‘सीधा बाटो हिँड्ने सोझी केटी म’

सोमबार, १७ माघ २०७३, ११ : २७ अनिल यादव , Kathmandu
‘सीधा बाटो हिँड्ने सोझी केटी म’

नेपाली संगीतमा प्रभाव जमाउँदै गरेको नयाँ नाम हो– दुर्गा खरेल । ‘सुन्छु तिमीले मलाई’, ‘बरु यो ज्यानको बाजी’ जस्ता विरहका गीत गाउँदै आइरहेकी उनी पछिल्लो समय डान्सिङ नम्बरतर्फ आकर्षित देखिएकी छिन् । उनले दोस्रो एल्बम ‘युग’ बजारमा ल्याएकी छिन् । एल्बममा रहेको ‘काले काले केटाले’ आजभोलि चर्चामा छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानीः

तपाईंको ‘मलाई हेरेर हैरान बनाउँछ, त्यो काले काले केटाले’ बोलको गीत अहिले चर्चित छ । साँच्चिकै हैरान बनाउने पनि त होलान् ?
मन पराउनेहरू थुप्रै छन् । ‘आई लभ यू’ भन्ने, बिहे गर्न चाहने फ्यान पनि छन् । तर, म उहाँहरूको प्रस्तावलाई गम्भीरतापूर्वक लिन्नँ । हैरानको कुरा त गीतमा मात्रै हो, वास्तविकतामा त फ्यानका हरेक गतिविधिलाई प्रेमपूर्वक ग्रहण गर्छु ।

गीतमा पनि ‘काले’ को कुरा छ, पहिरन पनि कालै लाउनुभएको छ । कालोप्रति किन यति साह्रो लगाव ?
यो संयोग मात्र हो । खासमा यो गीतमा ‘काले’ भनेर राखेपछि धेरैले ‘गोरे’ राखे हुन्थ्यो नि भने ।  हुन त हुन्थ्यो । तर, ‘काले’ राख्दा अझ मीठो सुनियो । गाउँघरमा ‘काले’ मायाले बोलाइने नाम पनि त हो ।

‘काले’ भन्यो भनेर केटाहरू रिसाएनन् ?  
किन रिसाउनु र ? मायाले काले भनेको भनेर झन् मख्ख छन् नि ।
झापाबाट राजधानीसम्मको सांगीतिक यात्रा कसरी तय गरियो ?  सानैदेखि गीत गाउँथँे । स्कुलमा हुने सांगीतिक कार्यक्रममा पनि फस्ट, सेकेन्ड हुन्थे । सबैले मलाई ‘काठमाडौँ गएर तिमी म्युजिक सिक, राम्रो हुन्छ’ भन्थेँ । त्यही भएर एसएलसी सकाएपछि ०५९ सालमा राजधानी आएँ । अनुराग संगीत विद्यालयमा म्युजिक सिक्न थालेँ । ०६२ सालमा नेपाली तारा प्रतियोगिता भयो । टप टेन हुँदै टप सिक्ससम्म पुगेँ । ०६७ सालतिर पहिलो एल्बम ‘दिल’ सार्वजनिक गरेँ । छ वर्षको अन्तरालपछि अहिले ‘युग’ ल्याएकी छु ।

छ वर्ष कता हराउनुभयो ?
एल्बम ननिकाले पनि म यतै थिएँ । फिल्ममा गीत गाइरहेकै थिएँ । त्यही क्रममा निक्लेका गीत त हुन् नि ‘सुन्छु तिमीले मलाई’, ‘छुट्ला कि साथ’ । पाश्र्व गायनमा व्यस्त भएकाले एल्बम निकाल्न जोड दिएको थिइनँ ।

तपाईं त स्याड सङ गाइरहेको मान्छे, स्रोताले रुचाइरहेका पनि थिए । एकाएक डान्सिङ नम्बरतर्फ किन आकर्षित हुनुभयो ?
हो, मलाई स्याड सङबाटै रुचाइरहेको अवस्था थियो । ‘सुन्छु तिमीले मलाई’, ‘छुट्छ कि साथ’ आदि गीतको पीआरबीटी पनि धेरै नै डाउनलोड भएको थियो । मेरा निकटस्थहरूले ‘तिमीले फास्ट बिटका गीत पनि गाउनुपर्छ, स्टेजमा जाँदा सबै स्याड सङ सुन्ने मात्र हुँदैनन्’ भनेर भन्न थाले । त्यही सुझावलाई मध्यनजर गर्दै मैले नाच्ने, नचाउने गीत गाउन थालेकी हुँ ।

