कुल 'मान'

आइतबार, २३ माघ २०७३, १२ : ३७ शुक्रवार
कुल 'मान'

धेरै कर्मचारी महोदयहरूसँग रहेको विज्ञताको कुनै काम नआउने अवस्था निर्माण भयो। वर्षाैं लगाएर जानेको, उल्टो मिटर घुमाउने ज्ञान, हुक लगाएर बिजुली चोर्ने/चोराउने इलम र बिजुलीको मिटर बिगार्न सिकेको सीप, बाँदरको पुच्छर लौरो न हतियार बन्ने लगगभ पक्का थियो। कैयौँ कष्ट र साधनाबाट सिकेको सीप काम नलाग्ने भएपछि कर्मचारी मित्रहरू रुष्ट हुनु स्वाभाविकै हो। त्यसमाथि यस्ता सीपमा वरिष्ठ विज्ञता हासिल गरेका महोदयहरूलाई प्रहरीले प्रक्राउ गरेपछि कनिष्ठ महोदयहरू आक्रोशित र आक्रामक बन्नुलाई नेपालको मौलिक परम्परा नै मान्नुपर्छ। एकातिर वर्षौंको सीप काम नलाग्ने भयो भने अर्काेतर्फ डरलाग्दो सरुवाले हालीमुहाली गर्दै आएको मौजामा हात टकटक्याउनु पर्ने अवस्था सिर्जना भयो। यति खतरनाक परिस्थिति सिर्जना भएपछि कर्मचारी महोदयहरूले आफ्ना सशक्त माग राखेर नेपाल विद्युत प्राधिकरणस्थित कार्यकारी निर्देशकको कार्यकक्ष घेराउको कार्यक्रम राखे।

कार्यकारीको कार्यकक्ष घेराउ शहरका लागि सनसनी खबर थियो। एउटा पिलन्धरे अनलाइनको खाइलाग्दो रिपोर्टर रिपोर्टिङका लागि प्राधिकरणको कार्यालयमा पुगे। कर्मचारीहरू प्लेकार्डमा आफ्ना माग लेखेर नारा लगाइरहेका थिए। हेर्दा–बुझ्दा सामान्य जनले त बुझ्छ भने पत्रकारको आँखाले ठम्याउन के मुस्किल पर्दथ्यो? अनलाइन रिपोर्टरले विरोध कार्यक्रमको नाइकेलाई ठम्याइहाले।

 'तपाईंहरूको खास माग चाहिँ के हो नि?' रिपोर्टरले सोधे।

'सरुवा भएन। हुँदै भएन। यसलाई अविलम्ब रोक्नुपर्‍यो। भएका सरुवालाई पनि फिर्ता गर्नुपर्‍यो। यदि रोकिँदैन भने हामी देशै ठप्प पार्छाैं। विरोध गर्छाैं। सुनुवाइ भएन भने सडकमा निक्लन्छौँ।' कर्मचारी नेता अर्थात् विरोध कार्यक्रमको नाइकेले एकै सासमा भनी सिध्याए।

'राष्ट्रसेवक कर्मचारीले सरुवाको विरोध गर्छन् त? देशको जुनसुकै ठाउँमा पुगेर पनि तपाईंहरूले दिने सेवा नै हो। जनतालाई सेवा दिन यो सरुवाले के असजिलो भो?' पत्रकारले आफ्नो शैलीमा सोधे। कर्मचारी नेताले भने, 'तपाईंले भन्नुभएको ठीक हो। हामी जनतालाई सेवा दिने सेवक हौँ। सेवा दिइरहका छौँ। तर, जनतालाई सेवा दिइरहेको बेलामा, जनताको घरदैलोमा हामी सेवकहरू सेवा दिन उपस्थित भएको बेलामा, हामीलाई पुलिस लगाएर पक्राउ गरिएको छ। एकातिर सेवा दिनुपर्छ भन्ने र अर्काेतर्फ सेवा दिइरहेको बेलामा पक्राउ गर्ने? यस्तो कार्य हामीलाई स्वीकार्य छैन। हामी यसको घोर विरोध गर्छाैं।' नाइके आक्रोशित हुँदै थिए, बीचैमा पत्रकारले रोकेर भने, 'मिटर उल्टो घुमाइरहेको अवस्थामा पुलिसले रंगेहात पक्रिएको हो। गैरकानुनी कार्य गर्नेलाई पुलिसले पक्रँदा पनि विरोध गर्न सुहाउँछ?'

