‘राजनीतिबाट भाग्नु कायरता हो’

बिहिबार, २० माघ २०७३, १२ : ५४ गोपाल दाहाल , Kathmandu
‘राजनीतिबाट भाग्नु कायरता हो’

नरेन्द्र न्यौपाने
अध्यक्ष,
अखिल क्रान्तिकारी
जुम्लाको चन्दन मावि इकाईमा अखिल क्रान्तिकारीको अध्यक्ष भएर २०५३ सालबाट मैले राजनीतिक यात्रा सुरु गरेको हुँ ।
मेरो परिवारमा बुवा शिक्षक भएको हुँदा शिक्षक संगठनमा आबद्ध हुनुहुन्थ्यो तर कुनै पार्टीमा सक्रिय हुनु हुन्नथ्यो । जेठा बुबा भने पहिलाको प्रधानपञ्च हुनुहुन्थ्यो । भिनाजु जनमोर्चाको जिल्ला सचिव हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले राजनीतिमा लाग्नुपर्छ भन्ने सोच पलायो । कक्षा १० मा पढ्दापढ्दै शिक्षामा देखिएका विकृतिविरुद्ध लड्नुपर्छ भनेर विद्यालयको इकाई अध्यक्ष भएँ । त्यसपछि मेरो राजनीतिक यात्रा अगाडि बढ्दै गयो ।
राजनीति भनेको देशका सबै नीतिहरुको मूल नीति हो । त्यसैले पनि अहिलेको पुस्ता राजनीतिमा लाग्नु अतिआवश्यक छ । अहिलेका धेरै युवालाई राजनीति खराब कुरा हो भन्ने भ्रम छ तर त्यसो होइन । ‘पोलिटिक्स इज ए डर्टी गेम’ भन्नु राजनीतिबाट भाग्न खोज्नु हो ।  राजनीतिमा लागेको केही व्यक्ति खराब होलान् तर राजनीति खराब हुँदैन । अहिले राजनीतिमा राम्रा मान्छे नहुँदा केही व्यक्तिले यसलाई उद्योग, व्यवसायजस्तो बनाएका छन् । तर, अबको पुस्ताले राजनीतिलाई निःस्वार्थ सेवाका रूपमा अघि बढाउनुपर्छ । युवाहरु राजनीतिमा आउनैपर्छ ।
हामी युवाहरुले १ सय ४ वर्षे राणा शासनको इतिहास पढ्यौँ । ३० वर्षे पञ्चायती व्यवस्थाको बारेमा पढ्यौँ । ती व्यवस्थामा आपसी षडयन्त्र, भाइभारदारबीच काटाकाट गरेर अघि बढ्ने प्रचलन थियो । पछि बहुदलीय व्यवस्थालाई उत्कृष्ट भनियो तर त्यसमा पनि कुर्सी र सत्ताका लागि जे पनि गर्ने गरेको देखियो । भ्रष्टाचार, गुण्डागर्दी मौलायो ।
 २०६२/०६३ को आन्दोलनपछि पनि नेताहरु दलीय स्वार्थमा डुबे । यी सबै घटनाक्रमले गर्दा अहिलेको पुस्तालाई राजनीति भनेको यस्तै हो कि भन्ने लाग्न सक्छ । तर, राजनीतिबिना देश चल्दैन । त्यसैले हामीले इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था छ ।
हाम्रो समाज परिवर्तनमा भर्खर अघि बढिरहेको छ । राजनीतिलाई सेवाका रूपमा लिएर अघि बढ्ने हाम्रै पुस्ताको जिम्मेवारी हो । राजनीतिप्रति वितृष्णा भए हामीजस्ता युवापुस्ताको भविष्य झन् जोखिममा पर्छ ।
देशमा सही नेतृत्व चयन गर्नका लागि युवाहरू राजनीतिमा आउनुपर्छ । अहिले पनि हाम्रो देश गलत बाटोमा छैन । तपाईंहामीजस्ता युवा लाग्ने हो भने देशलाई धेरै माथि पु¥याउन सकिन्छ । त्यसैले राजनीतिबाट भागेर होइन, यसैमा लागेर देशलाई अगाडि बढाउनुपर्छ । राजनीतिबाट भाग्नु भनेको कायरता हो ।
प्रस्तुतिः गोपाल

 

Leave A Comment