सम्बन्ध नै जसको पुँजी

आइतबार, १६ माघ २०७३, ११ : ०४ दिलीप पौडेल , Kathmandu
सम्बन्ध नै जसको पुँजी

कुनै समय उनी अरूको पसलमा मासिक १ सय ५० रुपैयाँको जागिर गर्थे । तर, अहिले करिब ११ सय जनाको रोजगारदाता बनेका छन् । कुनै व्यापारिक घरानाका उत्तराधिकारी पनि होइनन्, उनी ।
काभ्रे पात्लेखेत–८ मा जन्मिएका रामबहादुर गौतम गाउँकै विद्यालयमा कक्षा तीनमा पढ्दापढ्दै घरबाट कुनै उद्देश्य नै नलिईकन राजधानी छिरेका थिए । ‘घरमा चित्त नबुझेपछि बिनाउद्देश्य काठमाडौँ आएको हुँ,’ विगतलाई सम्झिँदै गौतमले भने, ‘मेहनत र समयले कहाँबाट कहाँ पु¥याउँदो रहेछ ।’
उनका बाबु किसान हुन् । २२ वर्षअघि घर छाडेर निस्केका गौतमले रोजीरोटी टार्न काठमाडौँ इन्द्रचोकको एक ट्रेडिङ फार्ममा काम सुरु गरे । ‘डेढ सय रुपैयाँको लागि बिहान ६ बजेदेखि मध्यरातम्म काम गर्नुपथ्र्यो,’ उनले भने, ‘दिउँसो कामले फुर्सद नहुने भएपछि रात्रीकालीन विद्यालयमा पढें ।’ पढाइमा त्यति धेरै रुचि नभएकाले उनले नन्दी रात्री माध्यामिक विद्यालयबाट एसएसलसी त पास गरे । तर, आईएड पढ्दापढ्दै उनको पढाइमा फुलस्टप लाग्यो ।
शिक्षाभन्दा भोगाइ र मेहनत नै उनको लागि सबथोक भएको छ । स्नातकोत्तर गरेकालाई रोजगारी दिएका छन्, उनले । ट्रेडिङ फर्ममा काम गर्दागर्दै उनले व्यापार सिके ।

