. रेग्मीले भने । यसै गरी, भ्याकुम लगाएर लिंग फुलाउने, अपरेसन गरेर लिंगमा इम्प्लान्ट राख्ने र पिनाइल प्रोस्थेसिस (लिंग र अण्डकोषको बीचमा राखिने विशेष प्रकारको सानो यन्त्र जुन स्विचको माध्यमले सञ्चालन हुन्छ) राखेर पनि लिंग उत्तेजित बनाउने विधि अपनाउने गरिएको डा. रेग्मीले जानकारी दिए ।
महिलामा हुने समस्या
इरेक्टाइल डिसफंक्सन भन्नेबित्तिकै सामान्यतया पुरुषको मात्र समस्या बुझ्ने गरिन्छ । तर, यो जस्तै समस्याले आजित छन् महिलाहरू पनि । विशेष गरी महिलामा यौन चाहना नै नहुने समस्या हुन्छ । जसका कारण यौन सम्बन्धले जोडीमा खुशी दिनुपर्नेमा पीडा दिलाउँछ ।  
‘केही मात्र महिलाले यस्ता समस्या खुलाउने गरेका छन्,’ मनोचिकित्सक डा. मनीषा चापागाईंले भनिन्, ‘उत्तेजना नहुने समस्या लिएर धेरैजसो पुरुषहरू नै आउने गर्छन् ।’ उनका अनुसार यौन उत्तेजना भएन भनेर सीधै आउने भन्दा पनि यौनरोग विशेषज्ञहरूबाट रिफर भएका केस मनोचिकित्सकसम्म पुग्ने गरेका छन् । ‘यद्यपि, यौन समस्यामा धेरैजसो मानसिक पक्ष नै जोडिएको हुन्छ,’ उनले भनिन्, ‘यस्ता समस्या लिएर जो आए पनि एक्लै नभएर दुवै जनालाई राखेर विशेष खाले परामर्श नै दिने गरेका छौँ । मनोपरामर्शको भूमिका सबभन्दा महŒवपूर्ण हुन्छ ।’ शरीरको कुनै अंगलाई मात्र लिएर चिन्तित हुनुभन्दा मन र दिमागलाई सन्तुलित राखेर मानसिक रूपमा दुवै जना तयार हुने हो भने मात्र यस्ता समस्याको समाधान हुन सक्ने उनको बुझाइ छ ।
घर्षणमात्र सेक्स होइन
धेरैको बुझाइ हुन्छ– उत्तेजित लिंग योनीमा पसाउनु मात्र सेक्स हो । अर्थात्, घर्षण मात्र सेक्स हो । चिकित्सकहरूका अनुसार सेक्सका लागि लिंग र योनी मात्र पर्याप्त होइनन् । यौन कार्यमा धेरै कुराको भूमिका हुन्छ । पहिला त शारीरिक र मानसिक रूपमा स्वस्थ हुनैपर्छ । डिप्रेसनको औषधि सेवन गर्नेहरूको सेक्स जीवन केही प्रभावित हुन सक्छ । नशा प्रयोग गर्नेहरूमा पनि यौन क्षमता ह्रास हुन्छ । मुख्यतः मनोविज्ञान नै सेक्समा महŒवपूर्ण हुन्छ । पार्टनर नै मन नपरेको हुन सक्छ । उसको बानी र व्यवहार चित्त नबुझ्न सक्छ । शरीरको सुगन्ध, पोजिसन, कुराकानी, तरिका धेरै कुरामा पार्टनर एकअर्कासँग खुशी हुनैपर्छ । खुलेर कुरा सेयर गर्ने र एकले अर्कालाई विशेष ठान्ने बानीले पनि सेक्स जीवन स्वस्थ हुन सक्ने डा. उपाध्याय बताउँछन् । भन्छन्, ‘सुखद यौन जीवनका लागि सन्तुलित मनोविज्ञान सबभन्दा पहिलो पक्ष हो । र, अन्य धेरै कुराले प्रभाव पार्ने भएकाले सेक्सलाई लिंग र योनीको संयोगका रूपमा मात्र हेर्नु हुँदैन ।’
रोक्न सकिन्छ शीघ्रपतन  
प्रिम्याच्युर इजाकुलेसन अर्थात् शीघ्रपतनले धेरैको यौन जीवनमा तनाव सिर्जना गरिरहेको हुन्छ । ‘सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै मानिस अहिले पनि शीघ्रपतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्,’ डा. कपिलदेव उपाध्याय भन्छन्, ‘साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिलेकाहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने, अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरूका कारण पनि शीघ्रपतन सम्बन्धी गलत धारणा बनिरहेको छ ।’  
