वासना विषसमान हुन्छ

मङ्गलबार, १८ माघ २०७३, ११ : १६ शुक्रवार , Kathmandu
वासना विषसमान हुन्छ

संसारमा देखिएका अनेक प्रकारका सांसारिक भोग–विलास नाशवान् छन् । यिनै भोग भोग्नका लागि शरीर धारण गरिएको हो । यस संसारमा कुन किसिमको भोग प्राप्त गर्ने मनसुबा राखेर घुमिरहन्छौ ? भोगसंग्रहको कार्यलाई त्यागिदेऊ । जीवनमा उर्लंदै देखापरिरहने आशारूपी बन्धनलाई परित्याग गरेर अर्थात् आसपासमा नजकडिएर निर्मल चित्तसाथ आत्मसाक्षात्कार गर्नेतर्फ अग्रसर होऊ । भोगविलासबाट मनलाई हटाएर आत्मसाक्षात्कारमा चित्त लगाउनु नै जीवनको सर्वोत्तम कार्य हो ।
जो मानिस संसाररूपी बन्धनबाट मुक्त भएको छ, सर्पको विषसमान भएको विषयवासनाले जसको मनलाई दूषित पारेको छैन, सत्कार्यतर्फ नै जसको मानसिक अठोट रहेको छ, सत्कार्यमा मन लगाउने यस्ता मानिस शरद् ऋतुको जुनेली रातजस्तै समुज्ज्वल मनस्थिति भएका हुन्छन् । अप्रतिम शान्ति प्राप्त गरेर रात व्यतीत गर्न पाउने यी मानिस धन्य छन् ।
बह्मा, इन्द्र आदि देवतालाई तृणबराबर सम्झने, अधिकाधिक मात्रामा भोगविलासमा संलग्न रहने व्यक्तिले जतिसुकै भोगैश्वर्य सुख पाए पनि उसको निमित्त त्रिभुवनभरिकै राज्यादि सुख–सयल पनि कम स्वादिलो एवं निरसझैँ हुन्छ । यस्ता मानिस नित्य कल्याणकारी ब्रह्मान्दलाई प्राप्त गर्न अग्रसर हुन थाल्छन् ।
सुन्दर शहर, चक्रवर्ती एवम् ठूला राजा, जसका दायाँ–बायाँ स–साना राजा–रजौटाको लस्कर छ, जसको दरबारमा ठूलठूला विद्वत्जनको सभा–छलफल भइरहन्छ, उद्दण्ड तथा जोशिला राजपुत्रहरू पनि मौजुद छन्, जहाँ चाँदनीजस्ता लोभलाग्दा अनुहार भएका सुन्दरीहरू समेत खचाखच छन्, राजस्तुति–प्रशंसा गर्ने भाटहरूको सुनिरहूँजस्तो लागिरहने कुराकानी रमाइला विषय आदि यी सबै चिज कालको अधीनमा परेपछि केवल स्मृतिमात्र बाँकी रहन गएका छन् ।
 
भर्तृहरिको वैराग्यशतक

 

Leave A Comment