यतिबेला नेपाली गायक÷गायिकालाई स्टेजले धानेको अवस्था छ । स्याड सङ मात्र गाउँदा कतै आफू स्टेजबाट टाढा भइएला भन्ने डरले त होइन ?
त्यो पनि एउटा कारण हुन सक्छ । खास गरी स्याड सङ मात्र गाउँदा स्टेजमा अफर नै नआउने भन्ने त हुँदैन । त्यही पनि स्टेज कार्यक्रममा आउने धेरैजसो दर्शक रमाइलो गर्ने गरी आएका हुन्छन् । उनीहरू नाच्न, उफ्रिन खोज्छन्, त्यस्तै खालको गीत अफर गर्छन् । बजारको मागलाई ख्याल गर्दै मैले पनि त्यस्तै खालको गीत तयार गरेकी हुँ । दर्शक÷स्रोताले रुचाए पनि ।

तपाईंले धेरै गीत अर्जुन पोखरेलको संगीतमा गाउनुभएको छ । उहाँसँग यतिधेरै ट्युनिङ मिल्नुको कारण के हो ?
यदि म दुर्गा बहादुर भएको भए यो प्रश्न उठ्थेन होला । म केटी दुर्गा भएकाले यो प्रश्न उठेको हो । हो, मैले उहाँसँग धेरै काम गरेकी छु । एउटै संगीत विद्यालयका विद्यार्थी भएकाले हाम्रो पुरानै चिनजान पनि हो । स्वरलाई चिनेर फिट हुने खालको गीत दिन सक्ने खुबी उहाँमा छ । उहाँ मलाई क्षमतावान लाग्छ । उहाँसँग काम गर्न सहज लाग्छ । त्यसैले बढी गीत उहाँको संगीतमा गाएकी हुँ । तर, काम चाहिँ अरू संगीतकारसँग पनि गरेकी छु है ।  

गायिका बन्नलाई संघर्ष चाहिँ कत्तिको गरियो त ?
संघर्ष त हरेक क्षेत्रमा गर्नुपर्छ । सुरुसुरुमा आर्थिक भार बढी पर्छ । ‘नेपाली तारा’ रियालिटी सोबाट आएको भएर मलाई चाहिँ अलि सजिलै भयो ।

गीत त रोमान्टिक नम्बरको गाउन थाल्नुभएको छ । आफू चाहिँ कत्तिको रोमान्टिक हुनुहुन्छ ?
रोमान्टिक नै छु । कहिलेकाहीँ रमाइलो गर्न मन लाग्छ, हल्ला गर्न मन लाग्छ । साथीहरूसँग नाच्दै, गाउँदै रात बिताइन्छ । तर, साथीहरू मलाई ‘तँ सोझी छस्’ भन्छन् । हो, म त्यस्तो लप्पनछप्पन गर्न जान्दिनँ । मेरो स्वभावै यस्तो छ । साथीहरू ‘तँ अलि फरवार्ड भएको भए अझै माथि पुग्थिस्’ पनि भन्छन् । खोइ के भनेको हो ? त्यो त म बुझ्दिनँ । म सीधा कुरा गर्छु, सीधा बाटोमा हिँड्छु । सीधा बाटो हिँड्ने सोझी केटी हुँ म । बरु, बिस्तारै माथि पुगौँला, टेन्सन छैन ।  

संगीत क्षेत्रमा पनि लप्पनछप्पन त धेरै हुन्छ रे !
हो नि । यहाँ धेरै चाप्लुसी हुन्छ, बार्गेनिङ हुन्छ । यहाँ कला र गलाभन्दा अरू कुरा बढी हुँदो रैछ ।