बिहान ५ बजेदेखि बेलुका पौने ६ बजेसम्म काम गर्थे । साँझ ६ देखि १० बजेसम्म रात्रीकालीन विद्यालयमा पढ्थे । फेरि, मध्यरातसम्म कपडा प्याकिङ गर्थे । ‘काम गर्दा इमानदारिता सिकेँ,’ उनले भने, ‘जहाँ म काम गर्थें उनीहरू पनि त्यति धनाढ्य थिएनन् । मेहनत गरेपछि प्रगति हुन्छ भन्ने थाहा पाएँ ।’
१५ वर्षसम्म एउटै फर्ममा काम गरेका उनले व्यवसाय गर्न त सिके तर व्यवसाय गर्न उनीसँग पुँजी थिएन । मनकारी भएकाले काम गरेको पैसा पनि जम्मा गरेनन् । गौतमले आफूले कमाएको पैसा हरेक महिना वीर अस्पतालका बिरामीलाई बाँड्ने गरेको सुनाए । ‘काम गरेर आएको तलब वीर अस्पतालका बिरामीलाई फलफूल बाँड्न र बिरामीलाई गाडी भाडा दिनमा खर्चिन्थेँ,’ उनले भने ।
जागिर छोडेर व्यवसाय सुरु गर्न पुँजी नभएको उनी बताउँछन् । ‘व्यवसायीहरूसँग राम्रो सम्बन्ध बनाएको थिएँ,’ विगत सम्झिँदै उनले भने, ‘त्यही मेरो लागि पुँजी भइदियो ।’
काम छोड्नेबित्तिकै आफूसँग पैसा नभएपछि सुरुमा ब्रोकरको काम गरेको गौतम बताउँछन् । ‘एउटा पार्टीसँग सामान ल्याएर अर्कोलाई बेचेर मुनाफा कमाउँथेँ,’ उनले भने, ‘सुरुमा ब्रोकरको काम गरेँ । केही पुँजी जम्मा भएपछि मेसिनरी आइटम सटरमै राखेर व्यवसायलाई अघि बढाएँ ।’
मेसिनरी सामानको पसलबाट सुरु गरेको उनको व्यावसायिक यात्रा अहिले ‘गौतम श्री’ ब्रान्डको ‘व्यापारिक घराना’मा परिणत भएको छ । उनले अहिले गौतमश्री अर्गानिक एन्ड काउफार्म, डेरी, गार्मेन्ट उद्योग, गौतम श्री मार्र्ट, विन्दवासिनी हाइड्रो, कृषिलगायत क्षेत्रमा अर्बौं लगानी गरेका छन् ।
चीन जाँदा त्यहाँका फार्मबाट प्रभावित भएर गाईपालन र कृषिमा आकर्षित भएको गौतमले सुनाए । ‘धेरै पटक चीन जानेआउने गरेको थिएँ,’ उनले भने, ‘कम्पनीमा सामान लिन जाँदा त्यहाँको कृषि देखेपछि केही गर्न सकिन्छ भनेर नयाँ क्षेत्रमा प्रवेश गरेको हुँ ।’
कृषिमा मात्र उनले करिब १५ करोड रुपैयाँ लगानी गरेका छन् । फार्ममा तीन सय गाई छन् । ‘सिजनअनुसार दैनिक १५ सयदेखि २४ सय लिटर दूध उत्पादन हुन्छ,’ उनले भने । कामदारको समस्या भएपछि उनले दूध दुहुने, पानी खुवाउन अटोमेटिक सिस्टमको प्रविधि प्रयोग गरेका छन् । काभ्रेमा उत्पादन भएको दूध बेच्नका लागि काठमाडौँको कुलेश्वरमा आउटलेट राखेका छन् । त्यहाँबाट दूधसहित घीउ, मिठाइका विभिन्न परिकार बिक्री हुन्छन् ।
सात सय रोपनीमा फैलिएको तरकारी फार्मलाई अर्गानिक हब बनाउने योजना छ उनको ।  काभ्रेको पात्लेखेत डाँडागाउँको तरकारी फार्ममा उनले आफ्नो जमिन र लिजमा लिएर बाह्रैमास तरकारी खेती गरिरहेका छन् ।
उनले राजधानीमा प्रांगारिक मल बेच्न सुरु गरेसँगै उपत्यकामा घरको छतमा कौसी खेती प्रवद्र्धन गर्न थालेका छन् । ‘मल प्रयोग गरेर हरेक घरको छतमा तरकारी फलाउन सकिन्छ,’ गौतमले भने, ‘मलसहित तरकारीका बेर्ना र क्रेटसमेत उपलब्ध गराउछौँ ।’

व्यवसाय विस्तार गर्ने क्रममा गत वर्षबाट गार्मेन्टसमेत सुरु गरेका छन् । ‘डेढ वर्षदेखि सुरु गरेको गार्मेन्ट उद्योगमा तीन सयले रोजगारी पाएका छन्,’ उनले भने, ‘यहाँको उत्पादन विदेश पनि निर्यात हुन्छ ।’
सामूहिक रूपमा काम गर्नका लागि गौतम श्री सहकारी पनि सञ्चालन गरेका छन् । मुलुकको बढ्दो व्यापार घाटाप्रति भने उनी निकै चिन्तित छन् । ‘सरकारी नीति कमजोर हुँदा देशलाई ठूलो घाटा भएको छ,’ उनले भने, ‘यहाँ उत्पादन गरेका सामान बेचेर डलर ल्याउने विषयमा राज्यले सोच्नुपर्छ ।’ उनी सफलताको श्रेय आफ्नो हिम्मत र मेहनतलाई दिन चाहन्छन् ।  ‘छलकपट नगरीकन सपना बोकेर अघि बढ्यो भने सफलता मिल्छ,’ उनले भने, ‘दुःख गरेपछि सुखसहितको सफलता सुनिश्चित छ ।’

Leave A Comment