'यो देशमा कुन चाहिँ मिटर सुल्टो घुमेको छ भन्नसु त?' नाइके महोदय पत्रकारलाई कुटौँला जसरी प्रस्तुत भए र भने, 'देशका कस्ता–कस्ता मिटरहरू उल्टो घुम्दा हुने, जाबो बिजुलीको मिटर उल्टो घुम्दा आकाशै खस्ला जस्तो गर्ने?'

पत्रकार अलमलिए जस्ता भए। सामान्य संवाद असामान्य बनेको देखेर छेउमा रहेका विरोधकर्मी अर्का कर्मचारी अघि सरे। 'हेर्नुस्,' विरोधकर्मी कर्मचारीले बडो सुझबुझको शैलीमा भने, 'सरुवा, पक्राउ त तपसिलका कुरा हुन्। मूल कुरो मूल व्यक्तिमै छ। मूल व्यक्तिमै समस्या भएपछि अरू सामान्य कुरामा समस्या आउनु स्वाभाविकै हो। तसर्थ मूल व्यक्तिलाई हटाउनुपर्‍यो। मूल व्यक्तिले नामअनुसार काम नगरेका कारण हामीजस्ता हजारौँ कर्मचारी मर्कामा परेका छौँ। हाम्रो मागलाई अविलम्ब सम्बोधन गर्नुपर्‍यो।'

'तपाईंहरूले कार्यकारी निर्देशकलाई हटाउनुपर्‍यो भन्न खोज्नुभा हो?' पत्रकारले सोधे। 'हो,' कर्मचारीले मुन्टो हल्लाए।

'लोडसेडिङ हटाउने र विद्युत प्राधिकरणलाई नाफामा लैजान्छु भन्ने कार्यकारी निर्देशकलाई हटाउनुपर्छ भन्ने तपाईंको माग कतिसम्म जायज छ? यस्तो माग राख्न सुहाउँछ?' पत्रकारले खिस्याएको शैलीमा सोधे।

'कुरा यहीँ छ,' कर्मचारीले गाँठी कुरा भन्न खोजे जस्तै गरी भने 'अघि मैले नामअनुसार काम हुनुपर्‍यो भनेको तपाईंले बुझ्नुभएन क्यार।' एक क्षण रोकिएर पत्रकारको अनुहारमा गाढा गरी हेर्दै उनले भने, 'कुलमानको अर्थ के हो? कुलमान भनेको कुलमा जे जस्तो चल्दै आएको छ, त्यसलाई मान्नु हो। कुलको सनातनी परम्परालाई अक्षरशः पालना गर्नु हो। यसरी हेर्दा कार्यकारी निर्देशक कुलमानले विद्युत प्राधिकरणमा चल्दै आएको परम्परालाई मान्नुपर्ने हो। लोडसेडिङ हुनु, मिटर घुमाउनु र पोलबाट हुक लगाएर बिजुली बाल्नु प्राधिकरणको कुल परम्परा हो। यो कुल परम्परालाई कुलमानले मान्नुभएन। त्यसैले हामीले उहाँले आफ्नो नामअनुसारको काम गर्नुपर्‍यो भनेका हौँ। यो त हाम्रो सामान्य माग हो। नामअनुसारको काम गर्नुपर्‍यो भन्नु गल्ती हो?'

पत्रकारले तत्काल प्रतिप्रश्न गर्न सकेनन्।

Leave A Comment