तपाईं गीत आफ्ना लागि गाउनुहुन्छ या स्रोताका लागि ?
दर्शक/स्रोतालाई टार्गेट गरेर नै बढी गीत गाइन्छ । आफ्ना लागि मात्र गीत गाउन बाँकी छ । आफ्ना लागि गाइने गीत हिट होस्÷नहोस् मतलब हुन्न, स्रोताका लागि गाइने गीत हिट होस् भन्ने लाग्छ ।

तपाईंका धेरैजसो गीत मायाप्रेममा केन्द्रित छन् । योभन्दा टाढा रहेर गीत गाउन सकिन्न ?
मायाप्रेमबिना के नै सम्भव छ र ? संसारै यसमै त अडेको छ नि । तर, मैले एउटा ‘मेची महाकाली’ बोलको राष्ट्रगीत गाएर अवार्डसमेत पाएकी छु ।

आफूलाई मन पराउने त थुप्रै छन् भन्नुभयो । आफूले मन पराउने पनि त होलान् नि ?
मन पराएर मात्र भएन । सबै कुरा मिल्नुपर्छ । होइन र ?  

भनेपछि, प्रेममा चाहिँ परिएको छ ?
छैन । अहिले त सिंगल नै हो । पछि कोही आइहालेछ भने विचार गरौँला ।

तपाईको श्रीमान् हुनका लागि न्यूनतम शर्त चाहिँ के–के हुन् ?
ह्यान्डसम र धनी हुनु परेन तर अरूलाई सम्मान गर्ने खालको होस् । राम्रो व्यत्तित्व होस् । घरपरिवारलाई धेरै माया गरोस् । मेरो ख्याल गर्ने, मलाई बुझ्ने र धेरै माया गर्ने होस् ।

तपाईंलाई त घरबाट बिहेको खूब प्रेसर छ रे !
हुर्केको छोरीको चिन्ता त सबैलाई हुन्छ नि । मैले तत्काल बिहे नगर्ने भनिरहेकी छु । हेरुम अब के हुन्छ ?

बिहेपछि सक्रिय रूपमा संगीतमा लाग्न नपाइएला भन्ने डर पो छ कि ?
अलि–अलि त्यो पनि होला । धेरैले बिहे गरेपछि राम्रो सपोर्ट नपाएको सुनेकी छु । तर, मेरो हकमा त्यस्तो नहोला । समय नजुरेर पनि होला ।

गीत गाएर बाँच्न सकिन्छ त ?
प्रतिभा भएको मान्छेलाई बाँच्न गाह्रो छैन । उदाहरणका लागि अञ्जु पन्तलाई लिन सकिन्छ ।  

तपाईंको अवस्था के छ ?
एक्लै भएकाले अहिलेसम्म त यो क्षेत्रको आम्दानीबाट गुजारा चलेकै छ । घरबाट माग्नुपरेको छैन ।

परिवारको सपोर्ट त छ नि ?
एकदम धेरै । परिवारको सपोर्टबिना त हलचल पनि गर्न सकिँदैन नि । विशेष गरी आमाको सपोर्ट छ । आमाले त सुरुवाती चरणमा मलाई सिलिगुडीबाट हार्मोनियम नै किनेर ल्याइदिनुभएको थियो । अझै पनि मसँगै छ । उहाँले दिएको हार्मोनियममा आमालाई सम्झिदै दिनहुँ रियाज गर्छु । आमाले दिएको हार्मोनियम जीवनभर सुरक्षित राख्छु । त्यसमा आमाको माया छ ।

तपाईंको जीवनको सबैभन्दा दुःखद क्षण ?
सुरुसुरुमा आमाबाट टाढिएर काठमाडौँमा बस्नुपर्दाका रात म कहिल्यै बिर्सिन्न । घरबाट टाढा बस्नुपर्दा धेरै रोएको थिएँ । आमाको खूब याद आउँथ्यो ।

तपार्इं त क्यारिकेचर पनि गर्नुहुन्छ है ?
हो । म कुनै अभिनेत्री चाहिँ होइन । तर, रमाइलोका लागि क्यारिकेचर गर्छु । हास्य अभिनेत्री दीपाश्री निरौलालगायत थुप्रैको क्यारिकेचर गर्छु ।

Leave A Comment