शीघ्र स्खलनको समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन् । चा“डो वीर्य स्खलन हुने समस्या सापेक्षिक कुरा हो । यसलाई परिभाषित गर्न गाह्रो छ । डा. उपाध्यायका अनुसार स्वस्थ व्यक्तिको तीन मिनेटमै वीर्य स्खलन हुन्छ भने शीघ्र स्खलन भएको ठान्ने व्यक्तिले साढे तीन मिनेटमा वीर्य स्खलन हुँदा पनि सिकायत गर्न थाल्छन् । तुलनात्मक रूपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छ । कतिपयले भने वीर्य स्खलनअगाडि आउने रसलाई वीर्य ठान्ने र यौन फिल्ममा देखाइएको लामो यौनकार्यको दृश्यबाट प्रभावित भई आपूmमा शीघ्र स्खलन भएको शंका गर्ने गरेको डा. उपाध्याय बताउँछन् । ‘तर, अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ,’ उनले भने, ‘आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोरप्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ । तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ । केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थिर रहन्छ । त्यसैले फोरप्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आनन्द प्राप्त गर्न सकिन्छ ।’
चिकित्सकहरूका अनुसार शीघ्र स्खलन नियन्त्रण सम्भव छ । यौनसम्पर्कको क्रममा वीर्य स्खलन होला जस्तो भयो भने लिंग बाहिर निकाल्ने अनि फेरि चालु गर्ने, पार्टनरको अंगमा ध्यान नदिने, यौन क्रीडा रोकेर ध्यान अर्कैतर्पm मोड्ने, महिलामाथि पुरुष तल रहेर यौनक्रिडा गरेमा स्खलन ढिलो हुने हुनाले आसन परिवर्तन गर्ने, स्खलन हुन लाग्दा पार्टनरलाई गति कम गर्न संकेत गर्ने, स्खलन होला जस्तो भयो भने लिंगको फेदमा अ“ठ्याउने, अण्डकोष र मलद्वारबीचको वीर्य नली थिच्ने, कम चिप्लोयुक्त बाक्लो खालको कन्डमको प्रयोग गर्ने गरेमा शीघ्र स्खलनको समस्या बिस्तारै हट्ने सेक्सोलोजिस्टहरू बताउँछन् ।
यसका साथै लिंगवरिपरिको मांसपेशीको कसरत, हस्तमैथुन गर्दागर्दै वीर्य स्खलन रोक्ने अभ्यासले पनि शीघ्र स्खलन घटाउन सकिन्छ । ‘यसका लागि दृढ अठोट एवं धैर्यका साथै पार्टनरको सहयोग र समझदारी पनि आवश्यक हुन्छन्,’ डा. उपाध्यायले भने ।
‘यौन क्षमता यसरी ह्रास हुन्छ’

डा. कपिलदेव उपाध्याय, वरिष्ठ मानसिक रोग विशेषज्ञ
‘सेक्सुअल रिलेसनसिप’को कुरा गर्दा हामी शारीरिक सम्पर्कको मात्र कुरा गर्छौं । तर, यससँग जोडिएका भावनात्मक, मनोवैज्ञानिक र सामाजिक पक्ष धेरै छन् । सेक्सको कुरा गर्दा कतिलाई लाज लाग्छ भने कतिले यसलाई हल्का रूपमा रमाइलो मात्र बुझ्छन् । यौन असन्तोषबाट पीडितहरू सकभर कुरा गर्न चाहँदैनन् । चिकित्सकहरूमा पनि समस्यामा परेकाहरूको पीडा बुझ्ने धैर्य हुँदैन । कतिपय मानिसमा सेक्समा यो ठीक हो, यो ठीक होइन भन्ने ‘फिक्स्ड’ धारणा बनेको पाइन्छ ।
मेडिकल भाषामा ‘धात सिन्ड्रोम’ भनिने पिसाब फेर्दा सेतो तरल पदार्थ बग्ने समस्यालाई पनि वीर्यनाश भयो भनेर उपचारका लागि आउने धेरै हुन्छन् । महिलाहरूमा पनि सेतो पानी बग्ने समस्यालाई धातु बगेको भन्ने भ्रम छ । पुरुषहरू हस्तमैथुन गरेका कारण यौन उत्तेजना भएन भन्दै उपचारका लागि आउने गरेका छन् । महिला पनि हस्तमैथुन गरेको कारण यौन सम्पर्क राख्न इच्छा हुँदैन भन्दै उपचारका लागि आउने गरेका छन् ।
यौन उत्तेजना नहुने पुरुष तथा यौन चाहना नहुने महिलालाई तथाकथित सेक्सोलोजिस्ट तथा यौन क्षमता बढाउने औषधि बिक्रेताहरूले ठगिरहेको अवस्था छ । सेक्सको मामिला भएका कारण सबैले गोप्य रूपमा विज्ञापनको भर परेर यौन क्षमता बढाउने औषधि सेवन गर्छन् । तर, के कारण यौन क्षमता ह्रास भएको हो भन्ने पत्ता नलाईकन हचुवाको भरमा जथाभावी औषधि सेवन गर्दा पीडितलाई कुनै फाइदा पुग्दैन ।
मधुमेह छ भने यौन समस्या हुन सक्छ । खास गरेर इरेक्टाइल डिस्फंकसन वा यौन उत्तेजना नहुने समस्या देखापर्छ । तर, मधुमेह कन्ट्रोलमा छ भने यौन उत्तेजनामा समस्या हुँदैन । कतिपयले ‘मलाई मधुमेह छ, म सेक्स गर्न सक्दिनँ’ भनेर चिन्ता लिएकै कारण उनीहरूले आफ्नो ‘सेक्स पर्फर्मेन्स’ घटाइरहेका हुन्छन् । जसले गर्दा दम्पतीहरूमा समस्या देखापर्छ ।
रक्सीको अम्मलीमा यौन दुर्बलता हुन्छ । थोरै अल्कोहल पिएको बेला यौन इच्छा बढ्छ । तर, यौन सम्पर्कको गुणस्तर घट्छ । सेक्सको पर्फर्मेन्स राम्रो हुँदैन । धेरै रक्सी खानेका श्रीमतीलाई श्रीमान्सँग यौन सम्पर्क राख्ने इच्छा कम हुन्छ । श्रीमान्को पिउने बानी मन नपराएर र श्रीमान्को सेक्स पफर्मेन्स राम्रो नभएका कारण रक्सीका अम्मलीका श्रीमतीहरूको यौन जीवन ध्वस्त जस्तै हुन्छ । अल्कोहलिक श्रीमान्ले श्रीमतीलाई अरूसँग लागेकी छ भन्ने आरोप पनि लगाउँछन् ।
डिप्रेसन भएका मानिसमा कुनै कुरामा पनि चाख नलाग्ने, आनन्द नआउने हुँदा यौन सम्पर्क गर्ने इच्छा हुँदैन र गरिहाले पनि आनन्दको अनुभव हुँदैन । मानसिक असन्तुलन भएको व्यक्तिमा पनि यौन इच्छाको कमी हुन्छ । महिला वा पुरुषप्रतिको आकर्षण कम हुन्छ । डिप्रेसन, मानसिक असन्तुलन, उच्च रक्तचापका केही औषधिले यौन इच्छा वा उत्तेजना कम गराउँछन् । यस्तो अवस्थामा उपचार गराइरहेको चिकित्सकलाई भनेर औषधि बदल्न सकिन्छ ।
यौन सम्पर्क राख्नुअघि पुरुष र महिला दुवै शारीरिक तथा मानसिक रूपले तयार हुनुपर्छ । आफ्नो कोठा सुरक्षित, सजिलो र डिस्र्टब नहुने हुनुपर्छ । यौन सम्पर्कका बेला हतार गर्नु हुँदैन । सुरक्षित वातावरणको अभावमा हतारमा काम सिध्याउने हिसाबले यौन सम्पर्क गर्दा कसैको पनि ‘सेक्स पर्फर्मेन्स’ राम्रो हुँदैन ।

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17